Comments Add Comment

तथ्यांक भन्छ- भूकम्पपछि चेलीबेटी बेचविखन मौलायो

यौन व्यवसायमा लगाउनेदेखि मानव अंग तस्करीसम्ममा महिलाको प्रयोग

१४ भदौ, काठमाडौं । गत वर्षको भूकम्पपछि नेपालबाट चेलीबेटी बेचविखन हुने क्रम अझ बढेको पाइएको छ । भारतसहित तेस्रो मुलकमा चेलीबेटी बेचविखन हुने क्रम मौलाएको हो ।

Cheli-beti-Bechbikhanभूकम्पपछि खास गरी सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको तस्करी बढी हुने गरेको छ । महिला र बालबालिकालाई राम्रो रोजगारी र जीवनयापनको प्रलोभनमा पारी भारत, हङकङ, तिब्बत, दक्षिण कोरिया, दक्षिण अफ्रिका लगायत देशहरुमा पुर्‍याइने गरिएको छ ।

मृगौला, आँखाको नानी, बोनम्यारो, स्तन लगायत मानव अंगहरुको तस्करीका लागि समेत महिला तथा बालबालिका बेचिने गरेको भयावह अवस्था देखिएको छ ।

चेलीबेटी बेचविखनविरुद्धको राष्ट्रिय सञ्जाल, एनएनएजीटीले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सम्मेलन समापनका क्रममा एनएनएजीटीका अध्यक्ष भारती सिलवाल गिरीले पछिल्लो अवस्था भयावह भए पनि यकिन तथ्यांक नहुँदा बर्सेनि कति महिला र बालबालिकाको तस्करी हुने गरेको छ भन्ने खुल्न नसकेको बताइन् ।

तथ्यांक अनुसार नेपालबाट बर्सेनि १३ हजार महिला तथा बालबालिका भारतमा बेचिने गरेका छन् । त्यस्तै, दुई लाख नेपाली महिला भारतमा यौन व्यवसायमा संलग्न छन् ।

म्यारिज ब्यूरो, टुरिष्ट भीसा, विद्यार्थी एक्सचेन्ज कार्यक्रमका नाममा समेत महिला तथा बालबालिका ओसारपसार गर्ने क्रम बढ्दै गएको पाइएको छ ।

एनएनएजीटीको सम्मेलनले सरकारलाई १६ बुँदे सुझाव दिंदै असुरक्षित आप्रवासन तथा ओसारपसारलाई एकै ठाउँमा राखेर दोषीलाई कडा कारबाही गर्न आग्रह गरेको छ । साथै बेचविखनमा परेका महिलाको उद्दार कार्यलाई प्रभावकारी बनाउन र पीडितलाई न्याय दिलाउनेतर्फ पहल गर्ने संयन्त्रको विकास गर्न पनि सुझाइएको छ ।

सम्मेलनले महिला तथा मानव बेचविखनका क्षेत्रमा कार्यरत संस्थाहरुलाई नयाँ कानुन बनाउन र हाल रहेका कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment