Comments Add Comment

कांग्रेसमा देउवालाई सकस

Sher Bahadur Deuba

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा विजय भएपछि शेरबहादुर देउवाको राजनीतिक कद निकै अग्लो देखियो । कांग्रेस राजनीतिले कोइरालाको बंशमार्गी विरासतलाई छोडेर देउवाको क्याम्पमा प्रवेश गरेपछि धेरैलाई लाग्यो- अब शेरबहादुर देउवा कांग्रेसका शक्तिशाली नेतामा परिणत भए ।

फागुन २४ को पार्टी महाधिवेशनबाट चैत्र २४ को संसदीय दलको नेताको निर्वाचनसम्म आइपुग्दा नेतामा देउवाको उचाइ पार्टीमा झण्डै दोब्बर भयो । लामो समयदेखि कोइराला परिवारको दबदबाभित्र पार्टीमा आफ्नो अल्पमतको पीडा भोगिरहेको देउवा समूह एकाएक शक्तिशाली भएर आएपछि कोइराला समूहका अरु धेरै नेताहरु पनि देउवा क्याम्पमा प्रवेश गरे । सभापति र संसदीय दलको सर्वोच्च शक्ति देउवा शिविरमा गएर थन्कियो ।

तर, चुनौतिहरुसँगै अवसर र अवसरसँगै चुनौतिहरु पछि लागेर आएका हुन्छन् भन्ने सिद्धान्तको दृष्टान्त यतिबेला शेरबहादुर देउवा भएका छन् । विगत लामो समयदेखि कोइरालाको राजनीतिक विरासतसँग भागबण्डाको ६०/४० जुहारी खेल्दै आएका देउवाले त्यो पुरानो मान्यता भुल्नेकि बिर्सिने धर्मसंकटमा परेका छन् । उनले पार्टीको १३ औं महाधिबेशनलाई एकताको महाधिबेशन भनेर प्रचार त गरे, तर त्यो भनाइ र गराइलाई व्यवहारमा उतार्न देउवाले सबैपक्षलाई सम्मानजनक स्थान दिन सक्ने अवस्था अहिले पनि छैन ।

Omprashad-ghayal
ओमप्रसाद घायल

हिजोको माग्ने स्थानबाट फड्को मारेर दिने ठाउँमा पुगेका देउवाको सामु यतिधेरै अप्ठ्याराहरु छन् कि -उनलाई ‘नखाउँ भने दिनभरिको शिकार, खाउँभने कान्छा बाबुको अनुहार’ भएको छ । त्यसैले पनि पार्टीको सभापति र संसदीय दलको नेतामा पाएको विश्वास र भरोसालाई देउवाले धेरै समय बचाइराख्न सक्नेमा आशंका पैदा भएको छ ।

देउवा जसका माध्यमबाट पार्टी नेतृत्वमा आए पनि नेतृत्वमा आएपछि उनले पार्टीका सबैपक्षको भावनालाई सम्बोधन गरेर संगठनको सक्रियतालाई अरु विस्तार गर्नुपर्थ्यो । उनले यसो गर्न सकेनन् । उनले महाधिवेशनमार्फत कोइराला बंशविरासत तोडेर पार्टीलाई आफ्नो शिविरमा त ल्याए, तर पार्टीको उही पुरानो संकीर्णता र निस्त्रिmयतालाई माथि उठाउन सकेनन् । यो नै देउवा नेतृत्वको कमजोर पक्ष हो ।

पदाधिकारी मनोनयनमा समस्या

शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि सांगठानिक क्रियाशीलता ठप्प हुनुको अर्को कारण पदाधिकारी तथा केन्द्रीय समितिले हालसम्म पूर्णता नपाउनु पनि हो । विगतमा कोइराला क्याम्पभित्र समूह व्यवस्थापनामा जुनखालको धर्मसंकट थियो, आज उसैगरी त्यो धर्मसंकट देउवा क्याम्पभित्र प्रवेश गरेको छ ।

सत्ता र शक्तिका लागि निर्णायक भएका देउवालाई आफूभित्रको समूह व्यवस्थापनसँगै पौडेल समूहको चित्त बुझाएर अघि बढ्न निकै सकस भएको छ । निर्वाचनअघि देउवाले धेरै नेताहरुलाई धेरैथरी आश्वासन दिएर सभापति त जिते, तर आफूले बोल कबोल गरेको पूर्वआश्वासनलाई इमान्दारितापूर्वक पालना गर्न उनलाई समूहभित्रैबाट धेरै चुनौतिहरु आइलागेका छन् ।

पार्टीभित्र पदाधिकारी तथा सदस्यहरुमा भाग खोज्ने धेरै आकांक्षीहरुले आज देउवालाई निकै कठिन मोडमा उभ्याइदिएका छन् । पदाधिकारीहरु मनोनित गर्ने, केन्द्रीय समितिलाई पूर्णता दिने र विभिन्न विभागहरु गठन गर्ने दायित्व नै नेता देउवाका लागि फलामको चिउरा चपाउनुजस्तै भएको छ ।

मनोनितको आश्वासनबाट पार्टी महाधिवेशन र संसदीय दलको नेतामा देउवालाई सघाएका धेरै नेताहरुको असन्तुष्टि अहिले विस्तारै बाहिर प्रकट हुन थालेको छ । अविस्वासहरु बढ्दै गएका छन् । महाधिवेशनपूर्वको कोइराला समूहको रोग अहिले पार्टी सभापति देउवा समूहमा दुरुस्तै सरेको छ ।

पार्टीको अस्पष्ट कार्यदिशा

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्माण भएको संगठनलाई नेता देउवाले अझै पनि पार्टी राजनीतिको आगामी कार्यदिशा स्पष्ट पार्न सकेका छैनन् । परिवर्तनले लक्षित गरेका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरुमा काँग्रेसको मार्गचित्र अपुरो छ । समृद्ध र स्वाधीन समाज निर्माणका लागि अब कांग्रेसको नीतिगत मार्गचित्र आवश्यक छ । साथै अन्तरदलहरु वीचको सम्बन्धलाई कसरी अघि बढाउने र विदेशलाई हेर्ने दृष्टिकोणमा कसरी एकरुपता ल्याउने भन्ने विषयमा पार्टीमा कुनै बहस भएको पाइँदैन ।

उपरोक्त विषयमा पार्टीको स्पष्ट नीति नहुनु र कतिपय बेला शीर्ष नेताहरु स्वयं नीतिभन्दा माथि उठेर दिने अभिव्यक्तिका कारण राष्ट्र र राष्ट्रियताप्रतिको हिजोको कांग्रेसी बफादारितामा समेत प्रश्नहरु उठ्ने गर्दछन् । संगठनको आधिकारिक धारणा भन्दा पनि सबै नेताका आ-आफ्नै परिभाषा र व्याख्याले देश र दुनियामा काँग्रेस आलोचित हुँदै आएको छ ।

अर्कोतिर आफूलाई लोकतान्त्रिक सर्वोच्चताको नायक भनेर दाबी गर्ने कांग्रेसलेे आफ्नै सांगठानिक जीवनमा लोकतान्त्रिक मूल्य पद्दतिको अनुशरण गर्न सकेको छैन ।

आजभन्दा ३४ बर्षअघि वीपीले छोडेर गएको उही’राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को परम्परावादी मान्यतालाई बोकेर कांग्रेस राजनीतिको अमूर्त यात्रामा हिँडिरेहको छ । यसो भनिरहँदा वीपीलेपरिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त गलत थियो भन्ने हैन । तत्कालीन अवस्थामा कोइरालाले कल्पना गरेको त्यो समाजवादी नीति पुँजीवाद र साम्यवादको ‘फ्यूजन’ थियो ।

तर, आजको विश्व राजनीतिमा त्यसको परिमार्जित रुपको खोजी गरिनु आवश्यक छ । किनकि उही समाजवादको मन्त्र बोकेर वर्तमानमा कांग्रेस हिँड्दै गरेको यो बाटोले न त उसलाई वीपीको समाजवादी गन्तव्यमा लैजान सक्छ, न त वर्तमान विश्वको भू-राजनीतिमा कांग्रेसलाई समायोजन गर्न सक्छ । त्यसैले अबको काँग्रेसले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिहरुको विश्लेषण गरेर आफूलाई आजको युग अनुकल रुपान्तरण गर्न जरुरी छ ।

अस्तव्यस्त भातृसंगठन

कांग्रेस संगठनको सबैभन्दा दुर्बल पक्ष बर्षौंदेखि पार्टीको भातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्न नसक्नु हो ।सांगठानिक तालिका बनाएर निर्धारित समयभित्र अधिवेशन गर्ने बाध्यात्मक व्यवस्था नहुँदासम्म भातृ संगठनहरुको अस्तव्यस्तता र भद्रगोलपूर्ण अवस्था यथावत रहने देखिन्छ ।

सभापति शेरबहादुर देउवाले छ महिनाभित्र सबै भातृ तथा शुभेच्छुक संगठनहरुको महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएका थिए । तर, देउवाको त्यो संकल्पको पनि कुनै सकरात्मक असर पार्टीका भातृ संगठनहरुमा देखिएको छैन । महाधिवेशन गर्ने र संगठनलाई चलायमान बनाउने भन्दा पनि विभिन्न गुट र उपगुटहरुको विवाद देखाएर अधिवेशनलाई धकेल्ने वा टीका लगाएर परम्परा थाम्ने प्रवृत्ति संस्थागत भएको छ ।

हरेक भातृ संगठनहरुभित्र व्यक्तिवादी सोच हावी हुँदै गएको छ । संगठन निर्माण गर्ने र नेता हुने भन्दा पनि नेतृत्वको दौरा समाएर पद हत्याउने मनोवृत्तिले संगठन ध्वस्त हुँदै गएका छन् ।कार्यकर्तामा मौलाउँदै गएको स्वच्छन्दतावाद र मौलिकताले पार्टीका सबै भातृ संगठनको सांगठनिक अनुशासन भंग भएको छ ।

पार्टीका नेताहरुले पनि संगठन गर्ने भन्दा आफूअनुकुलको नेतृत्व खोज्ने र आफू प्रतिकुल हुनेगरी अधिवेशन गराउन नचाहने गलत मानसिकताका कारण पनि भातृ संगठनको संस्थागत जीवन धरासायी भएको छ ।

गुट र उपगुटको विगविगी

कांग्रेसको जन्मकालदेखि हालसम्मको सांगठानिक इतिहासलाई हेर्ने हो भने सामान्यतया दुईगुट बलियो रुपमा देखिँदै आएको र त्यससँगै तेस्रो गुटले समेत नजानिँदोरुपमा आफ्नो भूमिकालाई संगठनमा प्रस्तुत गरिरहेको देखिन्छ । तर, पछिल्लो १३ औं महाधिवेशनसँगै काँग्रेसमा अरु उपगुटहरु समेतनिर्माण भएका छन् ।

महाधिवेशनमा देउवा, पौडेल र सिटौलाका आ-आफ्ना प्यानल भए पनि देउवा टिमबाटै निर्वाचन लडेका खुमबहादुरदेखि अर्जुननरसिंह केसी र पौडेल टीममा सुजातादेखि शेखर र रामशरण महतसम्मका उपगुटहरुले संगठनको तल्लो इकाइसम्म आ-आफ्ना बल्छीहरु थापेको देखिन्थ्यो । महाधिवेशनपछि हालसम्मको अवस्थालाई हेर्दा संगठनलाई गुटगत कित्ताबाट छुटाएर पार्टीमा एकाकार बनाउने त्यो विशिष्ठ क्षमता वर्तमान सभापति शेरबहादुर देउवामा पनि देखिएको छैन । तर, बढ्दो उपगुटको श्रृङ्खलाले भोलिको कांग्रेसलाई अरु धुजाधुजा बनाउने सम्भावना छ ।

केन्द्रदेखि जिल्ला र गाउँतहसम्म हावी हुँदै गएकोपार्टीजीवनको यो उपगुटीय संस्कृतिको अन्त्य गर्न नेता देउवाले धेरै ठूलो त्याग गर्नुपर्ने देखिन्छ । महाधिवेशनमा उहाँले संकल्प गरेको एकताको विधिलाई व्यवहारतः लागु गर्न सके भोलिका दिनमा काँग्रेसको भावनात्मक एकीकरण असम्भव छैन ।

अब कांग्रेसले के गर्ने ?

नेपाली कांग्रेस पार्टीको आन्तरिक जीवनमा केही समस्याहरु भएपनि यसले आफ्नो जन्मकाल देखि लोकतन्त्र र जनताको सर्वोच्चताप्रति कहिल्यै बेइमान गरेको छैन । मुलुकको परिवर्तनका हरेक आन्दोलनहरु नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन् ।

सन् ००७ को प्रजातान्त्रिक आन्दोलनदेखि ०४६ साल र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन नेपाली कांग्रेसकै कुशल नेतृत्वमा सम्पन्न भएका हुन् । त्यतिमात्र नभएर नेपालको इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीसमेत काँग्रेसकै नेतृत्वमा पूरा भएको छ ।मुलुकको लोकतान्त्रिक मूल्यका लागि यति ठूलो बलिदान दिएको नेपाली कांग्रेसले आन्तरिक पार्टी जीवनमा देखाएको सांगठानिक उदासीनता र अस्पष्टताले काँग्रेसको भोलिको भविश्य निकै चूनौतिपूर्ण हुन सक्छ ।

कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै जानु, जिल्लादेखि क्षेत्र र गाउँका पार्टी संगठनहरु निस्तेज र शिथिल हुनु, कार्यकर्तामा सांगठानिक अनुशासन नहुनु र संगठनमा व्यक्तिवाद हावी हुनु काँग्रेस भविश्यका खास चुनौतिहरु हुन् ।

तर, १३ औं महाधिवेशनमा देउवाले लिएको संकल्पलाई साँच्चिकै सार्थक र परिणामुखी बनाउने हो भने अब पार्टीभित्र एक व्यक्ति, एक पदको नीतिलाई पूर्णरुपले पालना गर्नुपर्छ ।

पार्टीले अख्तियार गर्ने आगामी कार्यदिशाका लागि समेत सभापति देउवाले यथाशिघ्र महासमितिको बैठक बोलाएर निर्णय गर्नुपर्ने देखिन्छ । साथै संगठनको यो दूरावस्थालाई आमूल परिवर्तन गरी सांगठानिक तालिकाका आधारमा नेतृत्व छनोट गर्ने परम्पराको थालनी गर्नु श्रेयस्कर हुन्छ ।

वर्तमान सभापति देउवासँग त्यो इच्छाशक्ति र संगठन सुदृढीकरणका लागि दृढ संकल्प भयो भने काँग्रेस सँधै यो मुलुकको पहिलो र बलियो पार्टी हुने कुरामा कुनै द्विविधा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment