१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने र काठमाडौंबाट बाहिरिने ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा यात्रुसँग असुल्ने गरेको पाइएको छ । सरकारले खटाएको विशेष अनुगमन टोलीले एक दिन गरेको अनुगमनमा ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा लिएको भेटिएको हो ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिने गाडीहरुले यात्रुसँग दोब्बरभन्दा बढी भाडा असुल्ने क्रम तीव्र भएको छ ।
मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको अनुगमनमा छड्केमा परेका २१ सवारीमध्ये १७ वटाले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुलेको भेटिएको हो । बढी भाडा लिने सवारीबाट बढी असुलिएको भाडा तुरुन्तै फिर्ता गराइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
‘४ वटा सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको छ,’ श्रेष्ठले भने, ‘यात्रुले तोकिएको भाडा तिरेर चढेको थोरैमात्रै भेटियो । अधिकांश सवारीले उच्चदरमा भाडा असुलेका छन् ।’
दैनिक ८० देखि ९० लाख ठगी
गएको माघ २४ गतेदेखि सरकारले नयाँ भाडादर लागु गरेको थियो । सरकारले उपत्यका भित्र न्युनतम भाडादर १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ तोकेको छ । तर सबै जसो गाडीले खुद्रा पैसा नभएको बहानामा १३ रुपैयाँ भाडा लाग्ने रुटमा १५ रुपैयाँ लिन्छन् ।
यसरी तोकिएको भाडा दर कार्यान्वयन नहुँदा उपत्यकामा दिनहुँ झण्डै ८० देखि ९० लाख रुपैयाँका दरले गाडीले ठगी गरिरहेको अनुमान गरिन्छ ।
१५ रुपैयाँ तिर्न बानि परिसकेका यात्रुहरुले दुई रुपैयाँ फिर्ता पनि माग्न छाडिसकेका छन् । यात्रुले पनि नमाग्ने र सवारीमा सहचालकले पनि फिर्ता नगर्ने परिपाटीले ठगीको दर उच्च छ । यात्रुले पनि खुद्रा पैसा नबोक्ने प्रवृत्तिले ठगीलाई प्रोत्साहन गरेको छ ।
यस्तै उपत्यकामा चल्ने भाडाका ट्याक्सीले मिटरमा चल्न नमान्ने प्रवृत्ति बढ्दो छ । आफूले मागेजति भाडा नदिएसम्म यात्रु हाल्नै नमान्ने ट्याक्सीलाई कारवाही गर्न सरकारले प्रभावकारी कदम चालेको छैन । गाडी भाडा लागू भए/नभएको अनुगमन गर्ने यायायात व्यवस्था विभाग भने यो सबै थाहा पाएर पनि हात बाँधेर बसेको गुनासो पीडित यात्रुहरुको छ ।
प्रतिक्रिया 4