+
+

युएईको राष्ट्रिय सेनामा नेपाली, सरकार बेखबर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २२ गते ९:१७

nepal-army-nepali-sena

२२ साउन, काठमाडौं । नेपालभित्र विदेशी सुरक्षाफौजमा नेपाली प्रयोग हुन नहुने र गोर्खा भर्तीसमेत बन्द गरिनुपर्ने बहस चलिरहेका बेला युएईले भने आफ्नो सुरक्षाफौजमा नेपालीलाई भर्ना लिइरहेको छ। तर, यसप्रति नेपाल सरकार बेखबर रहेको नागरिक दैनिकमा समाचार छ । परराष्ट्र मन्त्रालयका अनुसार युएईले अहिलेसम्म नेपाललाई औपचारिक रूपमा जानकारी गराएको छैन। वैदेशिक रोजगार विभाग पनि यस विषयमा बेखबर छ।

‘युएईको सेना र प्रहरीमा नेपालीहरू सिधै भर्ती हुन गएको हामीलाई थाहा छैन। केही म्यानपावर एजेन्सीले सुरक्षा गार्डमा पठाउँछन् तर सिधै सेना र प्रहरीमा पठाउन मिल्दैन,’ वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले भने।

युएईलगायत खाडी राष्ट्रमा रोजगारीमा जानेले विभागबाट श्रमस्वीकृति लिएपछि मात्र जान पाउने व्यवस्था छ। विभागले हालसम्म सिधै युएई सेना तथा प्रहरीमा रोजगारीका लागि एक जनालाई पनि स्वीकृति प्रदान गरेको छैन। तर, युएईको प्रहरी, जलसेना र स्थलसेनामा ठूलो संख्यामा नेपाली कार्यरत छन्। उनीहरू कसरी भर्ती भए, विभागलाई जानकारी छैन।

स्रोतका अनुसार युएई सेनामा ८ सय र प्रहरीमा ५ हजारभन्दा बढी नेपाली भर्ती भइसकेका छन्। दुईवर्षे करारमा राखिने उनीहरूलाई पुनः नवीकरण गर्ने गरिएको छ।

हुँदाखाँदाको जागिर छोडेर युएई प्रहरी र सेनामा भर्ती हुन नेपालीलाई केले आकर्षित गरेको छ त ? ‘मुख्य आकर्षण भनेको सेवासुविधा हो। मासिक झन्डै दुई लाख रुपैयाँ तलब हुन्छ। बस्ने–खाने पैसा तिर्नु पर्दैन,’ सेनाको जागिर छाडी दुई वर्षअघि युएई सेनामा भर्ती भएका एक नेपालीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हप्तामा जम्मा ३ दिन ड्युटी गरे पुग्छ। बाँकी दिन बिदा पाइन्छ।’

युएईले विदेशीलाई सुरक्षाफौजमा भर्ती गर्ने निर्णय सन् २००३ मा गरेको थियो जुन सन् २००५ बाट कार्यान्वयनमा आएको थियो। ‘नेपालीहरू युएई सुरक्षाफौजमा सन् २००६ बाट सहभागी भएको देखिन्छ,’ युएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले भने, ‘नेपालको जागिर छोडेर आउने बढी छन्।’

भारत, बेलायत र सिंगापुरपछि नेपाली नागरिकलाई आफ्नो सुरक्षाफौजमा भर्ती गर्नेमा पछिल्लोचोटि युएई थपिएको हो। भारतीय र बेलायती सेनामा नेपालीको भर्तीलाई लिएर नेपालभित्र ठूलो विवाद हुँदै आए पनि युएई भर्तीका विषयमा भने नेपाल सरकार र राजनीतिक दल बेखबर छन्। हाल बेलायती सेनामा ६ हजार, सिंगापुर प्रहरीमा करिब ४ सय, भारतीय सेनामा करिब ४० हजार र युएई सेना तथा प्रहरीमा करिब ५ हजार ७ सय ५० गरी झन्डै ५२ हजार नेपाली विदेशी सुरक्षाफौजमा कार्यरत छन्।

‘यहाँ सेना–प्रहरीमा भर्ना हुनेले मासिक ५ देखि ६ हजार युएई दिराम तलब पाउने रहेछन्। यो भनेको १ लाख ४५ हजारदेखि १ लाख ७४ हजार रुपैयाँ हो। बस्ने–खाने राम्रो सुविधा, हप्तामा केही दिन मात्र काम गर्नुपर्ने भएकाले नेपाली जागिर छोडेर यहाँ आएको देखिन्छ,’ टन्डनले भने।

उनका अनुसार नेपालमा प्रहरी र सैनिक सेवाबाट अवकाश लिएका व्यक्तिलाई युएईको सेना तथा प्रहरीमा भर्ती गर्ने एजेन्सीले प्राथमिकता दिने गरेका छन्। केही थप तालिम मात्र दिए पुग्ने भएकाले अवकाशप्राप्तलाई प्राथमिकतामा राखिएको हो।

युएई सेनामा भर्ती भएकाहरू समस्या लिएर त्यहाँस्थित नेपाली दूतावास आउन थालेका छन्। केहीको दुई वर्षपछि करारपत्र नवीकरण नभएकाले उनीहरू गुहार माग्न दूतावास पुगेका हुन्। ‘अहिले युएई सेनामा कार्यरत २२ नेपालीको करारपत्र नवीकरण नभएपछि उहाँहरूमध्ये केही नवीकरणका लागि पहल गरिदिनुपर्‍यो भन्दै दूतावास आउनुभएको थियो,’ टन्डनले भने। पछिल्ला दिन युएईले सेनामा नेपालीको संख्या घटाउँदै लगेको उनले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?