+
+

डा. केसीले सुरु गरे अनसन, शिक्षण अस्पताल परिसरमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते २०:१०

DR-Govinda-KC-from-Teaching-Hospital

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आइतबार आठौंपटक अनसन सुरु गरेका छन् ।

चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार गर्न तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

अनसनको पक्ष र विपक्षमा रहेकाहरुबीच अहिले शिक्षण अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ । दुबै पक्षले एकअर्काको विरोधमा नाराबाजी गरिरहेका छन् ।

गणेशमान सिंह भवन परिसरको बालरोग ओपिडी नजिकै चर्को नाराबाजी र होहल्ला भएपछि विरामीहरु मर्कामा परेका छन् । अनसनको विरोधमा नाराबाजी गर्नेहरु अधिकांश महिलाहरु छन् ।

Strike-in-TU-Teaching-Hospital-2

‘अस्पताल बचाऔं समूह’को ब्यानरमा डा. केसीको विपक्षमा रहेकाहरुको समूह पनि छ । त्यसको नेतृत्व डा. रामकुमार अधिकारीले गरेका छन् । उनले केसीका मागप्रति समर्थन रहे पनि अस्पताल परिसरमा अनसन बस्न नपाइने बताए ।

‘अस्पताल परिसरमा अनसन बस्न पाइँदैन भनेर फैसला गरेको छ । त्यसैले कानुन मान्दिन भन्न पाइँदैन,’ डा. अधिकारीले भने, ‘अस्पताल परिसरमा अनसन बसेकोमा हाम्रो आपत्ती हो ।’

उनले अस्पताल परिसरबाट अनसन बस्न नछाडेसम्म विरोध जारी रहने जानकारी दिए ।

डा. केसीले अनसन सुरु गर्नुअघि आफ्ना सहयोगी डा. जीबन क्षेत्रीलाई प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि आफूले पहल गरिरहेको भन्दै अनसन नबस्न आग्रह गरेका थिए ।

अनसन सुरु गर्नुअघि पत्रकारमाझ डा. केसीले भने, ‘यस्तो भन्छन् भन्ने मलाई पहिल्यै थाहा थियो । माफियाहरुले व्यापारिक प्रयोजनका निम्ति अनसनको विरोध गरिरहेका छन् ।’

Strike-in-TU-Teaching-Hospital

डा. केसीले चिकित्सा क्षेत्र सुधार गर्न र अख्तियार प्रमुख भ्रष्टाचारी भएको आरोप लगाउँदै बर्खास्त गर्न माग पनि गरेका छन् । सरकारी शिक्षण संस्थाहरुको आर्थिक भारले सरकारले व्यहोर्दै तिनीहरुमा सबै सिट निःशुल्क गर्ने, सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज पुर्‍याउने, काठमाडौं उपत्यकामा आउँदो दस वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने तथा मनसाय पत्र पाएकाहरुको नविकरण नगर्ने माग पनि केसीले राखेका छन् ।

डा. केसीले कार्कीमाथि आफ्ना आफन्तजनको निहीत व्यापारिक स्वार्थका लागि समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेको र भ्रष्टहरुलाई संरक्षण दिएको आरोप लगाएका छन् । कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएको आरोप पनि कार्कीमाथि लगाइएको छ । त्यसैले अख्तियार प्रमुख कार्कीलाई संसदबाट महाअभियोगको प्रक्रिया थाल्नुपर्ने केसीको माग छ ।

तपाईंले भन्दैमा महाअभियोगको प्रक्रिया अघि बढ्ला त भन्ने पत्रकारको जिज्ञासामा केसीले भने, ‘यदि सांसदहरु एक प्रतिशत पनि जनताको सेवक हुँ भन्छन् भने महाअभियोगको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।’

यसअघि डा. केसीले आफ्ना माग सार्बजनिक गर्दै पूरा गर्न सरकारलाई १५ दिनको समय अवधि दिएका थिए । लगत्तै अख्तियार प्रमुख कार्कीले विज्ञप्ति निकालेर केसी मानसिकरूपमा अस्वस्थ रहेको भन्दै उपचार गर्न सरकारलाई ‘निर्देशन’ दिएका थिए ।

Strike-in-TU-Teaching-Hospital 2

तस्वीर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?