Comments Add Comment

नेपाल एयरलाइन्सको भदौदेखि दुबईमा नियमित उडान

NAC Airbus 320
२ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई)मा पुनः उडान सुरु गर्ने भएको छ । निगमले भदौ २ गतेदेखि दुबईमा नियमित उडान सुरु गर्न लागेको हो ।

यसअघि निगमले १० वर्षभन्दा बढी दुबई उडान भरेको थियो । जहाज अभाव भएपछि निगमको दुबई उडान सन् २०१२ अगष्टमा बन्द गरिएको हो । नेपाली कामदारको बाहुल्यता रहेको दुबई पोटेन्सियल गन्तव्य हो ।

निगमले दुबईमा अजमान नेशनल ट्राभल एजेन्सीलाई साधारण सेल्स एजेन्ट्स (जीएसए) नियुक्त गरेको छ । सोही एजेन्सीमार्फत निगमले दुबई उडान भर्नेछ । निगमले सातामा तीन दिन उडान भर्ने तालिका बनाएको छ ।

निगमले दुबईमा आइतबार, मंगलबार र बिहीबार उडान भर्ने बताएको छ । निगमको एयरबस विमान राती ११ः३० बजे काठमाडौंबाट दुबई उड्ने छ । अर्को दिन विहान १०ः१० बजे विमान काठमाडौं आइपुग्ने छ ।

निगमले दुबईका लागि एकतर्फी भाडादर प्रतिव्यक्ति २५ हजार रुपैयाँ र दुईतर्फी ४२ हजार रुपैयाँ तोकेको छ ।

दुबई नेपाली कामदारका लागि आकर्षक गन्तव्य हो । अहिले दुबईमा ४/५ लाख नेपाली कामदार कार्यरत रहेको अनुमान छ । तत्कालका लागि निगमका ग्राहक नेपाली कामदार नै हुनेछन् ।

दुबई विश्वकै आकर्षक पर्यटकीय मुलुक हो । साथै, विश्वकै व्यस्त ट्राञ्जिट मुलुक पनि । त्यसो हुँदा दुबई हुँदै नेपाल आउने जाने पर्यटक पनि निगमका ग्राहक हुनेछन् । पछिल्लो समय नेपालबाट पनि दुबई घुम्न जाने संस्कृति बढेको छ । दुबई तथा तेस्रो मुलुकमा जाने नेपाली यात्रु पनि निगमका ग्राहक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment