+
+
अख्तियारको निष्कर्ष :

सुनिल र विकलले उठाए पाँच वर्षमा एक अर्ब ‘घूस’

सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को अनियमितताका योजनाकार भएको आरोप लागेका सुनिल र विकल पौडेलले पछिल्लो पाँच वर्षमा घूसबापत मात्रै एक अर्बको सम्पत्ति जोडेको अख्तियारको दाबी छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८१ जेठ १४ गते १९:२८

१४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पाँच वर्षको अवधिमा सूचना प्रविधि क्षेत्रका दुई पदाधिकारीबाट एक अर्ब रुपैयाँ घूस संकलन भएको दाबी गरेको छ ।

गैरकानूनी आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेलको सम्पत्ति छानबिन गरेको अख्तियारले उनीहरूले भ्रष्टाचारबापत आर्जन गरेर करिब एक अर्ब रुपैयाँ परिचालन गरेको दाबी गरेको हो ।

पछिल्लो एक महिनामा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले विशेष अदालतमा पेस गरेको दुवै विरुद्धको आरोप पत्र हेर्दा पछिल्लो पाँच वर्षको अवधिमा उनीहरूले झण्डैझण्डै एक अर्ब रुपैयाँ घूस र अन्य भ्रष्टाचारबाट कमाएको खुल्छ ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग छ । सुनिल पौडेलमाथि २३ करोड ७५ लाख रुपैयाँ गैरकानूनी रूपमा जोडेको दाबी छ ।

अख्तियारले उनीहरूमाथि थप विभिन्न अनियमितता र भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको छ । सुनिलमाथि टेलिकम लगायतका निकायमा भ्रष्टाचार गरेको उजुरी छ । विकल पौडेलमाथि हुण्डी कारोबारको अनुसन्धान गर्न अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पत्राचार गरेको छ ।

विकल पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रका विभिन्न ठेक्कापट्टामा भ्रष्टाचार गरी सिंगापुर र अमेरिकामा त्यसबापतको घूस बुझेको आरोप छ ।

आरोप पत्रअनुसार विकलले जोडेको कुल सम्पत्तिमध्ये झण्डै आधा रकम उनले विदेशी बैंकमा घूसबापत लिएका थिए । इन्स्टासेफ नामक कम्पनीले सिंगापुरस्थित युनाइटेड बैंकमा रहेको विकलको खातामा ४ करोड ५१ लाख कमिसन दिएको थियो ।

अर्को कम्पनी बैंकोटडकले १० करोड ७७ लाख दिएको थियो । अख्तियारले विकलको विदेशस्थित खातामा मात्रै २८ करोड ४५ लाख रुपैयाँ रहेको दाबी गरेको छ । आरोप पत्रअनुसार इन्स्टासेफ, बैंकोटेक, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल लगायतको कम्पनीबाट उनले कमिसन लिएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा सुरक्षण मुद्रण केन्द्रले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा दुई अर्ब ९५ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसको कमिसनबापत झण्डै १० प्रतिशतले हुन आउने रकम विदेशी बैंकमा बचत भएको उसको दाबी हो ।

त्यतिबेला सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेपालस्थित म्याक्स इन्टरनेसनल, ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालि, नेक्स्टजेन प्रालि अनि वर्ल्ड डिस्ट्रिब्युसन नेपाललाई सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रका विभिन्न ठेक्का दिएका थिए ।

ती कम्पनीहरूले सिंगापुरको बैंकोटेक र इन्स्टासेफ इंक नामक कम्पनीबाट सामान खरिद गरेका थिए । करिब २ अर्ब ९५ करोड रुपैयाँको सामान आपूर्ति गर्दा मूल्य अस्वाभाविक रूपमा बढाएको र मिलेमतो गरेको अख्तियारको दाबी हो ।

अख्तियारले आरोप पत्रमा भनेको छ, ‘प्रतिवादी विकल पौडेलले आफू कार्यरत निकाय, सुनिल पौडेल कार्यरत निकाय र अन्य निकायहरूको स्पेसिफिकेसन र लागत अनुमान तयार गर्दा सम्बन्धित आपूर्तिकर्ताहरूसँग मिलेमतो, बार्गेनिङ तथा साँठगाँठ गरी ठूलो रकम भ्रष्टाचार गरेको देखिन्छ ।’

विवाहमा ३ लाख खर्च गरेका विकल पौडेलले ‘निकट सम्बन्ध भएको एक महिला’का लागि भने एक करोड ३ लाख खर्च गरेको भन्दै अख्तियारले प्रश्न उठाएको छ । ‘२०८०/८१ परिवर्तित नाम टंगाल–१ राखी अख्तियारले उनीसँगको विदेश यात्रा, सपिङ, लगायतमा अस्वाभाविक खर्च गरेको भन्दै विकलको आर्थिक स्रोतमाथि प्रश्न उठाएको हो ।

