Comments Add Comment

अविरल बर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुवानमा

बाढीमा फसेकाको उद्धारकार्य जारी

Bhairahawa-Badi

७ साउन, भैरहवा । बिहीवार रातिदेखि परेको अविरल बर्षाले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि जलमग्न भएका छन् ।

पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी, भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले जनाएको छ ।

लगातार बर्षाका कारण जिल्लाको पट्खौली गाविस ५ स्थित २५/२६ वटा घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै बसन्तपुर गाविस ४ स्थित पनि केही घरहरु डुबानमा परेको कारण स्थानीयहरु रुख चढेर ज्यान जोगाएका छन् । उनीहरुको उद्दार कार्य जारी रहेको तथा जिल्लामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । बसन्तपुर ४ का केही घर डुबानमा परेपछि ७ जना स्थानीय ज्यान जोगाउन रुखमा चढेर बसेका छन् ।

rohini-nadi.

भैरहवाको पुर्वी क्षेत्रस्थित रोहिणी नदीमा पानीको बहाव उच्च रहेको कारण त्यस क्षेत्रको केही गाउँ जलग्मन भएको भएको प्रवक्ता कार्कीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘बाढीले गर्दा गाउँमा फसेका स्थानीयहरुको उद्दारकार्य जारी छ । केही समयभित्रै हामीले उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा राख्नेछौँ ।’

पट्खौली गाविस ५ स्थित रोहिणी नदीको छेउमा रहेको करिब २५/२६ वटा घरहरु डुबानमा परि बगाउने अवस्थामा पुगेको र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरीक्षक धनबहादुर थापाले बताए ।

आइतबार देखि मौसममा सुधार आउने

मनसुन चापीय रेखा नेपाल (पहाड) को नजिक रहेका कारण देशभर अझै बर्षा हुने संकेत देखिएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद समीर श्रेष्ठले बताए । उनले लगातार बर्षाका कारण पश्चिम (भैरहवा) क्षेत्रको मौसममा सुधार आउन थप केही समय लाग्ने जानकारी दिए ।

आइतबार देखि न्युन बर्षा हुँदै मौसममा सुधार आउनेछ । भैरहवा क्षेत्रमा प्रत्येक बर्ष जुलाई महिनामा औसतमा ५४५ दशमलव ६ मिलिलिटर बर्षा हुने गर्दछ । मौसम पुर्वअनुमान शाखाका अनुसार यो जुलाई महिनामा आज सम्म भैरहवा क्षेत्रमा ३ सय ८९ दशमलव २० मिलिलिटर बर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment