Comments Add Comment

प्रचण्डले पत्रकारहरुलाई भने- राष्ट्रिय एकता निर्माणमा भूमिका खेलिदिनुस्

FNJ-PM-Meet
२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई समृद्ध बनाउन आफू क्रियाशील रहेको बताएका छन् । उनले राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्न पत्रकारहरुलाई आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघको टोलीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले भने, ‘मुलुकको प्रमुख मुद्दा र समस्या समाधान गर्न दलहरुबीच राष्ट्रिय एकता आवश्यक छ । पत्रकारहरुले पनि दलहरुको समझदारी निर्माणमा भूमिका खेलिदिनु पर्‍यो ।’

राष्ट्रिय एकता र संविधान कार्यान्वयन गर्नका लागि आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै प्रचण्डले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउने दिशामा आफू क्रियाशील रहेको बताए ।

संविधान कार्यान्वयनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको प्रचण्डले बताए ।

शान्ति प्रक्रिया पनि टुंगोमा पुग्ने चरणमा रहेको भन्दै उनले कस्ता घटनामा मेलमिलापको नीति अलवम्बन गर्ने र कस्ता घटनामा मुद्दा चलाउने भन्नेबारे छलफल जारी रहेको जानकारी दिए ।

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुको न्युनतम पारश्रमिक लागू गर्न र नयाँ सन्चार नीति कार्यान्वयनका लागि ऐन, नियम तथा संरचना बनाइदिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आफू पत्रकारहरुको मागमा सकारात्मक भएको बताए ।

मंगलबार नै मिडिया सोसाइटीका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकारले हालै निर्धारण गरेको न्युनतम पारिश्रमिक लागू गर्न अप्ठेरो परेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment