प्रदर्शन अगावै पाइरेसीमा फसेको बलिउड चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पूर्ण रुपमा असफल भएको छ । प्रदर्शनको एक साता अगाडि नै यो चलचित्र इन्टरनेटमा आएको थियो । जसले गर्दा यसले बक्स अफिसमा कमजोर व्यापार गर्यो । यसको अघिल्ला २ सिक्वेलले राम्रो व्यापार गरेका थिए । ‘ग्रान्ड मस्ती’ले त भारतमा सय करोड माथिको व्यापार गरेको थियो ।
तर, यसको तेश्रो सिक्वेलले असफल व्यापार गरेपछि कलाकारदेखि निर्माता-निर्देशकमा नैराश्यता देखियो । मुम्बइमा आयोजना भएको पत्रकार सम्मेलनमा उपस्थित भएका कलाकारहरु रितेश देशमुख, विवेक ओवराय, आफताब शिवदासानी र नायिका उर्वशी रौतेलाले सरकारसँग पाइरेसी रोक्न माग गरे ।
मिडियासँगको कुराकानीका क्रममा चलचित्रका कलाकार भावुक देखिए । उनीहरुले आफ्नो आशु रोक्न सकेनन् । उनीहरुले सरकारसँग भावुक शैलीमा पाइरेसी रोक्न आग्रह गरे । नायिका उर्वशीले भनिन्-‘मैले यो चलचित्रका लागि जोडतोडका साथ मिहिनेत गरेकी थिएँ ।
पुरै टिम चलचित्रको रिलिज र प्रमोशनलाई लिएर उत्साहित थियो । तर, जब मानिसहरुले चलचित्र हलमा आउनु अगावै हेरिसकेको बताए, मैले के गरौ भन्ने नै सोच्न सकिनँ ।’ चलचित्रको पत्रकार सम्मेलनमा निर्मात्री एकता कपुर र निर्देशक इन्द्र कुमार पनि उपस्थित थिए । उनीहरुले दर्शकलाई पाइरेसी चलचित्र नहेर्न आग्रह गरे ।