Comments Add Comment

गोविन्दराज जोशीको घरमा कोसियारीको ‘ब्रेकफास्ट मिटिङ’

bhagat-singh-koshiyari

२१ असार, काठमाडौं । नेपाल-भारत सम्बन्धबारे अध्ययन गर्न बनेको प्रवुद्ध व्यक्ति समूह (इपीजीको) बैठकमा भाग लिन काठमाडौं आएका भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले राजनीतिक भेटघाट तीब्र पारेका छन् ।

भेटघाटका क्रममा कोसियारीले नेपाली नेताहरुसँग ‘हिन्दुराष्ट्र’को समेत चर्चा गरेका छन् । भारतबाट कम बोल्ने र नेपालीको कुरा सुन्ने भन्दै काठमाडौं आएका उनले नेपाली नेतासँगको भेटमा १९५० को सन्धीको बचाउमा लविङसमेत गरेका छन् ।

प्रवुद्ध समूहको भारतीय पक्षका संयोजकसमेत रहेका कोसियारी मंगलबार बिहानै धापासीस्थित कांग्रेस नेता गोविन्दराज जोशीको निवासमा एकजना सहयोगीलाई लिएर पुगेका थिए ।

कोसियारीलाई भेट्न जोशी निवासमा कांग्रेस नेता कुलबहादुर गुरुङ र विनयध्वज चन्दसमेत पुगेका थिए । जोशीको घरमा कोसियारीले बिहान ८ देखि साढे ९ बजेसम्म करिब डेढघण्टा बिताए । ब्रेकफास्टसहितको सो बैठकमा कोसियारी र कांग्रेसका तीन नेतावीच नेपाल-भारत सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्नेबारे कुराकानी भएको स्रोतले बतायो ।

स्रोतले अनलाइखबरसँग भन्यो, प्रवुद्ध समूहको बैठकमा आएका भारतीय नेताहरुले नेपाल-भारत सम्बन्धबारे नेपाली कांग्रेसको धारणा बुझ्न हामीसँग छलफल गरेका हुन्, यो छलफलमा अन्य विषय भन्दा पनि दुई देशको सम्बन्धकै विषयमा बढी कुराकानी भयो ।’

धर्म निरपेक्षताको विरोध, १९५० को बचाउ

कांग्रेस नेतासँगको भेटमा कोसियारीले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपछि भारतीय हिन्दुहरुले अपमानित महसुस गरेको बताएका थिए ।

‘भारतीयहरु पशुपतिनाथमा आउँछन्, नेपालीहरु पनि चार धाम गर्न भारत जान्छन्,’ कोसियारीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो,’अहिले धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेपछि पशुपतिनाथमा आउने भारतीयहरुले अलिकति अपमानितजस्तो महसुस गर्न थालेका छन् ।’

त्यसैगरी जोशी निवासमा भएको कुराकानीमा कोसियारीले सन् १९५० को सन्धीले नेपाललाई नै फाइदा पुगिरहेको भन्दै धेरैले यो सन्धी नपढिकन विरोध जनाएको टिप्पणी गरे । कांग्रेस नेताहरुले पनि १९५० को सन्धी खारेज गर्न नहुने भन्दै कोसियारीको भनाइमा सही थापेका थिए ।

हिन्दुराष्ट्रका पक्षपाती भारतीय नेता कोसियारीले भेट गरेका कांग्रेसका तीनैजना नेताहरु हिन्दुराष्ट्रका पक्षपाती हुन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका जोशी हिन्दु राष्ट्रका पक्षपाती हुन् । त्यसैगरी विनयध्वज चन्द र केवी गुरुङ पनि जोशीसँग एउटै गुटमा आवद्ध कांग्रेस नेता हुन् ।

गिरिजाप्राद कोइरालाले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेपछि जोशी समूह नेपाली कांग्रेसमा भूमिकाविहीनजस्तै देखँदिै आएको छ । यहीबेला कोसियारीको रोजाइमा जोशी, गुरुङ र चन्द परेका छन् ।

कोसियारीको यो भेटले अब भारतीय संस्थापन पक्षले कृष्ण सिटौला समूहभन्दा हिन्दु राष्ट्रबारे समाधान धारणा राख्ने जोशी समूहलाई महत्व दिन थालेको त हैन भन्ने चर्चा कांग्रेसभित्र चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment