जर्मनीले सन् २००८ मा युरोकपको फाइनलमा पराजित हुँदाको क्षण नेपाली टोलीका स्ट्राइकर सुमन लामाले भुल्न सक्दैनन् ।
भर्खरै फुटबल बुझेका उनको मनपर्ने टोली जर्मनीको समर्थनमा थिए तर उपाधि स्पेनले उछिट्यायो । त्यस्तै २०१२ को संस्करणमा पनि जर्मनीले सेमिफाइनल चरण पार गर्न सकेन । तर २०१४ को विश्वकप बिजेता जर्मनी यस युरोमा मुख्य दावेदार टोलीको रुपमा दरिएको छ र सुमनको भनाइमा जर्मनीले युरोकपको उपाधि जित्नेछ ।
तर उनलाई जर्मनीले खेलेका सुरुवाती दुई खेल मन परेको छैन । ‘प्रदर्शनमा सुधार नल्याउने हो भने जर्मनीले सेमिफाइनलसम्म पुग्न पनि कठिन छ’, उनले भने, ‘यस युरोमा कमजोर अंकलन गरिएका टोलीहरुले पनि उत्कृष्ट फुटबल खेलिरहेका छन्, त्यसैले कुनैपनि टोली प्रतियोगितामा टिकिरहनु छ भने उसको प्रदर्शन शतप्रतिशत हुनैपर्छ ।’
जर्मनीका स्टार मिडफिल्डर बास्टियन स्वाइन्स्टाइगर उनको सबैभन्दा मनपर्ने खेलाडी हुन् । मैदानभित्र उनको अप डाउन सक्रियता स्वाइन्स्टाइगरको सवल पक्ष हो । राष्ट्रिय टोलीको स्ट्राइकर हुनुका नाताले यस युरोमा उनले मार्क गरेका स्ट्राइकरहरुमा वेल्सका ग्यारेथ बेल, जर्मनीका मारियो गोट्जे, मार्को रिउस लगायत छन् ।
नेपालजस्तो मुलुकको फुटबलर हुनुका नाताले विश्वस्तरीय प्रतियोगिता हेरेर धेरै सिक्न सकिने उनको तर्क छ । खेल हुनुअघि टेलिभिजनबाट गरिने समिक्षाबाट पनि पछिल्ला फुटबलबारे धेरै बुझ्न सकिने सुमन बताउँछन् । ‘यस्ता ठूला प्रतियोगिताबाट आफ्नो पोजिसनबाट खेल्ने खेलाडीको मेहनत, लक, टोलीका लागि गरेको योगदान, गोलका लागि अवसर लगायत कसरी सृजना गर्ने भन्ने धेरै सिक्न पाइन्छ ।’ सुमनले भने ।
सुमनले यस युरोमा जर्मनीका साथै साविक बिजेता स्पेन, आयोजक फ्रान्स र इटालीले सेमिफाइनलसम्मको यात्रा गर्न सक्छन् । ‘तर प्रतिस्पर्धात्मक फुटबलमा यही टोलीले अगाडिको यात्रा तय गर्न सक्छ भन्नै सकिन्न’ सुमन भन्छन्, ‘तर समूह चरणको आधारमा नकआउट चरणको प्रदर्शनको आंकलन गर्न सकिन्न ।’
प्रतिक्रिया 4