Comments Add Comment

रत्नजित र नङशल च्याम्पियन

७ असार, काठमाडौं । नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१-१७ र २१-१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका थिए ।

कार्यक्रमको समापनको अवसरमा पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टनको पुरुष सिंगल्स उपाधि लगातार तीन पटक जितेवापत आयोजकले रत्नजितलाई ३ लाख ४० हजार पर्ने यामाहा आर वान फाइभ मोटरसाइकल पुरस्कार प्रदान गरेको थियो ।

र्‍याङकिङ ब्याडमिन्टनको महिला सिंगल्स उपाधि लगातार तीनपटक जितेवापत यसअघि रत्नजितकी दिदी सरादेवीलाई पनि स्कुटी प्रदान गरिएको थियो । चौथो संस्करणको उपाधि पनि सराले नै जितेकी थिइन् । यसपटक सराले प्रतियोगितामा भाग लिइनन् । रत्नजितले उपाधि जितेवापत छुट्टै ४४ हजार ५ सय नगद पुरस्कार पनि पाए । विकासले ३४ हजार नगदमा चित्त बुझाए ।

सोही अवसरमा एपीएफकी पूजा श्रेष्ठलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै व्याडमिन्टनमा योगदान पुर्‍याएवापत नेपाल ब्याडमिन्टन संघले १ लाख ९० हजार मूल्य बराबरको यामाहा जेड आर स्कुटी प्रदान गरी सम्मान गर्‍यो ।

पाँचपटककी राष्ट्रिय च्याम्पियन पूजाले ११ औं सागको महिला टिम इभेन्टमा कांस्य तथा पाकिस्तानमा भएको सेटलाइट ब्याडमिन्टनको महिला डबल्समा रजत जितेकी थिइन् । सेटलाइट ब्याडमिन्टनमा पूरा उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिइन् ।

महिला सिंगल्सको उपाधि नङ्शल तामाङले जितिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीकी नङशलले आफ्नै क्लबकी अनुमाया राईलाई २१-१० र २१-९ को सीधा सेटमा हराउदै पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टनमा पहिलो पटक च्याम्पियन बनिन् । नङशलले ४१ हजार र अनुले ३१ हजार नगद पुरस्कार हात पारे ।

पुरुष डबल्समा पनि रत्नजितले नविन श्रेष्ठसँग जोडि बनाएर फाइनलमा आर्मीका दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१-१५ र २१-१५ ले पाखा लगाए ।
महिला डबल्समा एपीएफका पूजा श्रेष्ठ र विना तुलाचनको जोडीले आर्मीका नङ्सलदेवी र अमिता गिरीको जोडीलाई २१-१२ र २१-१८ ले पन्छ्याउदै उपाधि जिते ।

अन्तिम दिन यु-१७ सिंगल्सको ब्वाइजमा कञ्चनपुरका चिरन विष्ट र गल्र्समा आर्मीकी मेघा चन्द प्रथम भए । फाइनलमा चिरनले आफ्नै जिल्लाका सुनील जोशीलाई १९-२१, २१-७ र २१-१७ तथा मेघाले आर्मीकै जेसिका गुरुङलाई २१-१७, ११-२१ र २१-१२ को सेटमा निराश पारे ।

पुरुष भेट्रान्स डबल्सको उपाधि आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडीले हात पारे । उक्त जोडीले फाइनलमा एबीएका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई २४-२२ र २१-१९ को सोझो सेटमा हराए । प्रतियोगितामा समावेश सबै ७ स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment