Comments Add Comment

तयारीका साथ बन्दुक उठाउने वैद्यको घोषणा

'माओवादी केन्द्रसँग एकता हुन सक्दैन'

६ असार, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताएका छन् । त्यसका लागि तयारी गरेर बन्दुक उठाउने उनको उदघोष छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सोमबारदेखि काठमाडौमा सुरु भएको राष्ट्रिय भेलाको उदघाटनका क्रममा अध्यक्ष वैद्यले जनवादी क्रान्तिविना जनताको जीवनमा परिवर्तन नआउने भन्दै त्यसका लागि पार्टीले बन्दुक उठाउने गरी कार्यदिशालाई समृद्ध पार्ने बताए । बन्दुक उठाउनुपूर्व क्रान्तिका लागि लामो तयारी गर्नुपर्ने उनको तर्क छ ।

क्रान्तिको बाटो लामो र कठिन रहेको भन्दै उनले बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए ।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले माओवादी केन्द्रमा गएका रामबहादुर थापा ‘बादल’को समूहप्रति लक्षित गर्दै क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताए ।

क्रान्तिकारी माओवादीले बहुमतभन्दा बढी केन्द्रीय सदस्य नेकपा माओवादीमा गएको ठीक एक महिनापछि राष्ट्रिय भेला गरेको हो । भेलामा देशभरका पार्टी प्रतिनिधि सहभागी छन् ।

अध्यक्ष वैद्यले नेकपा (माओवादी केन्द्र)सँग एकता हुन नसक्ने बताए । अध्यक्ष वैद्यले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाए ।

पार्टीका नेता सिपी गजुरेलले ‘पार्टीको भावी कार्यदिशा’बारे प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अब एकता, सङ्घर्ष र रुपान्तरणका बीचबाट अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment