+
+

सरकारबाट बाहिरिनु माओवादी र प्रचण्डका लागि आत्मघातीः सञ्चारमन्त्री

राष्ट्रिय सहमतिका लागि समर्थन फिर्ताः गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १५:११

Reporters

२८ असार, काठमाडौ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय स्वयम् नेकपा माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकालागि आत्मघाती हुने चेतावनी दिएका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा एमाले नेतासमेत रहेका सञ्चारमन्त्री राईले भने, ‘सरकारको विकल्प खोज्नु पर्ने कारण र औचित्य पुष्टि नगरी प्रधानमन्त्री पदको लोभमा चालिएको कदम आत्मघाती हो, यसको मुल्य माओवादी केन्द्र र प्रचण्ड स्वयमले चुकाउनु पर्छ ।’

साक्षात्कारमा मन्त्री राईले स्पष्ट मार्गचित्रसहित सरकार अघि बढीरहेको, राष्ट्रको शिर ठाडो बनाएको, स्वाधीनताको झण्डा उँचो बनाएको र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाईरहेको बेला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको औचित्य पुष्टि गर्नै नसक्ने ठोकुवा गरे ।

उनले संविधान कार्यान्वयन हुन नदिने देशीविदेशी चाहनालाई बल पुर्‍याउन चालिएको कदम मुलुकको लागिसमेत घातक हुने दावी गरे ।
उनले सरकार ढलेपनि बर्तमान नेतृत्व र नेकपा एमालेले संविधान कार्यान्वयन नगर्ने, मुलुकलाई असफल बनाउन अस्थिरता उत्पन्न गर्नेहरुको योजना सफल हुन नदिने स्पष्ट पार्दै सहमतिकै सरकार गठन गरेर अघि बढ्ने हो भने संविधान जारी गर्दा भएको १६ बुँदेको जगमा उभिएर छलफल गर्न भने सकिने बताए ।

यता नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्गले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याउने विषयमा सरकार तयार नभएकोले सहमतिकोलागि मार्ग प्रशस्त गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको दावी गरे । उनले अब प्रधानमन्त्री केपीशर्मा ओलीले सहमति जुटाउन प्रयास नगरे अरुको नेतृत्वमा सहमतिको प्रयास हुने स्पष्ट पारे ।

काग्रेस र एमालेको सँगै नबस्ने सोचका कारण सहमति बन्ने स्थिति नभएको भन्दै उनले सहमति बन्न नसकेको स्थितिमा शान्ति प्रक्रियाको मुद्दामा जोसँग निकट होइन्छ उसैसँग मिलेर सरकार गठन हुने गुरुङको टिप्पणी छ ।

उनले भने, ‘अहिले सरकार फेर्ने भन्दा पनि एजेण्डामा राष्ट्रिय सहमति खोजिएको हो । शान्ति प्रक्रियालाई निष्कर्समा पुर्‍याउन नखोज्ने हो भने मुलुक शान्ति सम्झौता भन्दा अघिको स्थितिमा पुग्छ ।’

नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सामान्य स्थितिमा नरहेकोले संविधान कार्यान्वयनको लागि प्रमुख तीन दल एक ठाँउमा बसेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै अहिलेको अवस्थामा प्रतिपक्ष हुनै पर्छ भन्ने स्थिति नरहेको बताए ।

उनले भने,’ दलहरु मिल्दा राजालाई पनि घर पठायौ, संविधान जारी गर्न सक्यौं । अहिले हामी नमिल्दा संविधान कार्यान्वयनमा समस्या छ । तीन दल मिलेरै जानु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?