+
+

मानवता हराउँदा कोही झुण्डिए, कोही भेरीमा हामफाले

विपत्तिबाट बाँचेकाहरु चरम अमानवीयताको शिकार

मात्रिका पौडेल मात्रिका पौडेल
२०७३ भदौ ३ गते १७:१५

Shyam-maharjan-and-ritu

३ भदौ, काठमाडौं । आज विश्व मानवता दिवस । नेपालमा विपतको कहर सम्बन्धी कथा- व्यथा सुरु गरौं यी केही कहालीलाग्दा प्रशंगबाट-कोही झुण्डिए, कोही भेरीमा हाम्फाले

सुर्खेतका बलबहादुर थापाले दर्दनाक कथा सुनाए, जुन कथा सुन्दा हाम्रो समाजमा मानवीयता कहाँ पुग्यो भन्ने प्रष्ट हुन्छ ।

भेरी नदी बहुलाउँदा ०७१ सालमा धेरैले घरबास र आफन्त गुमाए । बाढीपीडितहरुलाई गिरिजापुरको जंगलमा अस्थायी क्याम्प बनाएर राखियो । दुई चार महिनासम्म राहत पुग्यो । तर, बिस्तारै राज्य र गैरसरकारी संस्था सबैको प्राथमिकताबाट उनीहरु टाढिए ।

अनि हुनु के थियो त ? कहीँ कतैबाट खाने कुरा नआउँदा र काम समेत नपाउँदा २१ वर्षीय युवा जीवन गन्द्रमाले बाध्यकारी बाटो रोजे-आत्महत्या । गरीखाने खेतबारी सबै भेरीले बगाइसकेको अवस्थामा उनले जुन ठाउँमा आफ्नो घर बगाएको थियो, त्यही ठाउँमा पुगेर रुखमा झुण्डिएर मृत्युवरण गरे ।

गन्द्रमाकै बाटो पछ्याए अर्का बृद्ध तुलबहादुर नेपालीले पनि । उनका छोराबुहारी र नातिलाई भेरीले बगाइसकेको थियो । उनी पनि त्यही गिरिजापुर क्याम्पमा रोगी पत्नीसँगै बसिरहेका थिए । एक वर्षसम्म त अलिअलि राहत आउँदै थियो । तर, बाढीले सिरिखुरी सबै सिध्याएको एक वर्षसम्म अर्थात ०७२ सम्म पनि सरकारले पुनस्र्थापना वा गरीखाने बाटो केही नदेखाएपछि तुलबहादुर दम्पती भोकभोकै भौंतारिन थाले ।

वृद्धा एवं रोगी पत्नीको दुर्दशा देख्न नसकेर तुलबहादुर पनि छोराबुहारी र नातिलाई बगाउने त्यही भेरी नदीमा हाम्फालेर अनन्तको यात्रामा हेलिए ।

टाढा किन जानु ? खोकनामै हेरौं

बैशाख १२ को विनाशकारी भूकम्पमा ९ जनाको ज्यान गएको ललितपुरको प्राचीन बस्ति खोकनामा भुकम्पपछिको करीव १५ महिनाका बीचमा थप २२ जनाको ज्यान गइसकेको छ । त्यो कालगतिले होइन, सुरक्षित आवास नहुँदा निमोनिया जस्ता रोगका कारण ।

अवसरमा शुक्रबार ललितपुरको होटल हिमालयमा आयोजित एक कार्यक्रममा खोकनाका युवाले यो विवरण सुनाइरहँदा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीदेखि विभिन्न पार्टीका सांसद सुनिरहेका थिए ।

टहरा र छाप्रामा बसेका सुत्केरी, नाबालक शिशु र वृद्धवृद्धालाई निमोनियालगायतका रोगबाट बचाउन नसकेको उनले सुनाइरहँदा भूकम्प पीडितका बस्तिमा मानवीयताको अवस्था के छ भन्ने प्रष्ट हुन्थ्यो ।

कोशीको कहर, अझै बाँच्ने रहर

नेपालमा एक/दुई वर्षबीचमा भूकम्प पहिरो लगायतका निकै ठूला मानवीय संकटहरु आए । अझ ८ वर्षअघि कोशीको बाढीले विस्थापित भएका सुनसरीका बासिन्दाले अहिलेसम्म बास बस्ने जमीन र खाने गासका लागि बालुवाले पुरेको आफ्नै खेत बिराउन पाएका छैनन् ।
सुनसरीका प्रकाश कुसियतले शुक्रबार राजधानीको हिमालय होटलमा आयोजित कार्यक्रममा आफ्नो पीडाको कहर सुनाउँदा नेपालमा मानवीयता मर्दै गएको प्रष्ट हुन्थ्यो ।

कोशीको कहर भोग्नेहरु अझै बाँच्न चाहान्छन् आफ्नै भूमिमा, तर सरकारले त हेरेन, उल्टै पारिबाट आउने हात्तीले लखेट्छ बेला बेलामा ।

जुरेका जिउँदाहरु

के यी माथिका घटनाले नेपाली समाजमा मानवीय संकटको वर्णन गर्दैनन् र ? यदि यी घटनामात्र पर्याप्त नलागे धेरै टाढा जानु पर्दैन । सिन्धुपाल्चोकको जुरे पहिरोका पीडितलाई भेट्ने हो भने हाम्रो मानवीयता मूर्छा परेको प्रष्ट हुन्छ ।

जुरेका रोहित पराजुली र रितु श्रेष्ठले दुई वर्षअघि १४५ जनाको ज्यान लिएको विनाशकारी पहिरो र सुनकोशी थुनिएर थातथलो गुमाएका सयौं पीडितहरुको अवस्था सुनाए । जसको सार थियो-विपत्तिको केही समयसम्म सरकार र दाताहरुले हेर्छन्, त्यसपछि मरे- बाँचेको कसैलाई चासो छैन ।

मरेको मानवीयताको विम्व

Humanitarian-day

सुर्खेतका बलवहादुर थापा, खोकनाका श्याम महर्जन, सिन्धुपाल्चोकका रुबी श्रेष्ठ र सुनसरीका प्रकाश कुसियतले केही मानवीय संकटका घटना, वास्तविक अवस्था र सरकारी तथा गैरसरकारी निकायहरुको प्रवृत्तिको विम्व बोलेका हुन् ।

संसारभर विश्व मानवीयता दिवस मनाइरहँदा नेपालमा मानवीय संकट कसरी गहिरिँदै छ भन्ने चित्रण गर्न हामी नामक संस्थाले यी पात्रहरुलाई एकै ठाउँमा खडा गरेको थियो । मानवीय जवाफदेहिता अनुगमन अभियान अर्थात हामीले पहल गरेको कार्यक्रम सम्भवतः सरकार आफैंले गर्नुपर्ने हो ।

मानवीय संकट र विपत्तिपछि राज्यले गर्नुपर्ने नागरिकप्रतिको दायित्व बुझाउन अझै नसकिएका कारण सरकारले यस्ता दिवसहरुमा अपनत्व नलिएको आयोजक मीनवहादुर शाहीले बताए । उनले भने-कोशीका बाढी पीडितदेखि भूकम्प पीडितसम्मका दर्दनाक यी कथाहरु मानवीयता हराउँदै गएका बिम्ब हुन् ।

बिर्सनेहरुको विरासत

नेपालमा यस्तो मानवीय संकट गहिरिनुको मुख्य कारण विपत्तिका बेला सबै भेला हुने र केही समय बितेपछि दीर्घकालीन समाधान नगरी बिर्सिने प्रवृति नै मुख्य कारक बनेको देखिन्छ ।

दार्चुलाका बाढीपहिरो पीडितलाई कुनै दीर्घकालीन व्यवस्था भएन । त्यसलगत्तै सुर्खेत र बर्दियामा बाढीले तहस-नहस बनायो । जंगलमा क्याम्प खडा गरेर राखिएका पीडितहरुलाई केही समयपछि न त राहत गयो, न पुनस्र्थापना नै भयो ।

यही नियति कोशीका पीडित र जुरेका पीडितले ब्यहोरे जस्तै अब भूकम्पपीडितको अवस्था त्यस्तो नहोस् भनेर आफूहरु दबाब अभियान शुरु गर्ने तयारीमा रहेको दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले बताए ।

‘दुःखका बेला दुई-चार दिन हेर्ने त्यसपछि पीडितको व्यवस्थापन गर्ने प्रवृत्तिले हाम्रो समाजमा मानवीय संकट गहिरियो’ गुरुङले भने ‘भूकम्पपीडितले १५ महिना गोठमा बिताइसकेका छन्, हामीले निरन्तर खबरदारी नगर्ने हो भने अरु १५ महिनामा पनि केही नहुन सक्छ ।’
वास्तवमा प्राकृतिक विपत्तिले ठूलो क्षति भएपछि तत्काल सरकार र अन्य संघ संस्थाहरु पनि राहतका लागि तँछाड-मछाड गर्छन् । तर, बिस्तारै ती पीडितहरुलाई सबैले बिर्सन्छन् ।

जबकि उनीहरुका लागि सबैभन्दा ठूलो कुरा पुनस्र्थापना हो । कसैले हेर्न छाडेपछि पीडितहरुको सामु सायद अन्तिम विकल्प कि विद्रोह कि आत्महत्या हुन पुग्छ । राहत र अस्थायी बसोबास भनेका तत्काल अत्यावश्यक मानवीय सहयोग हो । त्यो भन्दा ठूलो कुरा उनीहरुको पुनस्र्थापना हो, जुन काम नेपालमा भएकै छैन ।

मानवीयता मरेको राज्य !

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीले भने अन्य विपत्तिका पीडितहरुका जस्तो अवस्था भूकम्प पीडितको नहुने प्रतिवद्धता दोहोर्‍याएका छन् । उनले भने-सबै काम दु्रत गतिमा भइरहेको छ, दशैंभित्रमा सबै पीडितको खातामा पहिलो किस्ता रकम जान्छ, हिउँदमा जनताले घर बनाउँछन् ।

विपत्ति रोक्न वा टार्न सकिन्न, तर विपत्तिबाट जोगिने पूर्वसावधानीका बारेमा राज्य अहिलेसम्म आफैं अल्मलमा छ । ठूला-ठूला विपत्तिबाट मर्ने त मरिहाले, बाँच्नेहरुको जीवन जोगाउन राज्य संवेदनशील नदेखिनु अर्को विडम्नापूर्ण अवस्था हो ।

अनुत्तरित प्रश्न

कोशी र सुर्खेतका बाढी पीडितको पुनस्र्थापना आजसम्म किन हुन सकेन ? जुरे पहिरोका पीडितहरुको व्यवस्थापनमा कसले रोक्यो ? चार वर्षअघिको दार्चुला विध्वंसका पीडितलाई बिर्सने राज्यले हालैको प्युठान पहिरोबाट पीडित भएका सयौं पीडितलाई कहिलेसम्म सम्भिmन्छ ?

सप्तरीका बाढी पीडित हुन् वा सुनसरीका, तराई होस वा हिमाल अथवा पहाड सबैतिरका विपत्ति पीडित जनताको प्रश्न एउटै छ । जिल्ला दैवी प्रकोप कोषमा करोडौं रकम छ । तर, पीडित किन भोकभोकै ? विपत्तिको केही महिना बितेपछि किन कोही फर्के पुग्नै उनीहरुको पीडा हेर्न ?

यी प्रश्नको जवाफ एउटा लोककल्याणकारी राज्यले नागरिकलाई दिनुपर्दैन ? विश्व मानवीयता दिवसको सन्दर्भमा सरकारतिर सोझिएको यो प्रश्न सधै अनुत्तरित रहन हुँदैन । किनकि राष्ट्रसंघीय मानवीय सहायता नियोगको एक तथ्यांक अनुसार विश्वका ६ करोड ५० लाख जनता गृहयुद्ध, प्राकृतिक प्रकोप,आन्तरिक तथा बाहृय द्वन्द्व जस्ता विपत्तिका कारण विस्थापित भएका छन् । तिनीहरुमाथि मानवीयता देखाउनु सबैको दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?