+
+

कुवेतजस्तो देशमा के न्यायको आशा गर्नु ?

नेपाली चेलीले न्याय नपाएको एउटा दुःखद क्षण

गोमादेवी ढकाल (पौडेल) गोमादेवी ढकाल (पौडेल)
२०७३ जेठ २८ गते १५:२५

Kuwait-City

मलाई थाहा छ, कुटनीतिक नियोगमा काम गर्नेहरुले यस्ता कुरा मिडियामा ल्याउनुहुँदैन । मलाई यो पनि थाहा छ, यस्ता कुराले दुई देशवीचको सम्बन्धमा खलल पुग्न सक्ने भनी चारैतिरबाट यसको नकारात्मक व्याख्या गरिनेछ । र मलाई यो पनि थाहा छ, हुन सक्छ, यही बाहनामा मलाई नेपाल फिर्ता बोलाइनेछ ।

०००००

आजको एउटा घटनाले मलाई धेरै पीडा दियो । आँखामा झलझली त्यही घटना आइरह्यो । रीसले घरिघरि शरीर थरर्र काँप्यो । एक मनले सोच्यो – छाड्दे… यहाँ यस्तै हो । यस्ता कुराको पछि लागेर किन समय खेर फाल्ने ? किन आफ्नो जागिर धरापमा पार्ने ? खुरुखुरु आफ्नो जागिर गर् । ……. देशमा गएपछि एक खुट्टा उचालेर हिँड्न सिक्नुपर्छ । कति कुराहरु बुझेर पनि नबुझेको जस्तो गर्नुपर्छ । यहाँको व्यवस्था र व्यवहारसँग तँ एकजनाले विमति जनाउँदैमा केही हुनेवाला छैन । मनले आफैंलाई सम्झाउने धेरै प्रयास गर्‍यो ।

तर, अर्को मन मान्दै मानेन । जेसुकै होस्, बरु मलाई फिर्ता बोलाउन् । तर, यो घटना बाहिर ल्याउनुपर्छ ।

०००००

‘मेडम, मलाई साहुनीले कुटपिट गरी । अनि म भागेर नेपाली दूतावासमा आएकी ।’
एकजना दिदीले आफ्नो शरीरभरिका नीलडाम देखाउँदै भनिन् ।

आम्मामा ! कस्तो सारो कुटेकी कुट्न पनि ? त्यसको त हातै भाँच्चिनुपर्ने । म अलि भावुक भएँ ।
‘कति भयो कुवेत आएको ?’
‘दुई वर्ष ।’
‘आएदेखि त्यही घरमा हो ?’
‘होइन, त्यो घरमा काम गर्न थालेको एक वर्ष भयो ।’
‘उसले किन कुटपिट गरेको ?’
‘उसकी बहिनीकी खदामा पनि आएकी थिई । ऊ जाँदाखेरि मैले चेकजाँच गरिँन भनेर ।’
‘तलब पूरै पाउनुभो ?’
‘छैन, त्यो घरमा गएपछि एक पैसा पनि पाकी छैन ।’
‘ल हिँड्नुस् पहिला हस्पिटल जानुपर्‍यो ।’

पहिला यी दिदीको मेडिकल रिपोर्ट बनाउनु अत्यन्तै जरुरी थियो । हामीले हस्पिटल गएर घटनाको बेलीविस्तार लगायौं ।
डाक्टर इन्डियन रहेछन् । उनले सोधे- ‘स्पोन्सर -घरमालिक) कुवेती हो कि अरु देशको ?’

‘स्पोन्सरको नेश्नालिटी यिनलाई किन चाहियो होला ?’ मलाई अलि झर्को लाग्यो । तैपनि सवाल जवाफ गर्न मन लागेन । भनें -‘कुवेती ।’

डाक्टरले नाक खुम्च्याए । र, यो मेडिकल रिपोर्टले केही नहुने जनाऊ दिए । मलाई ‘डाक्टरले आफ्नो काम गरुन्, अनावश्यक चासो नदेखाउन् भन्ने लाग्यो । त्यसैले उनको कुरामा खासै मतलब राखिँन ।

मेडिकल रिपोर्ट बनेपछि इन्भेस्टिगेशन प्रहरीकहाँ आवश्यक सोधपुछका लागि पठाइदियो । त्यहाँ गएर प्रहरीले सोधपुछ गरी कुटपिट भएको बयान लेखिदियो र सम्बन्धित एरिया (जाहरा) को प्रहरी चौकीमा जान सल्लाह दियो ।

गोमादेवी ढकाल पौडेल
गोमादेवी ढकाल पौडेल

हामी हतार-हतार सम्बन्धित प्रहरी चौकीमा गयौं । गाडीमा बसुञ्जेल उनीसँग थप कुराकानी गरें । साहु डायविटिजको बिरामी भई प्यारालाइसिस भएको र आफैंले उसको सबै स्याहार सुसार गर्नुपर्ने दिदीले बताइन् । त्यति गर्दा पनि एक वर्षसम्मको तलब नपाएको उनले सुनाइन् ।

साहुनीले सानो सानो कुरामा सधै किचकिच गर्ने र कुटपिट गर्ने गरेको, तर हिजो त लाठी र जुत्ताले कुटपिट गरेको उनले बताइन् । रातभरि रोएर बसेकी, अनि बिहानपख घरबाट भागेर राजदूतावास आएको दिदीले बताइन् ।

अनि, अलि हँसिलो अनुहार बनाउने प्रयास गर्दै यी नेपाली चेलीले भनिन् ‘मेडम, मलाई भगवानले बाटो दिएका होलान् है ? सधैं ताला लाग्ने त्यो घरको गेट आज त खुलै रै’च । अनि पो म भाग्न सकें ।

म गम्भीर भएर उनका कुरा सुनिरहेकी थिएँ । सोचें, त्यसरी कुट्ने त्यो कुवेती महिलालाई प्रहरीले कारवाही गरी जेल चलान गरेपछि थाहा हुनेछ, उसलाई आफ्नो हर्कतको परिणाम !

००००

प्रहरीकहाँ घटनाको बेलीविस्तार लगाएपछि प्रहरीले त्यो घर मालिक्नीलाई बोलायो । ऊ बडो चुरीफुरीका साथ आई र चर्को चर्को स्वरमा कुरा गर्न थाली ।

आफुले एक वर्षअघि ७५० कुवेती दिनार तिरेर खदामालाई किनेर ल्याएको र त्यो सबै फिर्ता गरेमा उसको तलब पूरै (प्रतिमहिना ६० केडीका दरले एक वर्षको ७२० केडी) दिने भनी सर्त राखी ।

साथै उसले आफूले खदामालाई नकुटेको र उ आफैं भर्याङबाट लडेर चोट लागेको भन्न थाली ।

कुटपिट गरी अझै आफैं चुरीफुरी गर्ने ? त्यो महिलालाई देखेर मलाई अति नै रीस उठेर आयो । त्यस्तो हर्कत गर्ने र उल्टै झूठो कुरो गर्दै ठालु बन्ने ? ती कुवेती महिलालाई प्रहरीले हप्काउला र किन कुटेको भनेर प्रश्न गर्ला भन्ने मलाई लागेको थियो । दिदीको एक वर्षको तलब मागिदेला र उसलाई नियमानुसारको कारवाही गर्ला भन्ने मेरो अपेक्षामा तव बज्रपात भयो, जब ती साहुनीले चर्को चर्को स्वरमा खदमालाई हप्काउँदा प्रहरीले नेपाली महिलालाई एक शब्द पनि बोल्न दिएन । अनि उल्टै खदामाविरुद्ध चोरीको मुद्दा हाल्न कुवेती महिलाले गरेको अनुरोधमा प्रहरीले सहमति जनाउँदै निजले चोरी गरेर भागेको मुद्दा पो दर्ता गर्न तयार भयो । चोरीको केश फाइनल नभएसम्म आफ्नो देश फर्कन नपाउने भनियो ।

मलाई सैह्य भएन । मैले सोधें- उनी कुटाइ खाएर, पीडित भएर आएकी छिन्, हामीसँग त्यसको सबै प्रमाण छ । अनि खदामाले चोरी गरी भागेको भनेर प्रहरीले मुद्दा दर्ता गर्न कसरी मिल्छ ?’

जवाफमा प्रहरीले भन्यो – ‘स्पोन्सरले खदामाविरुद्ध मुद्दा दर्ता गराउन चाहेपछि हामीले मुद्दा दर्ता गराउनुपर्छ, यो यहाँको नियम हो । कुटपिटको सम्बन्धमा निजको शरीरमा देखिएका चोटहरु साहुनीले कुटेको नभई भर्‍याङबाट लडेर भएको हो । त्यसैले ल अन्तिमपटक सोध्दैछु-टिकट र पासपोर्ट लिएर नेपाल र्फकने कि मुद्दा लडेर बस्ने ?’ उसले मलाई प्रतिप्रश्न गर्‍यो ।

यो सुनेर मलाई चक्कर लाग्यो । होइन यो कस्तो नियम ? यो कस्तो व्यवहार ? जो चोर, उसैको ठुलो स्वर भनेको यही हो ? जहाँ गएर न्याय पाउँला भनी आएको, उसैले सहयोग नगरी उल्टै पीडकलाई सपोर्ट गरेपछि अब के गर्ने ? गुहार माग्न कहाँ जाने ? अनि कसरी हामीले अन्यायमा परेका हाम्रा कामदारलाई न्याय दिन सकौंला ? यहाँको प्रहरी, प्रशासन नै पीडकको पक्षमा उभिएपछि अब के गर्ने ? यहाँको परराष्ट्र मन्त्रालयमा लेख्ने ? मैले आफैंसँग सोधें । तर, त्यो उनीहरुको परराष्ट्रमा काम गर्ने पनि त कुवेती नै हुन् । म अन्योलमा परें ।

अब हामीसँग दुईवटा विकल्प थिए, ती कुवेती महिलासँग अनुरोध गरी पासपोर्ट र टिकट लिएर नेपाल र्फकने वा चोरीको मुद्दा लड्न तयार हुने ।

हामीले उसका विरुद्धमा मुद्दा दर्ता गर्ने हो भने उसले पनि खदामाका विरुद्धमा चोरीको मुद्दा दर्ता गराउने भएकाले सो मुद्दा फाइनल नभएसम्म ती दिदी नेपाल र्फकन पाउने छैनन् । फेरि यो केस टुंगिन कति वर्ष लाग्ने हो ? केही थाहा नहुने हुनाले यदि मुद्दा मामिलामा जाने हो भने उनी वर्षौंसम्म कुवेतमै थन्किनुपर्ने हुन्छ ।

‘अब के गर्ने ? तपाईं आफैं भन्नोस् ।’ अन्तिम निर्णय लिन मैले दिदीलाई नै सोधें ।

‘होस् मेडम, म नेपालै जाने । त्यसले दिएको पीडाको सजायँ भगवानले नै देलान् ।’ उनले रुँदै भनिन् ।

म लाचार भएँ । उनका आँखाबाट झरेको आँशुभन्दा पनि उनलाई न्याय दिलाउन नसकेकोमा मेरो मनको पीडा गहिरो थियो । मलाई त्यो कुवेती महिलाभन्दा पनि त्यहाँको प्रहरीसँग बढी रीस उठ्न थाल्यो । पीडितलाई न्याय दिन एक सरकारी अधिकारीले सहयोग नगरेकोमा आक्रोशको ज्वाला दन्किरह्यो ।

बल्ल बुझें, अघि ती इण्डियन डाक्टरले स्पोन्सरको नेश्नालिटी सोध्नुको रहस्य ।

(गोमादेवी कुवेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?