लोकदोहोरी गीतमा जमेकी गायिका हुन् देविका केसी । दोहोरी साँझबाट करिअर सुरु गरेकी देविकाले काठमाडौमा आयोजना भएको दोहोरी प्रतियोगितामा पटक-पटक पहिलो र दोस्रो भएको प्रमाणपत्र पाएकी छिन् । भन्छिन् ‘स्टेज नै मेरो करिअरको आधार हो, त्यही स्टेजले मलाई आज यो स्थानमा आउन सघाएको छ ।’
सिन्धुपाल्चोकको बाँडेगाउँ तीनघरेमा रहेको संस्कृत माविबाट एसएलसी सकाएपछि काठमाडौ आएकी थिइन् देविका । काठमाडौबाट नजिक भए पनि दुर्गम थियो उनको गाउँ ।
टुकी वत्तिमै पढेर स्कुले शिक्षा सकेकी थिइन् । रेडियो घरमै भए पनि टेलिभिजन हेर्न पाएकी थिइनन् ‘हाम्रो घरमा त टीभी थिएन, गाउँमा केहीकेहीले राख्नुभएको थियो । सोलारबाट चल्थ्यो’ देविकाले सुनाइन् ।
जेहोस् उनलाई गाउनुपर्छ भन्ने सोच स्कुलदेखि नै थियो । स्कुलमा वाध्यताले संस्कृत पढेकी देविकाले के पढ्ने भनेर धेरै सोचिनन् । संस्कृतको श्लोक घोक्दा स्कुलमा दिक्क लागे पनि काठमाडौ आएलगत्तै संस्कृतको महत्व बढी भएजस्तो लाग्यो उनलाई । भन्छिन् ‘संस्कृत पढेपछि नेपाली भाषा शुद्धसँग बोल्न जानिन्छ भन्ने लाग्यो र वाल्मिकी क्याम्पस भर्ना भएँ ।’
आइए(उत्तर मध्यमा) मा न्याय र व्याकरण लिएर पढ्न थालेकी देविकाको कक्षामा जम्मा २५ जना विद्यार्थी थिए । उनले लिएको न्याय र व्याकरण पढ्ने त जम्मा पाँचजना । ‘थोरै विद्यार्थी हुँदा पढ्ने माहौलचाँहि राम्रो थियो ।’
किताब नपाएर भने निकै सास्ती बेहोर्नुपर्यो । धेरै पुस्तक बजारमा किन्न पाइँदै नपाइने, लाइब्रेरीमा पनि हुन्नथ्यो । साथीहरुसँग फोटोकपी गरेर लिनुपथ्र्यो । अनि घोक्नुपर्ने ।
कलेज सुरु भएलगत्तै कलेजमै आयोजना हुने स्टेज कार्यक्रममा गीत गाइन् । कलेजको स्टेजले उनको गाउने धोको पूरा भएन । काठमाडौंका रेष्टुरेन्टहरुमा लोकदोहोरीको माहौल निकै राम्रो थियो त्यति बेला ।
सिर्जना विरहीसँगको भेट फलदायी
त्यहीबेला उनको सम्पर्क भयो सिर्जन विरही थापासँग । सिर्जना विरही थापाले दरबारमार्गको एउटा रेष्टुरेन्टमा दोहोरी गाउँथिन् । त्यही थिए अर्का गायक बुद्धिसागर बस्याल पनि । दुबैले देविकाको हल्का परीक्षा लिए । दोहोर्याएर जाँच दिनुपरेन । पास भइन् ।
भन्छिन् ‘दोहोरी साँझमा १० वर्षजति गाएँ । त्यही मैले राम्रो छहारी राम्रो पाएँ । स्वर माझियो’ त्यही वीचमा भएको विभिन्न दोहोरी प्रतिस्पर्धामा सहभागी भएर अवार्ड पनि पाइन् । पशुपति शर्मा, राधिका हमाल, यज्ञ भट्टराईलगायत धेरै गायक गायिका त्यही दोहोरी प्रतियोगितामा भिडेका थिए ।
बाले भन्नुहुन्थ्यो गाउनुपर्छ छोरी
अहिले पनि रेष्टुरेन्टमा गीत गाउने छोरी मान्छेको आलोचना गर्ने प्रवृत्ति छँदैछ । १० वर्ष अगाडि यो प्रवृत्ति झनै थियो । तर, देविकालाई कहिल्यै समस्या परेन । उनका बुबा रिटायर्ड आर्मी थिए । कलाप्रति रुची भएका । ‘गाउ छोरी, तिमीले गाउनुपर्छ’ उनका बुबा सँधै यसै भन्थे । घरवाटै अनुमति पाएपछि जोसुकैले जेसुकै भनोस् ।
भृकुटीमण्डपको दोहोरीले बलियो बनायो
दोहोरी रेष्टुरेन्टमा स्टेज भए पनि बाहिरी स्टेजको तुलनामा साँघुरो थियो । सीमित दर्शकका वीचमा गाउनुपर्ने । सेलीब्रेटी गायिका हुनका लागि खुल्ला स्टेजमा नगाई सम्भव थिएन ।
त्यहीबेला सुरु भयो भृकुटीमण्डपमा बृहत दोहोरी प्रतियोगिता । देबिका सम्भिmन्छिन् ‘एकातिर जज, अर्कोतिर दर्शक । माहौल विल्कुल फरक थियो’ स्टेजमा पुग्न नपाई दर्शकको हुटिङ सुरु भैहाल्यो । त्यहीँ हुन्थे जज पनि । दुबै पक्षलाई सन्तुष्ट बनाउन सफल भएको अनुभव गरेकी छिन् देविकाले । ‘दर्शक र जजलाई चित्त बुझाएकै कारण पुरस्कृत भएँ’ ।
अैंचो पैँचो चल्छ
उनकै छिमलका धेरै गायक गायिका सक्रिय छन् अहिले । देविकाका अनुसार साथीसाथी वीचमा अैंचो पैंचो मज्जाले चल्छ । उनले पशुपति शर्मा, रामजी खाँण, खुमन अधिकारीलगायत धेरैसँग गाएकी छिन् ।
ती गायक गायिकासँग गाउँदा उनले पैसा खर्च गर्न पर्दैन । र, उनीहरुले पनि गाएवापत पैसा दिन्नन् । भन्छिन् ‘उहाँहरुसँग हाम्रो पैंचो चल्छ’ सबैभन्दा धेरै कोसँग लिनु वा दिनु होला ? देविका हाँस्दै भन्छिन् ‘कसलाई कति भनेर हिसाब त गरेको छैन । तर, पशुपति शर्मालाई अलि धेरै दिनु छ कि । उहाँको शब्द संगीतमा धेरै गाएकी छु ।’
तर, पछिल्लो दुई वर्षयता भने नयाँ गायक सन्दीप न्यौपानेसँग गाएकी छिन् । उनीसँगको पैंचो हिसाब गर्नै बाँकी छ ।’
केटा कुट्नुपर्यो
जतिबेला उनी वाल्मिकी क्याम्पसमा भर्ना भएकी थिइन् । नेविसंघको जगजगी थियो । देविकाले अहिलेसम्म कुनै पार्टी वा संगठनको सदस्यता लिएकी त छैनन् । तर, त्यो दबदबा चित्त बुझेन र अखिलको तर्फबाट स्ववियु निर्वाचनमा सदस्यमा उम्मेदवारी दिइन् । केटी भएकाले हातपात त कसैले गरेन । तर, मुख छाड्नेहरु धेरै थिए । जुन कुरो देविकालाई मन पर्दैन थियो ।
केही केटाहरुले उनको हातको पिटाइसमेत खाए । एकजना पुरुषको अहिले पनि अनुहार दाग प्रष्ट देखिन्छ । छाडा बोलेवापत देविकाको नङ्ग्रा उनको अनुहारमा जाइलागेको थियो । पहिलोपटक उम्मेदवारी दिएर उपस्थिति जनाएकी देविकाले दोस्रोपटक चुनावै जितेर देखाइदिइन् ।
जनवादी गीतबाट प्रभावित
उनलाई अहिले पनि जनसांस्कृतिक महासंघमा आवद्ध भएकाहरुको गीत मन पर्छ । गीत केवल मनोरञ्जनमा सीमित हुनुहुन्न भन्ने मान्यता राख्ने देविका गीतमा सर्वसाधारणको जीवनशैली झल्किनुपर्ने मान्यता राख्छिन् ।
भन्छिन् ‘गीत जीवन्त हुनुपर्छ । केवल माया प्रेमको कुरा गरेर मात्रै गाएको गीत-गीतजस्तो हुँदैन’ पशुपति शर्मासँग गाएको दलितसँग सम्बन्धित गीतको भाव त्यही थियो । पछि टेलिभिजनमा ब्याण्ड नै भयो । त्यसो त भारतले अघोषित नाकाबन्दी गर्दा पनि युवराज छन्त्यालको शब्दमा राधिका हमालसँग गाएकी थिइन् । कतिपय टीभीले बजाउन मानेन ।
दोहोरी छाडा भएकोमा चिन्ता
पछिल्लो समय लोक दोहोरी गीत मर्म भन्दा पर गएकोमा चिन्ता लागेको छ उनलाई । भन्छिन् ‘कतिपयले छाडा प्रवृत्तिका गीत गाएका छन् यो राम्रो होइन’ छाडा प्रवृत्तिले मौलिक पहिचान छाँयामा पार्छ कि भन्ने चिन्ता छ उनलाई ।
प्रतिक्रिया 4