Comments Add Comment

भोटेकोसी नदीमा लिपिङ बजार बग्यो, दुईसय घर उच्च जोखिममा

हुम्लामा दुई गाविसमा क्षति

bhotekoshi_sindhupalchok
भोटेकोशी नदी किनारका घरहरु । तस्वीर: जीबन पराजुलीको फेसबुक

२२ असार, चौतारा । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् ।

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।

नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ ।

तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पुर्याउन सक्ने प्रनि भुसालले बताए ।

बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पुर्याएपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ ।

त्यसैगरी तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर बगाएको छ । जम्बोस्थित अरनिको राजमार्गको ५० मिटर सडक कटान गरेको र ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए ।

गएराति १० बजे एक्कासि नदीको वहाब बढ्न गएकोले बाह्रबिसेमा रहेको कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको छ ।

त्यस्तै बाह्रबिसेको मोटर ग्यारेजबाट टाटासुमो एक र जिप एकसमेत बगाएको छ । हालसम्म मानवीय क्षति नभएको र भोटेकोसी नदीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब डेढ मिटर जति बढिरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए ।

हुम्लामा दुई गाविसमा क्षति

यसैबीच हुम्ला सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने कालिका र मैला गाविसमा एक्कासि परेको अविरल वर्षापछि आएको बाढीले चौपाया एवम् घरजग्गामा क्षति पुगेको छ ।

कालिका गाविसको लमही काँखे लौठी गाउँमा असार १२ गतेदेखि निरन्तर वर्षा भएपछि वडा नं ७ देखि ८ सम्म ३५ घरपरिवार प्रभावित भएको हो ।

उक्त गाविसका किसानको धान कोदो, चिनु मकै सबै बगाएको छ भने यहाँको ५० रोपनी बराबर जग्गामा पनि क्षति पुर्याएको छ । वर्षाले सिँचाइ तथा खानेपानीका ट्याङ्कीमा समेत क्षति पुर्याएको छ ।

यहाँका खोलाका सात वटा काठे पुल बगाएकाले एक गाउँबाट अर्को गाउँबीचको आवतजावत बन्द भएको छ ।

त्यसैगरी मैला गाविसमा पनि बाढीले ठूलो क्षति गरेको छ । यहाँको लौठी गाउँमा पाँच वटा गाई भैँसीसहित गोठ र घरमा क्षति भएको छ । उक्त गाविसमा लमहीमा चार वटा घर पनि क्षति भएको छ ।

बाढीले क्षति पुर्याएपछि प्रहरीसँगको सहकार्यमा पीडित किसाले क्षतिपूर्तिको दावी गरेको किसान हेमबहादुर शाही र चन्द्रबहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment