Comments Add Comment

सम्झनामा रुपचन्द्रः निष्पक्ष सक्रियताको अभ्यास -‘थाहा’

भर्खरै काठमाण्डौं आएर रेडियो पत्रकारिता शुरु गरें, सबै संचारसंस्थाको लिखित अलिखित सम्पादकीय नीति हुन्छन । त्यो सिक्दै थिएँ । त्यतिबेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी कुनै पनि नेतृत्वमा थिएनन् । पहिलो संविधानसभामा त उनी सभासद पनि थिएनन् ।

baikuntha dhakal
लेखक

ओलीको भाषणकला अहिले आएर बनेको हैन, पहिलेदेखि नै थियो । नेपालको समग्र पत्रकारिता ‘भन्नुभयो’ले नै धानिएको थियो । केही समाचारहरु केपी ओलीले भन्नुभयो भन्ने किसिमको लेंखे । तर, अरुले भन्नुभयो भनेका समाचारहरु ‘अनइयर’ हुन्थे, ओलीले भन्नुभएको समाचारचाहिँ अनइयरमा परेनन् । किन ? यो प्रश्न मैले  ‘सिनियर’ साथीहरुलाई सोधें । स्पष्ट जवाफ कहीँबाट पनि आएन ।

सबैको सामाचार जाने तर, ओलीको मात्रै कम जाने वा जाँदै नजाने के रहेछ, भनेर आफैंले बुझ्ने कोसिस गरें । त्यत्तिबेला ओलीको कुनै पनि भाषण माओवादीलाई ‘गाली’ नगरेको हुने थिएन । ओलीले बोले कि माओवादीको आलोचना गरिहाल्थे । त्योबेला माओवादी देशको पहिलो पार्टी थियो, सरकारको नेतृत्व गरिरहेको थियो ।

देशको जे अवस्था थियो म आवद्ध संस्थामा पनि त्यस्तै थियो । आˆनै अभ्यास अनुभवले बल्ल बुझें, ओलीको ‘भाषण’ नगएको हैन, माओवादीलाई गरेको ‘आलोचना’ नगएको रहेछ । यो ‘थाहा’ पाउन मलाई झण्डै दुई वर्ष लाग्यो । यही त रहेछ ‘थाहा’ भनेको । सबै पेशाकर्मीले आफ्नो पेशाका बारेमा थाहा पाउन केही समय सिक्नै पर्ने रहेछ ।

अहिले समाचारहरु आइरहेका छन, च्याऊ खाँदा फलानो ठाउँमा फलानाको मृत्यु भयो । मान्छे एउटा प्राणी भएकाले उसको पहिलो समस्या बाँच्नुसँग हुन्छ, भोक मेट्नुसँग हुन्छ । च्याऊ खाँदैमा आखिर मान्छे मर्ने हुँदै हैन, बिषालु च्याऊ खाएर चाहिँ मर्ने हो । कुन विषालु च्याऊ हो र कुन विषालु हैन भन्ने ‘थाहा’ नपाउनेहरु चाहिँ मर्ने हुन् । ‘थाहा’ पाउनु भनेको चाहिँ बाच्नु रहेछ आखिर ।

आजभन्दा १७ बर्ष अघि ०५६ साल असार ७ गते थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको निधन भयो । यो प्रसङ्गमा यहाँ रुपचन्द्र बिष्टले शुरु गरेको थाहा आन्दोलनलाई सम्झन खोजिएको हो ।

हुन त मृत्युपर्यन्त मात्रै कुनै पनि मानिसको योगदानलाई चर्चा गरिने र सम्झने परम्पराले रुपचन्द्रलाई किन पर राख्थ्यो र ! ६५ वर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रुपचन्द्र बिष्टले संसारबाट बिदा लिए । उनको पञ्च भौतिक शरीर त्यहीरुपमा विलीन भयो ।

जीवन छँदा रुपचन्द्र विष्टलाई वास्तविक रुपमा अनुयायीहरुले चिनेनन् । त्यही भएर नै होला, रुपचन्द्रलाई शत्रुले चिने, मित्रुले चिनेनन् भन्ने गरिन्छ । मृत्युपछि रुपचन्द्रको अभाव पूरा गर्न सक्ने कोही भेटिएनन, अनि विस्तारै बिष्टको अभाव खड्किंदै गयो । आँखा अगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखा अगाडि नहुनु र संसारमै नरहनु फरक हो ।

संसारमै नभएको चीजको आवश्यकता कसरी पूरा हुनु ? संसार मै नभए पनि उनका प्रतिविम्बले धेरैलाई चिमोट्दो रहेछ । मनभित्र गहिरो तुष रहँदो रहेछ । अहिले त्यस्तै भएको छ दामन पालुङका रुपचन्द्र बिष्टका अनुयायीहरुलाई । हुन त अनुयायी भनाइनु र अनुयायी नै हुनुमा त आकाश जमिनको फरक छ । आकाश जमिनको कहिल्यै भेट नभए जस्तै अनुयायी भनाइनु र साँच्चिकै अनुयायी हुनु एकै हो ।

नजिकैबाट रुपचन्द्र बिष्टको संगत नगरे पनि संगत गर्नेहरुबाट सुनेका आधारमै पनि सम्झनै पर्ने, अजम्बरी नाम हो रुपचन्द्र । रुपचन्द्रलाई सम्झने आ-आफ्नै तौर तरिका छन् । कसैले मनले सम्झन्छ बाहिर अभिव्यक्त गर्दैनन, कत्तिले चाहिँ मुखले रामराम बगलीमा छुरा व्यवहार गर्दछन् । सोच्ने र व्यवहार गर्ने मानव अन्तस्करणबाट आउनु पर्दछ ।

