२ भदौ, काठमाडौं । देशकै ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारलाई व्यवस्थित गर्न सुरु गरिएको छ । गत महिना आपूर्ति मन्त्रालयको अनुगमनमा बजार अव्यवस्थित र फोहोर भेटिएपछि धेरै आलोचना भएको थियो ।
तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले तत्कात बजारलाई सफाइ गरेर व्यवस्थित गर्न निर्देशन दिएका थिए । त्यसैअनुसार कालिमाटी तरकारी बजारलाई नयाँ रुप दिन काम थालिएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
यही योजनाअनुसार पहिलो चरणमा बजारमा सडकदेखि विभिन्न स्थानमा रहेका अनाधिकृत रुपमा बनाइएका टहरा हटाएको छ । झण्डै ७० भन्दा बढी अनाधिकृत व्यवसायीलाई बजारबाट हटाइएको समितिले जनाएको छ ।
व्यवस्थापनका लागि बजारभित्र सिसिटिभी क्यामेरा जडानको काम तयारी पनि गरिएको समितिका सदस्य भगवानचन्द्र उप्रेतिले जानकारी दिए ।
बजारमा विश्व बैंक अन्तरगत कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा ब्यापार आयोजना -प्याक्ट) ले ले ३९ वटा क्यामेरा जोड्नेछ । बजारभित्र अपुग हुने झण्डै १५ वटा सिसी क्यामेरा समिति आफैँले जडान गर्ने भएको छ ।
‘एक महिनाभित्र बजारमा सबै सिसी क्यामेरा जोडिसक्ने योजना छ,’ सदस्य उप्रेतिले भने,’बजारलाई व्यवस्थित गर्न थप कामहरु पनि गरिनेछ ।’
सिसी क्यामेरा जडानपछि बजारमा हुने अनाधिकृत काम र चोरी लगायतका समस्या हट्ने विश्वास गरिएको छ । बजारको व्यवस्थापनको अवस्था नियाल्न र बजारभित्र हुने सबै गतिविधिको भिडियो रेकर्ड सिसी क्यामेरामा सुरक्षित गरिनेछ । बजारभित्र सोलार पनि जडान गर्ने तयारी छ ।
बजारभित्रको फोहोर व्यवस्थापनका लागि नयाँ डम्पिङ साइट बनाउने योजना पनि अघि सारिएको छ । यसैगरी बजारमा प्रवेश गर्ने मार्गलाई ढलान गर्ने, शौचालय बनाउने लगायत पूर्वाधार विकासको काम पनि अघि बढाइएको समितिले जानकारी दिएको छ ।
२०६८ सालमा बजार क्षेत्रमा आगलागी भएपछि बजार व्यवस्थित गर्न थालिएको काम अझै पुरा भएको छैन । यी सबै काम सकिएपछि बजारले नयाँ स्वरुप पाउने सदस्य उप्रेतिले बताए । यसवर्ष बजारभित्रको पूर्वाधार विकासको सबै काम सक्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया 4