Comments Add Comment

विमानस्थल भन्सारबाटै पास भएर भित्रियो तीन किलो कोकिन

२७ साउन, काठमाडौं ।  महँगो लागुऔषध कोकिन नेपाल ट्रान्जिट बनाएर तस्करी हुँदै आएको छ । चार वर्षयता कोकिन तस्करीको क्रम बढेको छ ।

Kokinबोलिभियाबाट तीन केजी ५४ ग्राम कोकिन लिएर आएकी बोलिभियन महिला रोज्जी गुड्डी टोलेडो भ्यालेजोस र कोकिन लिन आएकी थाई महिला वारान्या क्युपिकुल पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार बरामद कोकिनको मूल्य ६ करोड १० लाख ८० हजार रुपैयाँबराबरको रहेको प्रहरीले जनाएको छ ।

बोलिभियन महिलाले भ्यालेजोसले कोकिन अघिल्लो बुधबार नेपालमा सजिलै भित्राएकी थिइन् । सोही कोकिन मंगलबार मलेसिया हुँदै थाइल्यान्ड लैजान खोज्दा थाइ महिला क्युपिकुल प्रहरीको फन्दामा परेकी हुन् । विदेशबाट आउँदा पक्राउ नपर्ने र नेपालबाट अर्काे देश लैजान खोज्दा लागुऔषध बरामद हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आगमनमा यात्रु र उनीहरूको सामानमाथि प्रहरीले चेकजाँच गर्न नपाउने भएकाले यस्तो समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपालको भन्सार ऐनले भन्सार क्षेत्रमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार दिएको छैन । शंका लागेको खण्डमा मात्र प्रहरीले लगेज र यात्रुमाथि चेकजाँच गर्न पाउँछ ।

तर, प्रहरीले आगमनमा भन्सार अधिकारीसँग बसेर चेकजाँच गर्न पाउनुपर्ने माग राख्दै आएको छ । ‘प्रहरीले आगमनमा पनि चेकजाँचको माग गर्दैै आएको छ,’ विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचन भन्छन्, ‘यो नीतिगत विषय हो, माथिबाट नै निर्णय हुुनुपर्छ ।’ प्रहरीको बारम्बारको आग्रहपछि भन्सार विभाग, भन्सार कार्यालय र प्रहरीबीच छलफलको तयारी भइरहेको गौचनले बताए । कहिलेकाँही एकैपटक हजारभन्दा धेरै यात्रु आउने र सबैको चेकजाँच गर्दा घन्टौँ लाग्न सक्ने र जाम हुने उनी बताउँछन् ।

विदेशमा प्रविधिको सहयोगमा यात्रुहरूको ‘स्क्रिनिङ’ हुने, तर नेपालमा प्रविधि नहुँदा समस्या आएको हो । विश्वभरिकै विमानस्थलमा प्रस्थानको तुलनामा आगमनमा सुरक्षा चेकजाँच सामान्य हुन्छ । अन्य देशबाट चेकजाँच भएर आउने भएकाले आगमनमा यात्रुमाथि कडाइ गरिँदैन । तर, सामान्य स्क्रिनिङसमेत नहुँदा सुरक्षा चुनौती बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment