Comments Add Comment

खाद्य अनुगमनः टार्गेटमा उद्योग, वितरकलाई हाइसञ्चो

अहिले खाद्य मिसावटको अनुगमनमा सक्रियता देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु खाद्य अनुगमनमा लागिपरेका छन् । उपभोक्ताले विश्वासका साथ चर्को मूल्य तिर्दै आएका ब्राण्डेड सामाग्रीहरु पनि अखाद्य भेटिएका छन् ।

Suman-Raj-Pantaतर, खाद्य अनुगमन जति भइरहेका छन्, मिसावट राज त्यति नियन्त्रणमा आएको छैन । किन ? यसमा अनुगमन प्रणालीमै त्रुटि देखिएको छ ।

खासमा खाद्य अनुगमन भन्नेवित्तिकै उद्योग र तिनका उत्पादन बेच्ने पसलहरु मात्र नजरमा पर्छन् । उद्योगहरुमा अनुज्ञापत्र, नवीकरण, स्टिकर, उपभोग्य मिति आदि प्राथमिकता दिई हेरिन्छ । पसलहरुमा पनि दर्ता प्रमाणपत्र, बिल, बिजक आदि हेर्ने चलन धेरै छ । कतिपय अवस्थामा यो मापदण्ड गलत होइन । अनुगमनको एउटा पाटो यो पनि हो । तर, यो पर्याप्त होइन ।

अहिले यो देशमा खाद्य मिसावटको नाइके निकायमा अनुगमनकारीहरु पुग्नै सकेका छैनन् । सायद थाहा नपाएर हो वा अन्य भित्री साँठगाँठ ? वास्तवमा अनुगमनकारीहरु उद्योग र उत्पादन बिक्री गर्नेहरुलाई मात्र टार्गेट गर्छन् । तिनै उद्योगलाई अखाद्य केमिकल, प्रविधि आपूर्ति गर्ने बिक्रेताहरु खासै टार्गेटमा पर्दैनन् । मिसावटको मुहान तिनै हुन् । तर, मुहान सफाइ गर्ने ध्यान जान सकेको पाइँदैन ।

क्लिनिङ पाउडरको नाममा सेकरिन

अहिले अधिकांश खाद्य उद्योगमा चिनीको विकल्पमा सेकेरिन उपयोग हुन्छ । चिनीभन्दा निकै सस्तो, कम खपत हुने र कैयौं गुणा गुलियो हुने भएकोले सेकेरिनको खपत बढेको हो । गुणस्तर कायम गरिएको अवस्थामा सेकेरिन अखाद्य नहुने खाद्य प्राविधिकहरु नै बताउँछन् । तर, नेपालमा प्रयोग गरिने करिब सबैजसतो सेकेरिन गुणस्तर प्रमाणित विनाका छन् ।

खाद्य केमिकल कारोबारीहरु सेकेरिनलाई क्लिनिङ पाउडरको नाममा आयात गर्छन् । प्याकेटमा यसको गुणस्तर, म्याद, उत्पादनको ठेगाना केही उल्लेख नभएको सेकेरिन आयात गरिने हुँदा भन्सार र सिमानाका खाद्य प्राविधिक सहजै झुक्किरहेका छन् । अहिले सर्वाधिक प्रयोगमा आएको सेकेरिन मारुती ब्राण्डको हो ।

सेकेरिन त एउटा नमूना मात्र हो । कृत्रिम घिउ, क्रिम, दूध पाउडर, फ्लेबरहरु पनि छद्म नाममा आयात हुन्छन् । गुणस्तरहीन नौनी पगाल्ने र त्यसमा ‘देशी घी’ का फ्लेवर मिसाउने फर्मूला तिनै केमिकल वितरक सिकाउँछन् । सुकेका, कुहिएका आँप, कागतीको अचार बनाउने र त्यसमा कृत्रिम अमिलो र फ्लेवर मिसाउने फर्मूला पनि त्यहीं पाइन्छ । यस्ता संयौं जुक्तिका खानी छन् यो लाइनमा लाग्नेहरुका लागि ।

नक्कली बिल

नेपालमा सर्वाधिक कर छली हुने क्षेत्र खाद्य केमिकल पनि हो । महिनामै अर्बौको कारोबार हुने यो क्षेत्रमा भ्याट त के प्यान बिल समेत जारी हुँदैन । अधिकांशः बिक्रेताले उद्देश्य अर्को राखेर धन्दा गरिराखेका छन् । कथमकदाचित बिल दिइहाले पनि चलानी बिल, गेट पास दिन्छन् । जुन सामान खरिद गरियो त्यही नाम, परिमाण र मूल्यमा बिल दिने व्यवसायीलाई अभिनन्दन गरिदिए हुने अवस्था छ ।

काठमाण्डौको शान्तिनगर कार्यालय बताएका एकजना केमिकल वितरकले भने, ‘हाम्रोमा ओरिजनल कारोबार लेजर र कम्प्युटर इन्ट्रीमा मात्र हुन्छ ।’ जबकि उनले आफ्नो व्यवसाय भ्याटमा दर्ता गराएका छन् । कोटेश्वरस्थित एउटा खाद्य उद्योगमा भेटिएका उनले महिनामा दुई करोडसम्म कारोबार गर्ने गर्वसाथ सुनाउँदै कर कार्यालयमा सेटिङ मिलाएको बताए । उनको गोदाम स्टाफबाहेक कमैलाई थाहा छ रे ।

बिल नदिने उनीमात्र होइनन् । बल्खु, टेकु, असन, कालीमाटी जताततै छन् उनीजस्ता व्यवसायी । टेकुका एकजना खाद्य केमिकल आयातकर्ता महिनामा दुई ट्रकसम्म आयात गर्ने सुनाउँछन् । तर उनी स्वयं भने यो कारोबारमा दर्तासमेत भएका छैनन् । त्यही भएर उनी नगदमा मात्र कारोबार गर्छन् । एकाउन्ट पेयी चेक लिन इन्कार गर्छन् । लाखौंको सामान किने पनि उनले दिने भनेको सादा बिल मात्र हो । एलसी खोलेर पाउडर दूध, बटर, स्टार्च आदि आयात गर्नेहरु पनि सकेसम्म भ्याट बिल काट्दैनन् । काटे पनि न्यून मूल्यमा मात्र बिल जारी गर्छन् ।

जथाभावी मूल्य

कहीं दर्ता पनि हुनु नपर्ने, भए पनि बिल दिनु नपर्ने भएपछि खाद्य केमिकल कारोबारीहरुको मूल्य जथाभावी हुनु स्वाभाविक हो । एउटै सामानको मूल्य अर्कोसित तुलना गर्दा २५ प्रतिशतसम्म फरक पर्छ । गत महिना एकजना डेरी व्यवसायी पाउडर दूध किन्न कोटेश्वरस्थित एउटा केमिकल वितरककोमा पुगेका थिए । नजिक पर्ने भएकोले उनी त्यहींबाट काम चलाउने सोचमा थिए । तर, उनले २५ केजी बोराको फन्टेरा ब्राण्डको पाउडर दूध १२ हजार रुपैंयाँ हाल्नुपर्ने भयो । जबकि उनी कमलपोखरी, कालीमाटीतिरबाट ९ हजार ५ सय रुपैंयाँमा फन्टेरा ब्राण्डकै दूध पाउँथे । पछि बुझ्दै जाँदा त्यहाँबाट बिक्री हुने फ्लेबर, कलर, कोकोनट पाउडर सबैको मूल्य चर्को महसुस गरे ।

त्यसो त, आइसक्रिममा प्रयोग हुने सिन्का सरदर १५० रुपैयाँ प्रति केजीमा पाइन्छ । तर, टेकु, कालीमाटीतिरका केही पसलहरु २२० रुपैंयाँसम्म असुल्छन् । प्लाष्टिकको कभरदेखि मसला, बिरे नुनसम्ममा मनमौजी मूल्य लिने गरेको घरेलु उद्योगीहरुको गुनासो छ ।

मिसावट सिकाउने गुरु

खासमा उद्योगहरुले आफ्नै रेसिपी बनाउनु पर्ने हो । सम्भव भएसम्म आफ्नै खाद्य प्राविधिक नियुक्त गर्नुपर्ने हो । तर ठूला उद्योगीहरुले त चासो नदिएको अवस्थामा घरेलु उद्योगहरुले के गर्थे ?

मिसावटको खेल यहीँबाट सुरु हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनुज्ञापत्र लिने बेलामा वैज्ञानिक मापदण्डको रेसिपी पेश गर्छन् । व्यवसायिक उत्पादनको बेला सस्तो रेसिपी फलो गर्छन् ।

उनीहरुको रेसिपी गुरु यिनै केमिकल सप्लायर्स हुन् । खाद्य कलर, पि्रजर्भेटिभ, सेकेरिन, फ्लेवर सबैजसो मापदण्डभन्दा बढी हाल्छन् । कारण, सस्तो प्रयोग गनर्ेे भएकोले । खाद्य नियमले तोकेकोभन्दा पाँच गुणाभन्दा बढी कलर, पि्रजर्भेटिभ, सेकेरिन, फ्लेवर हालिएको खानेकुरा बजारमा छ्यापछ्याप्ती छन् । अहिले फूड प्वाइजिङका विरामी बढ्नुमा यिनै कारण बढी हुन् ।

एकजना दालमोठ उद्योगी भन्छन्, ‘हामीलाई कुन केमिकल कति हाल्ने थाहा हुँदैन, सप्लायर्सले जति हाल भन्छ त्यति नै हाल्छौं ।’ कतिपय अवस्थामा केमिकल सप्लायर्सहरु उद्योगीलाई जथाभावी केमिकल हाल्न दवाब पनि दिन्छन् । अभाव देखाएर, सस्तो सुनाएर गुणस्तरहीन केमिकल बच्ने गर्छन् ।

केही महिनाअघि काठमाण्डौमा दूध अभाव हुँदा स्किम मिल्कमा कोकोनट आयल, ट्रपलाइट आदि मिसाएर बेच्ने तरिका पनि प्रयोगमा आएको थियो । त्यसो त, कोटेश्वरका एकजना बेकरी व्यवसायीले कतिपय केकमा एनिमल फ्याटसमेत प्रयोग हुने गरेको सुनाए । सस्तो र मार्जिन धेरै भएकोले केमिकल सप्लायर्सहरु यस्ता वस्तु भिडाउन जोड गर्ने उनको अनुभव छ ।

आयुर्वेदिक औषधिमा समेत केमिकल

हामीलाई लाग्दो हो, आयुर्वेदिक औषधि शुद्ध वनस्पतिको जरा, धूलो र झोलबाट मात्र बन्छ भनेर । तर, अहिलेका व्यवसायिक आयुर्वेदिक औषधिहरुमा समेत कडा केमिकल प्रयोग हुन्छन् । सुविधानगरका केमिकल व्यवसायी आयुर्वेदिक औषधिमा सेकेरिन, साइटि्रक एसिड, लोकल कलर, फ्लेबर सबै प्रयोग हुने सुनाउँछन् । उनी अहिले पाँच वटा आयुर्वेदिक औषधि उद्योगहरुमा केमिकल आपूर्ति गर्छन् ।

त्यसो त सिन्थेटिक फूडमा मात्र मिसावटको खेल छैन । चामलदेखि फलफूल, तरकारीमा समेत चर्को मिसावट छ । मोटा धान खुर्केर मसिनो बनाउने अनि बास्मती चामलको फ्लेवर मिसाउने, अमिलो स्याउमा सेकेरिनको सुइ घोच्ने, चिचिला फर्सी, लौकामा हर्मोन प्रयोग गर्ने, हरियो साग, तरकारी, खरबुजाहरु विभिन्न एसिडमा चोबल्नेजस्ता धन्दा छन् यो बजारमा । अचेल प्रेसरमा कुकरमा सिठ्ठी लगाउँदा पनि साग नपाक्ने यस्तै मिसावटको एउटा कारण हो ।

कतिपय अवस्थामा यस्ता ‘ज्ञान’ उद्योगी र किसानले पनि लिइरहेका हुन्छन् । तर, उनीहरुले आफै पढेर वा प्राविधिक नियुक्त गरेर भन्दा पनि सुनेको भरमा यस्तो अखाद्य प्रविधि अपनाइरहेको बताउँछन् । आम उपभोक्तालाई मन्द विष खुवाउने र आफ्नो गोरखधन्दा चलाउने खास दोष केमिकल वितरकको हो । किनकी, यो देशमा ९० प्रतिशत प्रविधि हस्तान्तरणको माध्यम वितरक, एजेन्टहरु नै हुन् ।

खाद्य मिसावटका मुहानहरु यिनै हुन् । यी मुहान सफा नगरी खाद्य अनुगमनको खास नतिजा आउन सक्दैन । साना उद्योग, होटल र किराना पसल अनुगमन गरेर प्रतिवेदनको ठेलीले उपभोक्ता हक सुरक्षित हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment