Comments Add Comment

बारमा कम्युनिस्ट र कांग्रेसको टक्कर : दुवै उम्मेदवारलाई अन्तरघातको डर

सुनील पोखरेल भर्सेस चण्डेश्वर श्रेष्ठ

८ चैत, काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाइँदा नेपाल बार एशोसियनले मौन समर्थन गरेपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य गर्दै भनेका थिए, नेपाल बार भन्ने संस्था पनि छ भन्थे, तर त्यो अचेल वकिलको बार होइन, साँझको बार भएछ क्यारे !

वकिलहरुको साझा संस्था नेपाल बार एसोसिएशनको चुनाव नजिँकिदै गर्दा अहिले ओलीको त्यही व्यंग्यात्मक आरोप चर्चामा छ । विहीवार बामपन्थी वकिलहरुको उम्मेदवारी परिचय कार्यक्रममा वर्तमान बार नेतृत्व साँझको बारजस्तै बनेको आरोप लाग्यो ।

नेपाल बारको वर्तमान नेतृत्व कांग्रेस समर्थित वकिलको कब्जामा छ । चैत १६ गते हुने नेपाल बारको निर्वाचनलाई सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेसबीचको प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

नेकपाका तर्फबाट बरिष्ठ अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वको प्यानल चुनावी मैदानमा छ । कांग्रेसको तर्फबाट अधिवक्ता सुनिल पोखरेल नेतृत्वको प्यानल मैदानमा छ । चण्डेश्वर पाका वकिल हुन् भने पोखरेल युवा वकिल ।

श्रेष्ठ नेतृत्वको प्यानललाई प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह नाम दिइएको छ । यो प्यानलले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकारःस्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको छ ।

त्यस्तै पोखरेल नेतृत्वको प्यानललाई वृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत समूह भनिएको छ । यो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको छ ।

नेपाल बार एशोसियसनको निर्वाचनमा यसपटक दुवै प्यानलबीच राम्रो टक्कर हुने देखिएको छ । कांग्रेस समर्थित प्यानल अहिले नेपाल बारको संस्थापन पक्ष हो । विगतमा एमाले र माओवादी फरक पार्टी हुँदा पनि उनीहरु मिलेरै लड्दा विजयकान्त मैनाली नेतृत्वको वामपन्थी प्यानललाई शेरबहादुर केसी नेतृत्वको कांग्रेस प्यानलले पराजित गरेको थियो ।

विगतमा भन्दा यसपटक फरक परिदृश्य नरहेको र सधैं बामपन्थीहरु मिलेरै लडेकाले अहिले उनीहरुको शक्ति नथपिएको दावी कांग्रेस समर्थित कानुन व्यवसायीहरुको छ । यो चुनावमा कम्युनिस्टहरुलाई पराजित गर्दा कांग्रेसमा उर्जा थपिने र दुई तिहाईको सरकार चलाइरहेको नेकपालाई धक्का पुग्ने उनीहरुको विश्लेषण छ ।

नेकपा निकट कानुन व्यवसायीहरु भने अघिल्लो चुनावमा अन्तरघातका कारण एक सय भोटको अन्तरमा पराजित भइएको भन्दै यसपटक त्यो अवस्था नरहेको दावी गरिरहेका छन् । यसबीचमा महाअभियोग प्रकरणदेखि दीपकराज जोशीलाई जोगाउने प्रकरणसम्म आइपुग्दा नेपाल बार बद्नाम भएकाले बलियो बारका लागि बामपन्थी प्यानलले जित्ने दावी उनीहरुको छ ।

यो पनि पढ्नुहोस वामपन्थी वकिल भन्छन्- बार बदनाम भयो !

दुवैले जित्ने दाबी गरे पनि विगतका चुनावी परिणाम र पछिल्ला घटनाक्रमहरु हेर्दा कुन पक्षले जित्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । दुवै पक्षका अध्यक्षका उम्मेदवार आफ्नै संगठनभित्र विवादकाबीच उठाइएका पात्र हुन् । दुवैका आ-आफ्ना राम्रा र नराम्रा पक्ष छन् । तर, मतदाताले एजेण्डा र व्यक्तिसमेत छनोट गर्ने भएकाले दलीय आधारमा मात्र मत खस्दैन ।

मधेसवादी दल र राप्रपा आवद्ध वकिलहरुको मत कहिल्यै पनि संगठित रुपमा एकै ठाउँमा जाने गरेको छैन । यसपटक पनि वामपन्थी प्यानलले प्रदेश २ को उपाध्यक्षमा राजपाका वकिललाई उठाएको छ । तर, पनि विगतका अनुभवले उनीहरुका मत संगठित रुपमा एकै ठाउँमा खस्ने गरेको छैन । थोरै मतको हारजित हुने अवस्थामा राप्रपा समर्थित र स्वतन्त्र वकिलहरुको मत निणर्ायक हुन सक्छ ।

चण्डेश्वरः पुराना तर कम सक्रिय

बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेपाल बारको अध्यक्षको उम्मेदवार बन्ने चर्चा खासै थिएन । नेकपाबाट बार अध्यक्षका लागि विजयकान्त मैनाली र रमण श्रेष्ठ मुख्य दाबेदार थिए । यसपटक पूर्व माओवादी पक्षबाट अध्यक्षको उम्मेदवार बन्ने पूर्वसहमति अनुसार रमण श्रेष्ठले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका थिए ।

रमण श्रेष्ठप्रति अध्यक्ष प्रचण्डको पनि सहानुभूति थियो । तर, महान्यायाधिवक्ता हुँदाको रमणको भूमिकाका कारण नेकपाका वलिकभित्र उनी विवादस्पद भए । विशेष गरी सुशीला कार्कीमाथिको महाअभियोग र भरतपुरको मतपत्र च्यात्ने काण्डमा रमणको भूमिका विवादस्पद रहृयो । रमण अध्यक्षको उम्मेदवार हुँदा शम्भु थापालगायतका बरिष्ठ वकिलमात्र होइन, दिनमणि पोखरेल लगायत पूर्वमाओवादी पक्षकै वकिल पनि बिरोधमा हुने भए ।

पूर्वमाओवादी पक्षबाटै अर्को निर्विवाद व्यक्ति खोज्दा चण्डेश्वर भेटिए । तत्कालिन जनमोर्चा हुँदै माओवादी धारामा आएका श्रेष्ठ यसअघि बारको उपाध्यक्ष भइसकेका छन् । लो प्रोफाइलमा रहेका श्रेष्ठ उमेर र अनुभवका हिसाबले पाको वकिल भए पनि युवा पुस्तामा भने उनको व्यक्तिगत प्रभाव छैन ।

संगठनभित्र रमण श्रेष्ठ पक्ष बाहेक उनको विपक्षमा कोही नहुनु उनका  लागि अनुकुलता हो । श्रेष्ठको विपक्षमा खुलेर उनको संगठनभित्रका कोही लागेका छैनन्, यद्यपि रमण श्रेष्ठले असन्तुष्टि जनाएका छन् । यसबाहेक उनको बल भनेको व्यक्तिगत प्रभाव भन्दा पनि संगठनको मत नै हो ।

सुनील पोखरेलः युवा तर, बरिष्ठको विरोध

लोकतान्त्रिक प्यानलका अध्यक्ष उम्मेदवार सुनिल पोखरेल युवा र प्रतिभाशाली वकिल हुन् । उनको सक्रियता लोभलाग्दो छ । हरिकृष्ण कार्की नेपाल बारको अध्यक्ष भएको बेला उनी महासचिव निर्वाचित भएका थिए । उनको नेतृत्व क्षमता त्यहिबेलादेखि बाहिर आयो ।

पोखरेल उम्मेदवारका रुपमा अघि सारिँदा कांग्रेसका बरिष्ठ वकिलहरुको छनौट समितिमा विवाद भएको थियो । जुनियरलाई अध्यक्ष दिन नहुने भन्दै हरिहर दाहाल, प्रेमवहादुर खड्का र भोला हमालले नोट अफ डिसेन्ट लेखेका थिए भने डीएलएका पूर्वअध्यक्ष भरत खरेलले बैठक बहिस्कार गरेका थिए । त्यस्तै अध्यक्षका दाबेदार पूर्वमहासचिव बरिष्ठ अधिवक्ता माधव बास्कोटाले खुलेआम बिरोध गरे ।

बरिष्ठहरुको विरोधका बाबजुद वर्तमान अध्यक्ष शेरबहादुर केसी र उपेन्द्रकेशरी न्यौपाने लगायतको जोडबलमा पोखरेलले टिकट पाएको आरोप लागेको छ । यद्यपि टिकटका बेलाको अशन्तुष्टि अब साम्य भइसकेको र सबैजनाले प्रतिष्ठाको विषय बनाएर पोखरेललाई जिताउन लागेको डीएलएका नेताहरु बताउँछन् ।

पोखरेलमाथि आफू महासचिव भएका बेला न्याय परिषदको सदस्य सिफारिस गर्ने बेला कांग्रेस उम्मेदवार बाबुराजा जोशीलाई पराजित गरी तत्कालीन एमाले समर्थित रामप्रसाद श्रेष्ठलाई जिताएको आरोप पनि लागेको थियो । त्यसबेला नेपाल बारमा अध्यक्षसहित ७ जना एमाले निकट र महासचिवसहित १० जना कांग्रेस निकट थिए ।

बार कार्यसमितिमा मतदान हुँदा एमाले समर्थितले जितेपछि कांग्रेस निकटले पोखरेलमाथि आरोप लगाएका थिए । मतदान हुँदा श्रेष्ठको पक्षमा ९ र जोशीको पक्षमा ७ मत परेको थियो ।

आन्तरिक असन्तुष्टिका बाबजुद सुनिल पोखरेल आम कानुन व्यवसायीहरुबीच डाइनामिक र क्षमतावान वकिलका रुपमा परिचित छन् । न्यायपालिका कार्यपालिकाको छायाँ बन्ने आशंका भइरहेको भन्दै यस्तो बेला पोखरेल नेतृत्वको बारले मात्र स्वतन्त्र न्यायपालिकाको पक्षमा अडान लिन सक्ने उनीहरुको दावी छ ।

उम्मेदवारहरु को-को ?

अध्यक्षपछिको कार्यकारी पद महासचिवका लागि बामपन्थी प्यानलबाट सुरेन्द्रबहादुर थापा र लोकतान्त्रिक प्यानलबाट लीलामणि पौडेल प्रतिस्पर्धामा छन् । उनीहरु दुवै बलिया उम्मेदवार हुन् । त्यस्तै महिला उपाध्यक्षका उम्मेदवार बामपन्थीतर्फकी रक्षा बस्याल र कांग्रेसतर्फकी कविता थापाबीच पनि कडा टक्कर छ ।

चण्डेश्वर श्रेष्ठको प्यानलबाट प्रदेश उपाध्यक्षमा १ देखि ७ सम्म क्रमशः मानबहादुर रुम्दाली राई, रामचन्द्र सिंह, इश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, लीलाधर मरासिनी, मीनबहादुर महत र उमेशप्रसाद विष्ट छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रवहादुर थापा र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अघि सारिएको छ । सदस्यहरुमा खुलातर्फ भीमसेन बञ्जारा, गंगासागर खत्री, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।

त्यस्तै दलितबाट मोहन साशंकर, मधेशीबाट पन्चनारायण मण्डल, विरेन्द्रकुमार ठाकुर अािदवासीतर्फ विनाकुमाी सिंह चौधरी, बद्री नगरकोटी,महिलातर्फ कल्पना भण्डारी र अन्जु कायस्थलाई उम्मेदवार बनाइएको छ ।

सुनिल पोखरलेको प्यानलबाट प्रदेशतर्फ उपाध्यक्षहरुमा १ देखि ७ सम्म क्रमशः डिल्लीवहादुर कार्की, सुधीरकुमार कर्ण, राजेश्वर अधिकारी, निरन्जनलाल राजभण्डारी, सुनिलकुमार श्रेष्ठ, उत्तम आचार्य र ठेकेन्द्रराज जोशी उम्मेदवार बनेका छन् ।

त्यस्तै महिला उपाध्यक्ष कबिता थापा कार्की, महासचिवमा लिलामणी पौडेल र कोषाध्यक्षमा तेजवहादुर रावल उम्मेदवार छन् ।

सदस्यहरुमा खुलातर्फ टेकप्रसाद सुवेदी, गोपी शर्मा सुवेदी, खेमराज न्यौपाने, शिवप्रसाद रेग्मी, कृष्ण घिमिरे र रमेशकुमार ढकाल उम्मेदवार छन् । अन्य सदस्यहरुमा मधेसीबाट शेषमान यादव, मनोजकुमार चौधरी, आदिवासी जनजातिबाट अमृत लामा,, कैलाश गुरुङ महिलाबाट शिवाली जोशी र सोनी रघुवंशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment