Comments Add Comment

नारायणीमा पानीको सतहले खतराको संकेत नाघ्यो

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालियो

Narayani-River,-Photo-Govinda-Ghimire
नारायणी नदीको बाढी । तस्वीर: गोविन्द घिमिरे

११ साउन, नवलपरासी । नारायणी नदीमा पानीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ । देवघाटमा रहेको मापन केन्द्रले पछिल्लो समय नारायणी नदीमा पानीको सतह १० दशमलव २६ मिटरसम्म पुगेको मापन केन्द्रका बलराम लुईंटेलले बताए । नारायणी नदीमा ८ दशमलव ४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ ।

पानीको सतह खतराको संकेतभन्दा पनि माथि पुगेपछि गण्डक क्षेत्रका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सार्न सुरु गरेको छ ।

गण्डक क्षेत्रमा अहिले प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए । उक्त क्षेत्रमा प्रहरीले स्थानीयलाई माइकिङ गर्दै सतर्क रहन आग्रह गरेको छ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक उपाध्यायले बताए ।

गण्डक ब्यारेजको ‘बी’ ग्यापको ठोकर नम्बर ३, ४, ५, ६, ७, १२ र १३ नम्बरमा खतरा रहेको छ । नर्सहीको ६, ७, १२ र १३ नम्बर ठोकर र पक्लिहवाको ३, ४ र ५ नम्बर ठोकर भत्कन सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन् । यी ठोकरहरुको अवस्था कमजोर रहेको स्थानीय प्रेम रौनियारले बताए ।

व्यारेजका ढोका खोल्यो

नारायणी नदीमा पानीको सतह बढेका कारण दुई तीन दिन अघिदेखि नै गण्डक व्यारेजका सबै ढोकाहरु खोलिएको छ ।

भारतले गण्डक ब्यारेजलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएको छ । यसपटक पनि बाढीका कारण उत्पन्न हुन सक्ने खतरालाई ध्यानमा राख्दै भारतले आफ्नो अनुकुल प्रयोग गरेको छ । नारायणी नदीमा गण्डक ब्यारेजमा बाँध लगाएर नहरबाट पानी लगेको खण्डमा नदीमा पानीको सतह घट्ने भएपनि भारतले सबै ढोका खोलेको छ । तथापि भारतले भारततर्फको भन्दा नेपालतर्फको ढोका बढी खोलेको स्थानीयले बताएका छन् ।

गण्डक व्यारेजको ‘बी’ ग्यापको १३ नम्बर ठोकर गण्डक ब्यारेजको ढोका भन्दा तल पर्दछ ।

सात जना कारवाहीमा

गण्डक व्यारेजको ३३ नम्बर ढोका तीन दिन अघि आएको बाढीले बगाएपछि भारतले उक्त क्षेत्रका ७ जना कर्मचारीलाई निलम्बन गरेको छ ।

भारत सरकारले कर्मचारीको लापरवाहीका कारण ढोका बाढीले बगाएको भन्दै ७ जनालाई निलम्बन गरेको हो ।

स्थानीयमा त्रास

गण्डक व्यारेजमा पानीको सतह बढेसँगै स्थानीयमा त्रास छाएको छ । नदी छेउँछाउँका बासिन्दाहरु घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

तत्काल हुन सक्ने खतरालाई ध्यानमा राखेर प्रहरी, सेना र सशस्त्र परिचालन गरिएको छ । अहिले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।

तीन-चार दिन अघिको पानीले क्षति पुर्‍याएको गण्डक ब्यारेजको १३ नम्बर ठोकरमा अहिले जाली भर्ने काम भइरहेको छ ।

‘बी’ ग्यापको १३ नम्बर ठोकरमा भत्कन सक्ने खतरा भएपछि सिचाईंका भारतीय कर्मचारी, नेपाली सुरक्षाकर्मी र स्थानीय बासिन्दाले तारजालीमा ढुंगा भर्ने, बोरामा गिट्टी भर्ने काम गरिरहेका छन् ।

गण्डक क्षेत्रको ठोकर भत्किएमा नवलपरासीका नर्सही, ठूलो खैरटहवा लगायतका एक दर्जन गाविस डुबानमा पर्ने छन् ।

गैंडाकोटमा नारायणी टोल डुबानमा

नारायणी नदीमा आएको बाढी गाउँ पस्न थालेको छ । नवलपरासीको गैंडाकोट नगरपालिकाको वडा नम्बर २ नारायणी टोलमा पानी पसेको हो । सो क्षेत्रमा नारायणी टोलका सुकुम्बासी बस्ती पुरै डुबानमा परेको छ । उक्त गाउँमा करिब एक सय ५० घर रहेका छन् ।

नवलपुर क्षेत्रमा पनि उच्च सतर्कता

नारायणी नदीमा आएको बाढी गाउँ पस्न थालेपछि नवलपरासीको नवलपुर क्षेत्रमा पनि सतर्कता अपनाइएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले नवलपुर क्षेत्रको रजहर, कोल्हुवा, पिठौली लगायतका क्षेत्रमा सतर्क रहन स्थानीयलाई सचेत गराइएको र उक्त क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment