१३ असार, जनकपुरधाम । बजेट सिध्याउन प्रत्येक आर्थिक वर्षको अन्त्यमा गरिने टालटुले विकास जनकपुरका लागि प्रत्युत्पादक बनेको छ । यही टालटुले विकासले गर्दा सामान्य वर्षामा पनि जनकपुर जलमग्न बनेको छ ।
सोमबार विहान सामान्य वर्षा हुँदा जनकपुरको प्रमुख चोेक तथा बजार डुबानमा पर्यो । जनकपुर भित्रको सडक तथा नाला जिर्ण रहेका कारण बजार जलमग्न बनेको स्थानीयवासीले बताएका छन् । वर्षाको कारण जनकपुरको प्रमुख बजार क्षेत्र भानु चोक, मिल्स एरिया, कदम चोक, जनकपुर अञ्चल अस्पताल, देवी चोक, जिरोमाइल, विश्वकर्मा चोकसहितका क्षेत्र जलमग्न बनेका छन् ।
ढलको उचित निकास नहुँदा वर्षामा पनि नगर क्षेत्रभित्र पानी जम्ने गरेकाले सर्वसाधारणलाई हिंडडुल गर्न समस्या भएको स्थानीय व्यापारी सुजित साहले बताए । नगर जलमग्न हुँदा बजारमा चहलपहल कम भएको छ ।
बजेट सक्न वर्षामा ग्राभेल गरिँदै
एकातिर सामान्य वर्षाले जनकपुरलाई जलमग्न बनाइरहेको छ भने यही वर्षाका बीच बजेट सक्नका लागि टालटुले रुपमा ग्राभेलको काम गरिदैंछ । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंको निर्देशनमा बिनायोजना ठाउँ-ठाउँमा ग्राभेल राख्ने काम भइरहेको छ ।
सडक डिभिजन, हुलाकी सडक आयोजना, सहरी भवन, जिल्ला विकास समिति धनुषा र जनकपुर उपमहानगरपालिकाबाट जनकपुरको भानु चोक, कदम चोक, मिल्स एरिया, विश्वकर्मा चोक लगायतका स्थानमा टालटुले रुपमा ग्राभेल राखिएको छ ।
नगरभित्रको बाटो जिर्ण रहेका कारणले मर्मतका लागि सबै कार्यालयबाट ग्राभेलको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए ।
यद्यपी उक्त मर्मतमा खर्च गर्ने बजेट सार्वजनिक नहुँदा अनियमितता हुने स्थानीयवासीको आशंका छ । स्थानीय बेचन बैठा भन्छन्, ‘यी सडकहरु प्रत्येक वर्ष असार तथा फागुनमा मर्मत गरिँदै आए पनि बाटोको अवस्था जस्ताको तस्तै हुन्छ ।’