तर शिक्षा, अनुभब र अभ्यासले जीबलाई उच्च बनाउँछ । अबको समय आफू अनुकूल वातावरण बनाउनु हो । न कि वातावरण अनुकूल आफू ।

मानिसलाई सबै स्रोत र साधनहरुको थाहा हुनु जरुरी हुन्छ । त्यस्तै सामाजिक प्राणी भएको नाताले समाजका सबै सङ्गति र विसङ्गतिहरुबारे मानिसलाई थाहा हुनु पर्छ, पर्छ । थाहा लिने प्रक्रियाले मान्छेमा वस्तुनिष्ठ चिन्तनको प्रक्रिया शुरु हुन्छ । जति मान्छे चिन्तनमा रमाउँछ, उसमा त्यतिनै वस्तुनिष्ठ ज्ञान बढ्दछ । अर्थात् वस्तुस्थिस्तिको बारेमा ‘थाहा’  हुन थाल्दछ । ज्ञानको कुनै पराकाष्ठा छैन । पूर्ववत् ज्ञान र नयाँ वैषयिक अवलोकनहरुलाई प्रतिवादसँग मथेर मान्छेले नयाँनयाँ ज्ञान हासिल गर्दछन् । नयाँ ‘थाहा’ हरु बटुल्दछन् ।

कबिताराम श्रेष्ठले रुपचन्द्रको अभियानका बारेमा एउटा लेखमा भनेका छन् -‘द्वन्द्वको स्थितिमा आउन प्रतिद्वन्द्वीलाई यथास्थितिको ज्ञान हुनु आवश्यक छ र त्यसमा प्रवृत्त हुनुपर्छ । त्यस्तै प्रतिद्वन्द्वीको “प्रतिवाद”लाई बुझ्न यथास्थितिबादीलाई पनि आफ्ना प्रतिद्वन्द्वीको स्थिति र प्रतिवादको गहनताको ज्ञान हुनुपर्दछ । अर्थात् दुवै स्थितिमा ज्ञानको आवश्यकता हुन्छ । त्यो ज्ञानलाई नै बिष्टले “थाहा”  भनिरहेका थिए । “बाद” र “प्रतिवाद” बीचको द्वन्द्वबाट थाहायुक्त “सम्वाद” को उत्पत्ति हुन्छ । थाहायुक्त सम्वादले सञ्चारको स्थिति कायम गर्छ । सबै थाहायुक्त सम्वादले परिष्कारको बाटो खोल्दछ । अर्थात् विकासको बाटो बनाउँदछ ।

‘थाहा’का बारेमा अहिले पनि कुराकानी हुन्छ, थाहा अभियान ‘बचाउने’ हैन ‘भजाउने’ कुरा हुन्छ । थाहालाई कसरी राम्रो ब्राण्डिङ गरेर बेच्ने भन्ने मात्रै ध्याउन्न देखिन्छ

‘थाहा’ पाउनका लागि रुपचन्द्रले शिक्षाको कुरा गरे, अभियान चलाए । आफैंले विद्यालय बनाए, आफैंले पढाए । महिला, गरिब, दलित बिष्टको प्राथमिकतामा परे । दिउँसो पढ्न नपाउनेहरुले बिहान, बिहान पढ्न नपाउनेहरुले साँझ, साँझ पढ्न नपाउनेहरुले बेलुका भने पनि पढ्नैपर्ने नै भयो ।

महिला, बालबालिकालाई विद्यालयमा ल्याउनका लागि अनेकौं उपायहरु पनि अपनाए । श्रमको मूल्य बुझाउँन आफैंले श्रम गरें । आफ्ना लागि आफैं स्रोत जुटाउने काम गरे । दामन पालुङमा शुरु गरेको स्रोतको व्यवस्थापन गर्ने तरिका अहिले पनि कायम छ । विकासमा सहकार्य, समन्वयको नमूना अहिले पनि चलिरहेकै छ ।

‘थाहा’का बारेमा अहिले पनि कुराकानी हुन्छ, थाहा अभियान ‘बचाउने’ हैन ‘भजाउने’ कुरा हुन्छ । थाहालाई कसरी राम्रो ब्राण्डिङ गरेर बेच्ने भन्ने मात्रै ध्याउन्न देखिन्छ । थाहालाई पेवा बनाउन खोजिँदैछ, साझा बनाउनेबारे कसले सोचोस, कसको फुर्सद ? अब यी कुराको अन्त्य होस, असल कुराहरुको पुस्तान्तरण हुनु आवश्यक छ ।

राम्रो कुराको पुस्तान्तरण हुने परिपाटी यही पुस्ताले निर्माण गर्ने हो । अहिले पनि त्रिभुवन राजपथ भएर हिँड्नेहरुले ढुंगामा खोपेर ठूलो अक्षरले ‘थाहा’ लेखेको देख्छन । अब त्यो प्रविधिको जमाना बाँकी छैन, ज्ञानको पुस्तान्तरण गर्ने भनेको प्रविधिमैत्री भएर हो, त्यसका लागि शुरुवात आफैंबाट गर्‍यौं । ढुंगामा देखेको थाहा मष्तिष्कमा लेखौं ।

विसं. १९९० पुस २६ गतेबाट शुरु भएर ०५६ असार ७ गते अन्त्य भएको रुपचन्द्र बिष्टको जीवनरुपी यात्रा समाप्त भए पनि बिष्टले थालेको थाहा अभियान युगौं, युगसम्म चलाउनै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment