Comments Add Comment

भूकम्प पीडितले राहत नपाउनुको कारणबारे कांग्रेसले माग्यो सरकारको जवाफ

सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण

५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि अनुदान रकम नदिइएको र प्रभावितहरुको सूची परिवर्तन गरिएको भन्दै सरकारको जवाफ मागेको छ । कांग्रेसले यस विषयमा सरकारलाई रुलिङ गर्न सभामुख ओनसरी घर्तीको ध्यानाकर्षणसमेत गराएको छ ।

Congress-Flagव्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा पटक-पटक आवाज उठाउँदा पनि भूकम्प प्रभावितहरुले अनुदान रकम नपाएको विषयमा सरकारले जवाफ नदिनु आपत्तिजनक भएको कांग्रेसकी सांसद कमला पन्तले बताइन् ।

भूकम्प गएको १४ महिना वित्दा समेत प्रभावितहरु अस्थायी टहरामा बस्न वाध्य हुनु तथा उनीहरुले घर बनाउनका लागि अनुदान रकम नपाउनुले सरकार संवेदनाहीन बनेको देखिएको भन्दै यस विषयमा सरकारको जवाफका लागि रुलिङ गर्न उनले सभामुख घर्तीको ध्यानाकर्षण गराइन् । सांसद पन्तले भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि अनुदान रकम फटाफट बाँड्नुको साटो सरकारले प्रमुख सत्तारुढ नेकपा एमालेका कार्यकर्ता परिचालन गरी प्रभावितहरुको सूची नै परिवर्तन गरेर राजनीतिकरण गरेको आरोप लगाइन् ।

कांग्रेसकै सांसदहरु रामेश्वरप्रसाद ढुंगेल, रामचन्द्र पोखरेल लगायतले पनि भूकम्प प्रभावितहरुलाई अस्थायी टहराबाट पक्की घरमा ल्याउनका लागि सरकार उदासीन बनेको आरोप लगाएका थिए ।

बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले पनि भूकम्प प्रभावितहरुलाई राहत दिने विषयमा सरकार गम्भिर नदेखिएको आरोप लगाए । उनले कतिपय जिल्लाका प्रभावितहरुले १५ हजार र १० हजार रुपैयाँ अझै पाउन नसकेको भन्दै यसबाट सरकारको संवेदनहीनता स्पष्ट हुने बताए ।

सांसद बिडारीले द्वन्द्वकालीन घटनाको व्यवस्थापनविना निर्वाचन गराउन कठिन हुने समेत बताए । द्वन्द्वकालका घटना छिटो व्यवस्थापनका लागि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानबिन आयोगलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराउन उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment