१३ असार, ताप्तलेजुङ । विषादीरहित तरकारीको माग बढ्दै गएपछि ताप्लेजुङका कृषकहरुले तरकारी खेतीमा आइपिएम प्रविधि प्रयोग गर्न थालेका छन् । रसायनीक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गर्नुलाई आईपियम पद्धति भनिन्छ ।
यो प्रविधिको प्रयोगले तरकारी खेतीमा रोगले नसताउने र स्वास्थ्यका लागि पनि राम्रो हुने कृषकहरुको भनाइ छ । यो प्रबृधिबाट खेती गरे तरकारीको राम्रो उत्पादन हुने र बजार पनि राम्रै हुने गरेको उनीहरु बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयले कृषकहरुका लागि एक वर्ष अघि पाठशालाको स्थापना नै गरी यो प्रविधिको बारे जानकारी दिएपछि कृषकहरु यस तर्फ आकषिर्त भएको आईपिएम कृषक पाठसाला नाङ्खोल्याङका अध्यक्ष सन्तोस खिम्दिङले बताए ।
यो प्रविधिको प्रयोग गरे कम खर्च र कम समयमा तरकारीमा लाग्ने रोगका कीटाणु नियन्त्रणमा ल्याउन सकिने खिम्दिङको भनाई छ । जैविक विषादी बनाउन गाउँमानै पाईने झारपात, जडिबुटि र गाईबस्तुको मल मुत्रलाई प्रयोग गरीन्छ ।
विषादीको प्रयोग गर्दा तरकारीबाट मानव स्वास्थ्यमा असर पर्ने भएकाले आइपियम प्रविधिको प्रयोगमा आफूहरु आकषिर्त बनेको स्थानिय कृषक बालकृष्ण पौडेलले बताए । यो प्रविधिबाट कृषकहरुले करेला, भिण्डि, खोर्सानि, बैगुन, साग, धनिया उत्पादन गर्दै आएका छन् ।
तरकारीमा रोग किरा लागे पनि रसायनिक विषादीको प्रयोग नगरी जैविक विषदीको मात्र प्रयोग गर्ने गरेको कारण पनि आईपिएम पद्धतिमा उत्पादित तरकारीले स्वास्थ्यलाई फाईदा गर्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्रमान प्रधानको भनाइ छ ।
प्रतिक्रिया 4