Comments Add Comment

सामाजिक रुपान्तरणका लागि सोसल विजनेसः अध्यक्ष चौधरी

binod-chaudhari

१५ असार, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीले सकारात्मक सामाजिक परिवर्तनका लागि गरिने सोसल विजनेसले समाजको रुपान्तरण गर्नसक्ने बताएका छन् ।

सातौं विश्व सोसल विजनस डे दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले भने ‘नेपालको सन्दर्भमा यसको महत्व विशेष छ । देशको आर्थिक एवं सामाजिक परिवर्तन ल्याउन सोसल विजनेस निकै प्रभावकारी सावित हुनेछ ।’

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालका लागि उपप्रमुख सोफी केम्खाद्जे, नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन हृवाइट र नेपाल सरकारका उद्योग सचिव सूर्यप्रसाद सिलवाल तथा सोसल विजनेससम्बन्धी विज्ञहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट थिए । कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन हृवाइटले सोसल विजनेसले नेपालको सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा रुपान्तरित हुने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त  गरे ।

त्यसैगरी नेपालका लागि युएनडिपी उपप्रमुख सोफी केम्खाद्जले नेपालको दीगो विकासका लागि सोसल विजनेसको विशेष योगदान रहने बताए । सातौं विश्व सोसल विजनस डे दिवस नेपालमा सोसल विजनेससम्बन्धी चेतनामूलक कार्यक्रमहरु गरी मनाउने क्रममा चौधरी फाउण्डेसनले उक्त समारोहको आयोजना गरेको हो ।

यसै दिवसको अवसरमा चौधरी फाउण्डेसनले काठमाडौंका एकहप्ते कार्यक्रमको आयोजना गर्दै विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि सोसल विजनेससम्बन्धी अभिमुखीकरण कार्यशाला सञ्चालन गरेको थियो ।

कार्यशालामा १६ देखि २० वर्ष उमेर समूहका १५ विद्यार्थी सहभागी थिए ।  कार्यशालाका अवधिमा विद्यार्थीहरुले आफूले विकास गरेका व्यावसायिक अवधारणाहरु प्रस्तुत गरेका थिए ।

नोबल शान्ति पुरस्कार विजेता बंगलादेशका प्रोफेसर मोहम्मद युनुसले सोसल विजनसको परिकल्पना प्रस्तुत गरेका थिए । यसको उद्देश्य समाजमा सकारात्मक प्रभाव पर्ने सानो पुँजीको व्यवसायको स्थापना गर्नु हो । यसमा व्यक्तिगत लाभको अपेक्षा गरिँदैन र डिभिडेन्ड पनि बाँडिदैन ।

व्यवसायबाट प्राप्त लाभ फेरी सोही व्यवसायको पुँजीबृद्धिमा उपयोग गरिन्छ अथवा अन्य सामाजिक महत्वका व्यवसायमा लगानी गरिन्छ । व्यवसायबाट हुने नाफाबाटै यो आत्मनिर्भर र दीगो बन्छ ।

यो परिकल्पनालाई विश्वका विभिन्न राष्ट्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले अंगालेर कार्यान्वयन गरिरहेका छन् । युनुस सेन्टरसँगको समन्वयमा नेपालमा चौधरी फाउन्डेसनमार्फत सोसल विजनेसका कार्यक्रम सञ्चालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment