Comments Add Comment

नेविसंघमा रामचन्द्र समूहको अवरोधः हार्ने डर कि गुटभित्रै विवाद ?

बन्दसत्र किन रोकियो ? पढ्नुहोस् नालीबेली

३० साउन, काठमाडौं । रामचन्द्र पौडेल समूहले निर्वाचन प्रक्रिया अघि नबढाउन चेतावनी दिएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि अनिश्चित भएको छ ।

Nebisanghअधिवेशन उद्घाटन भएको छैटौं दिनमा सार्वजनिक भएको प्रतिनिधिहरुको सूचीलाई लिएर फेरि विवाद भएको हो । कांग्रेसको रामचन्द्र पौडेल समूहले फर्जी प्रतिनिधि समावेश भएको भन्दै विरोध जनाएको छ ।

शेरबहादुर देउवा र गगन थापा/प्रदीप पौडेल समूहले भने पौडेल समूहको तर्क हास्यास्पद भएको बताएको छ । पौडेल समूहको विरोधपछि अब के गर्ने भन्नेबारे उनीहरु छलफलमा जुटेका छन् ।

कसरी थपिए प्रतिनिधि ?

कांग्र्रेसको अघिल्लो कार्यसमितिले बनाएको प्रकाशमान सिंह नेतृत्वको निर्देशक समितिले ६४ जिल्लामा २०८४ जना प्रतिनिधि तय गरेको थियो । यसलाई गगन थापा-प्रदिप पौडेल समूहबाट अध्यक्षको उम्मेदवार रहेका कुन्दन काफ्लेले विरोध गर्दै आएका थिए । यसवीचमा पटक-पटक मिति तोके पनि अधिवेशन हुन सकेन ।

कांग्रेसको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति भएपछि प्रकाशशरण महतको नेतृत्वमा निर्देशक समिति बन्यो । तर, प्रतिनिधि विवाद टुंगो लागेन । अध्यक्ष रञ्जित कर्ण र देउवा पक्षका ऋषिकेश साहले आपसी भागवण्डामा प्रतिनिधि थपेर झण्डै ३ हजार पुर्‍याइसकेको एक पक्षको आरोप छ । यही विषयलाई लिएर काफ्ले समूह कांग्रेस कार्यालय सानेपामा आमरण अनसन बसेको थियो । यही विवादकै वीच २३ गते नेविसंघको महाधिवेशन उद्घाटन भयो ।

तर, अहिलेसम्म बन्द सत्र सुरु हुन सकेको छैन ।

सहमति बन्ने र भत्कने क्रम चलिरहृयो र अन्ततः निर्देशक समितिले मंगलबार राति ३४६० प्रतिनिधिको टुंगो लगायो । यसमा अनसनकारीको तर्फबाट २१५ र महेन्द्र शर्माका तर्फबाट ११० जना थपिएका थिए ।

तर, यो सहमति पनि लागू भएन । र, शनिबार प्रतिनिधिको सूची आउँदा यसको संख्या ३७६० पुग्यो । नेताहरुका अनुसार निर्देशक समितिले तय गरेको नाममा रामचन्द्र पौडेल समूहनिकटका नेवि संघका वर्तमान अध्यक्ष रञ्जित कर्णले १७९ प्रतिनिधि थपेका थिए । पाँच प्रतिशत मनोनितका नाममा ७४ जना थपियो, जसमा कुन्दन समूहले विरोध गरेपछि उनीहरुलाई १५ प्रतिनिधि दिइयो ।

प्रतिनिधिको सूची प्रकाशित गर्ने बेलामा फेरि थपथाप पारेर ३७६० को नाम प्रकाशित भएको छ । तर, यो पनि सर्वस्वीकार्य हुन सकेन ।

किन विरोध गर्‍यो पौडेल समूहले ?

नेताहरुका अनुसार महाधिवेशन सुरु गर्ने बेलासम्म पौडेल समूहले साझा उम्मेदवार बनाउँदा जित्ने अवस्था थियो । तर, अहिले जोडघटाउ धेरै नै बिगि्रएको छ ।

अनसनकारीलाई सम्बोधन गर्ने प्रयासमा केही प्रतिनिधि थपिएका छन् । तर, नेवि संघका अध्यक्ष कर्णले पटक-पटक गरेर आफ्ना पक्षका धेरैको नाम घुसाएका छन् । तैपनि अहिले पौडेल समूहले नै विरोध गर्नु महाधिवेशन नगर्ने योजना भएको अरुको आरोप छ ।

यसका पछाडि दुई कारण देखिएका छन् ।

पहिलोः हार्ने डर । नेविसंघको अध्यक्षका लागि अहिले १५ भन्दा बढी दाबेदार थिए र अझै पनि छन् । तर, नेतृत्व तहमा सहमति भएपछि शेरबहादुर देउवा र कृष्ण सिटौला-गगन थापा समूह एकै ठाउँमा आइपुगेका छन् । यसले प्रतिनिधिमा गरिएको थपघटका बाबुजत यो समूह निकै बलियो भएको छ र उनीहरु संयुक्त रुपमा चुनाव लड्ने तयारीमा छन् ।

र, दोस्रोः देउवा र कृष्ण सिटौला एक ठाउँदा उभिँदा पौडेल समूहमा भने भाँडभैलो भएको छ । यो समूहका नेता पौडेल मनोजमणि आचार्यलाई उम्मेदवार बनाउन चाहन्छन् । र, उनी यसमा कुनै कम्प्रोमाइज गर्ने पक्षमा देखिएका छैनन् ।

तर, अनन्दप्रसाद त्रिपाठी पनि अध्यक्षका दाबेदार हुन् । अहिले उनलाई शेखर कोइरालाको साथ छ । स्रोतहरुका अनुसार कोइरालाले त्रिपाठीलाई कुनै हालतमा पछि नहट्न भनेका छन् ।

र, यो समूहको ३ सय बढी मत रहेको मानिन्छ । यदि त्रिपाठीले उम्मेदवारी दिएमा आचार्यलाई ठूलो धक्का लाग्नेछ । र, यसको प्रत्यक्ष फाइदा अर्को समूहलाई जानेछ ।

नेविसंघका एक पूर्व अध्यक्ष भन्छन्, ‘कांग्रेस र नेविसंघको नेता भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो, आफ्नो जित नहुने देखेर अधिवेशन नै नगराउने खेल भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment