Comments Add Comment

मध्य बर्षामा पनि दैनिक ९ घण्टा लोडसेडिङ !

loadshedding-1१३ साउन, काठमाडौं । हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगेका सर्वसाधारणलाई कम्तिमा वर्षायाममा त विद्युत कटौती नभइदिए हुन्थ्यो भन्ने लागेको छ । तर, मध्य वर्षामा पनि दैनिक ९ घण्टा लोडसेडिङ कायमै छ ।

गतवर्ष वर्षाको समयमा दैनिक ४ घण्टासम्म लोडसेडिङ थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेपछि वर्षायाममा त विद्युत कटौती नहोस् भन्ने चाहनु स्वभाविक हुन्छ । तर वर्षा लागेपछि विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छैन र लोडसेडिङ पनि घटेन ।

किन घटेन लोडसेडिङ ?

अहिले मध्य वर्षाको समयमा नदीहरुमा पानीको सतह बढेसँगै आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । विद्युत प्राधिकरण अहिले यसैका कारण लोडसेडिङ घटाउने अवस्था नहरेको बताउँछ ।

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक मुकेशराज काफ्ले अहिले अघोषित रुपमा ५ घण्टा मात्रै विद्युत कटौति भइरहेको दाबी गर्छन् ।

उनले यो वर्ष लोड सेडिङलाई दैनिक २ घण्टासम्म झार्ने लक्ष्य लिइएपनि विभिन्न कारण बषर्ामा पनि घटाउन नसकिएको बताए । ‘माथिल्लो भोटेकोशी आयोजना वर्षा अगाडि नै पूनर्निर्माण गरिसक्ने लक्ष्य थियो । तर, विभिन्न कारण लक्ष्य अनुरुप काम भएन’ काफ्लेले अनलाइनखबरसँग भने, ‘झण्डै ५० मेगावाट प्रशारण लाइनमा थप्न नसक्दा लोडसेडिङ घटाउन सकिएन ।’

भूकम्पले क्षतिग्रस्त भएपछि यो आयोजना अझै सञ्चालनमा आउन सकेको छैन । यस्तै अहिले कालीगण्डकी आयोजनाको एउटा युनिट अहिले मर्मत भइहरे्को छ । यसैकारण ५० मेगावाट बिजुली पनि प्रशारणलाइनमा जोड्न सकिएको छैन ।
यही कारण पूर्वयोजनाअनुरुप लोडसेडिङ कटौतिलाई कम गर्न नसकिएको कार्यकारी निर्देशक काफ्लेले बताए ।

कुलेखानी अहिल्यै नचलाउने

९० मेगावाट बराबरको कुलेखानी आयोजना चलाउने हो भने प्राधिकरणले अहिले लोडसेडिङ दैनिक २ घण्टामा झार्न सक्छ ।
तर, पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको ताल अझै भरिएको छैन । त्यसैकारण प्राधिकरणले त्यसलाई तत्काल नलचाउने निर्णय गरेको छ ।

‘कुलेखानी हिउँदमा बिजुली निकाल्ने भरपर्दो आयोजना हो । त्यसैले अहिले त्यहाँको पानी खपत गर्न सकिँदैन’ काफ्लेले भने, ‘केही दिनमा कालीगण्डकी आयोजनाको मर्मत सकियो भने नयाँ तालिका आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment