+
+

साढे पाँच महिना ओछ्यान परेर नेपाल फर्कँदा

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ भदौ १७ गते १०:२४

Durga-Katuwal-Malesiya-4

गत वर्ष फागुनको अन्तिम सातातिर फेसबुकमा दुइटा फोटो छ्याप्छयाप्ती देखियो । बेवारिसे जस्तै सडकमा फालिएका एक व्यक्तिको फोटो थियो त्यो ।

श्रम गर्न विभिन्न देशमा रहेका धेरै नेपाली युवाले ती फोटोलाई फेसबुकमा निकै सेयर गरे । केही सातापछि नै त्यसबारे फेसबुकमा केही अत्तोपत्तो भएन । उनी को थिए, कहाँका थिए भन्ने कसैले पनि
चासो राखेन ।

करिब पाँच महिनापछि थाहा भयो, उनी रहेछन् लक्ष्मीपुर २ इलामका दुर्गाबहादुर कटुवाल । पाँच महिनाअघि उनी मलेसियाको जोहोरवारुको मसाइ भन्ने ठाउँमा दुर्घटनामा परेका रहेछन् । दुुर्घटना भए लगत्तै प्रहरीले एम्बुलेन्स बोलाएर लगेछ । त्यसपछि उनलाई कहाँ लगियो, के भयो भनेर कसैले सोधखोज गरेनन् ।

दुर्गाबहादुर परिवारको एक्लो छोरा हुन् । रोजगारीको लागि ६ वर्षअघि उनी मलेसिया आएका थिए । म्यानपावरले झुक्याएर पठाएको रहेछ । उनी आउने बेलामा न्यूनतम तलब आरएम ५४६ मात्र भए पनि एजेण्टले भने मासिक आरएम एक हजारभन्दा कम दिए फिर्ता आउनू भनेर पठाएको रहेछ । तर, मलेसिया आइसकेपछि न त उनले मासिक एक हजार कमाए, न त नेपाल नै र्फकन सके ।

म्यानपावरले पठाएको कम्पनीमा दुई वर्ष काम गरेपछि उनले कम्पनी नै छाडिदिएछन् । करिब चार वर्ष त अवैध कामदार भएरै बसेका रहेछन् । घर र्फकन पैसाको चाँजोपाँजो मिलाउने सुरले सेक्युरिटीमा काम गरेको केही समयमै दुर्घटनामा परेपछि उनको दुःखका दिन सुरु भएको रहेछ ।

Durga Katuwal Malesiya (1)

दुर्घटनामा परेदेखि नेपाल पुग्दासम्मको घटना उनी यसरी सम्झन्छन् –

घटना मार्च १० तारिखको हो । म काम सकेर आउँदा रातिको त्यस्तै साढे आठ बजेको हँुदो हो । साइकल चलाएर होस्टलतर्फ आउँदै गर्दा साइडबाट आइरहेको कारले ठक्कर दियो । त्यसपछि के भयो, केही थाहा भएन ।

होश खुल्दा म जोहोरको सुल्तान अमिना अस्पतालको बेडमा थिएँ । अस्पतालमा केही नेपाली साथीहरु मेरो वरिपरि थिए । उनीहरु भन्दै थिए – ‘तिमीलाई गाडीले हान्यो, पुलिसले एम्बुलेन्स मगाएर यहाँ ल्याएछ । हामीले दुई/तीनसम्म कतिवटा अस्पताल चहारे पनि तिमीलाई पत्ता लाउनै सकेनौं । बल्लतल्ल पत्ता लागेपछि भेट्न आएका ।’

अस्पतालले मेरो दाहिने खुट्टाको साँप्राको हड्डी भाँचिएको जानकारी गरायो । म अस्पतालमा बसेको चार दिन भइसकेको थियो । अस्पतालमा चार हजार लाग्यो भनियो । तर, मसँग पैसा थिएन । कम्पनीले पनि कुनै वास्ता गरेन । मलेसियाकै स्थानीय साथीले चार हजार रुपैयाँ तिरिदिए । बाँकी उपचार गराउने मेरो कुनै उपाय नै भएन ।

अस्पतालमा मेरो सामान्य मात्र उपचार भएको थियो । थप उपचारको लागि खुट्टामा रड हाल्नुपर्ने थियोे । उपचार गराउन मसँग पासपोर्ट हुनुपर्ने र करिब आठ हजार धरौटी राख्नुपर्ने भयो । तर मसँग न पासपोर्ट थियो, न त पैसा नै । अस्पतालबाट निकालेर साथीहरुले आफ्नो होस्टलमा लगेर राखे । कम्पनीलाई मैले आफ्नो हालतबारे कत्ति पटक बताए पनि मेरो कुरै सुनेन ।

साथीहरुको होस्टलको कोठामा म करिब साढे पाँच महिना जति बसेँ । उनीहरूले मेरो लागि धेरै गरे । पैसा जम्मा गरेर मलाई आयुर्वेदिक औषधि खुवाए । खानेकुरा पकाएर दिन्थे, फलफूल किनेर ल्याइदिन्थे । दिसापिसाब गर्न समेत डोर्‍याउँदै लैजानुपर्ने अवस्था थियो मेरो । एक्लै यताउता गर्न सक्ने अवस्थामा थिइनँ । साथीहरुले खानेकुरा पकाएर राखिदिन्थे । तर, कहिलेकाहीँ साथीहरु काममा व्यस्त भएर होस्टलमा आउँदैनथे, त्यो बेला खान समेत पाउदिनथेँ । कति पटक त म भोकै समेत बसेको छु ।

साढे पाँच महिना जति म साथीहरुको कोठाभित्रै कुँजो जस्तो बनेर बसेँ । बाहिर कस्तो संसार थियो, थाहै भएन । घरबाट किन नआएको, के भयो, लौ न बाबु आइज भन्नुहुन्थ्यो । तर, म नेपाल र्फकन सक्ने अवस्थामै थिइनँ । घरका मान्छेलाई आउँछु, नआत्तिनुुस् भन्नु बाहेक कुनै उपाय नै थिएन ।
बैशाखीको सहाराले पनि हिँड्न सक्ने अवस्था थिएन । किनकि मेरो दाहिने खुट्टा अर्काे खुट्टा जस्तो झुण्ड्याउन मिल्ने खालको थिएन । कोही साथीले खुट्टा समातिदिएमा अलिअलि हिँड्थेँ, नत्र सम्भव नै थिएन ।

एक मनले यसरी विदेशमा कति दिन थला परेर बस्ने भन्ने सोचेर कहिलेकाहीँ त मरुँमरुँ लाग्थ्यो । तर, अर्काे मनले सोच्थेँ, सहारा पाए भने त निको भइहाल्छ नि ! मानिसहरु कति चिज नहुँदा त बाँचेका छन्, मेरो त जाबो एउटा खुट्टामा समस्या आएको त हो नि भनेर चित्त बुझाउँथेँ ।

मैले दुःख पाएको कुरा गाउँका एक जना दिदीले थाहा पाउनुभएछ, जो केही महिनाअघि मलेसियामै काम गर्नुहुन्थ्यो । उहाँले मलेसियाका साथीहरुमार्फत मेरो कुरा बाहिर ल्याउन सहयोग गर्न थाल्नुभयो । उहाँले मलेसियामा रहेका साथी केशव घिमिरेलाई सम्पर्क गर्नुभयो । केशवले मलेसियामा काम गरिरहेको संस्था प्रवासी नेपाली समन्वय समिति -पिएनसिसी) मा कुरा राखेपछि मलाई नेपाल र्फकन सजिलो भयो ।

साथीहरुले मलाई जोहोरवारुबाट क्वालालम्पुर ल्याइदिए र पिएनसिसीको जिम्मा लगाए । पिएनसिसीले आफूहरुसँगै काम गर्ने आईओएम संस्थाको सहयोगमा नेपालसम्म जाने वातावरण मिलाइदियो । नेपाली दूतावासले निःशुल्क रुपमा यात्रा अनुमतिपत्र बनाइदियो र मलेसियाको अध्यागमनसम्म पुर्‍याइदियो । त्यहाँ मैले मलेसियाको अध्यागमनलाई तिर्नुपर्ने आरएम चार सय रुपैयाँ बुझाएँ । त्यसबाहेक मेरो कुनै खर्च भएन ।

क्वालालम्पुर आइसकेपछि संस्थाकै सहयोगमा तीन पटक अस्पतालमा पुगेँ । त्यहाँ निःशुल्क रुपमा औषधि पाउनुका साथै खुट्टामा ब्याण्डेज भयो । संस्थाले नै खान-बस्न, घर र्फकनको लागि हवाई टिकटको खर्च बेहोर्नुका साथै क्वालालम्पुर एयरपोर्टसम्म लगेर छाडिदियो ।

Durga Katuwal Malesiya (3)

हवाई जहाजको यात्रा पनि निकै आरामदायी भयो । खुट्टा झुण्ड्याउन नमिल्ने भएकले एउटा सिटमा बस्ने र अर्काे सिटमा खुट्टा तेस्र्याएर बस्ने व्यवस्था मिलाइयो । अगष्ट ३० तारिख शुक्रबार राति ९ बजे म काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ । त्यहाँ उत्रिनासाथै संस्थाका साथीहरु लिन आउनुभएको थियो । हाल म काठमाडौंकै टिचिङ अस्पतालमा उपचार गराइरहेको छु ।

यतिबेला मलाई भेट्न आफन्तहरु र साथीहरु आउनुभएको छ । उहाँहरुलाई देख्दा म आँसु थाम्नै सक्दिनँ । विदेशमा कोही पनि बिरामी नहोऊन् र अवैधानिक भएर कोही पनि नबसून् । दुःख नपर्दासम्म त अवैधानिक हुँदा पनि के पो हुन्छ र जस्तो लाग्छ । तर, जब दुःख र विपद् आइपर्छ, तब मात्र अवैधानिक हुँदाको पीडा थाहा हुँदो रहेछ । मैले यो कुरा राम्ररी बुझ्ने मौका पाएँ ।

मलेसिया रहँदा मेरा साथीहरुले धेरै गुन लगाए । सबैले सकेजति सहयोग गरे । सहयोग गर्ने कसैलाई भुल्न सक्दिनँ ।

मलेसियाको लामो बसाइमा पनि मैले तीन लाख रुपैयाँभन्दा धेरै पैसा बचाउन सकिनँ । कमाएको पैसा जति उपचार गराउँदैमा खर्च भयो । विदेशमा केही भयो कि त हात-खुट्टा काट्नुपर्छ भन्ने रहेछन् । तर, यहाँ त केही दिनपछि खुट्टा ठीक हुन्छ भनेर डाक्टरहरुले सल्लाह दिइरहनुभएको छ । केही दिनपछि म पनि ठमठम हिँड्न सक्छु होला ।

जब हिँड्न सक्ने हुन्छु, दुःख पाएका नेपालीहरुको लागि सहयोग गर्छु भन्ने भाव भित्रैबाट जागेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?