सुनिलको पनि उस्तै

त्यतिबेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा रहेका सुनिल पौडेल पछि नेपाल टेलिकमको प्रबन्ध निर्देशक बने । अख्तियारले उनीमाथि नेपाल र सिंगापुरमा गरी २३ करोड ७५ लाख रुपैयाँ सम्पत्ति जोडेको भेटिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सुनिल माथिको आरोप पनि विकलकै प्रकृतिको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा नेपाली कम्पनीहरूलाई मिलेमतोमा ठेक्का दिएको, ती कम्पनीहरूले सिंगापुरको कम्पनीहरूसँग ठेक्का लिएको र त्यहाँबाट सुनिलले सिंगापुरमै कमिसन लिएको अख्तियारको आरोप हो ।

पछिल्लो पाँच वर्षमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २९ वटा ठेक्कापट्टाको काम गरेको थियो । त्यो बापत ३ अर्ब २९ करोड रुपैयाँ भुक्तानी भएको छ । केन्द्रले ओम्नी बिज्नेशन कर्पोरेट इन्टरनेशनल, म्याक्स इन्टरनेशनल प्रालि, वर्ल्ड  डिस्ट्रिब्युसन नेपाल प्रालि र नेक्स्ट जेन सोलुसनसँग काम गरेको थियो ।

ठेक्का पाएका ती नेपाली कम्पनीहरूले सिंगापुरको बैंकोटेक प्रालि र इष्टासेफ इंक नामक कम्पनीसँग सूचना प्रविधिका उपकरण खरिद गरेर रकम सिंगापुरमा भुक्तानी गरेका थिए । भुक्तानी पाएपछि सिंगापुरका ती कम्पनीहरूले युनाइटेड ओभरसिज बैंकमा रहेको सुनिलको खातामा १३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको भेटिएको छ ।

यो अवधिमा सिंहदरबारको सूचना प्रविधि नेटवर्क, सुरक्षा सामग्री, उच्च सुरक्षायुक्त डिजिटल प्रिन्टिङ प्रणाली लगायतका क्षेत्रमा काम भएको थियो । ‘सो रकम राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सामग्री आपूर्ति गर्ने कम्पनीहरूबाट कमिसनबापत सुनिल पौडेलले प्राप्त भएको गैरकानूनी रकम हो’ अख्तियारको आरोपमा भनिएको छ, ‘सुनिल पौडेलले अस्वाभाविक रूपमा आपूर्तिकर्तासँग साँठगाँठ गरी गैरकानुनी कमिसन रकम लिएको देखिन्छ ।’

सुनिल पौडेल र विकल पौडेलले एक अर्कोको कार्यालयको ठेक्कापट्टा र कमिसनमा मिलेमतोमा समेत काम गरेका थिए । अख्तियारले सुनिल पौडेलको घरबाट बरामद गरेका कम्प्युटर, कागजात लगायतबाट अमेरिकामा रहेका दिपक आनन्द भन्ने व्यक्तिसँग उनीहरूले ठेक्कापट्टामा मोलमोलाई गरेको खुल्यो ।

कुराकानीका क्रममा सुनिल पौडेलले उपकरणको लागत अनुमान बढाउन र ठेक्काको मूल्य बढेपछि आउने कमिसन समेत बढाउन आग्रह गरेको भेटिएको अख्तियारको दाबी छ ।

आरोप पत्र अनुसार, ‘विकल पौडेलले आफू कार्यरत निकाय, सुनिल पौडेल कार्यरत निकाय र अन्य निकायहरूको स्पेसिफिकेसन र लागत अनुमान तयार गर्दा सम्बन्धित आपूर्तिकर्ताहरूसँग मिलेमतो, बार्गेनिङ तथा साँठगाँठ गरी ठूलो रकम भ्रष्टाचार गरेका’ थिए ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा मात्रै सुनिल र विकल पौडेलमाथि अख्तियारले ८५ करोड ९४ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ । त्यसबाहेक सुनिल पौडेलमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मतसम्भार ठेक्कामा अनियमितता गरेको आरोपमा छानबिन भइरहेको छ भने सुनिल पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रका अरू अनुसन्धान विचाराधीन छन् ।

‘सुनिल र विकल पौडेलमाथि हुण्डी कारोवार गरेको लगायतका अरू विषयमा अनुसन्धान भइरहेको छ’ अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान गर्दै जाँदा घूसबापत मात्रै करिब एक अर्ब रुपैयाँ विदेशी बैंकको खातापातामा भेटिने निश्चितजस्तै छ ।’

सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएका अधिकांश ठेक्कापट्टा विवादमा परेका थिए । सुरक्षण मुद्रण केन्द्रको पहिलो भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत साता विकल पौडेल लगायतलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख भ्रष्टाचार गरेको ठहर्‍याएको थियो । सुरक्षण मुद्रण केन्द्रकै अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यो मुद्दामा अख्तियारले ४० करोड ७५ लाख भ्रष्टाचार भएको दाबी गरेको छ ।

त्यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्रको राष्ट्रिय भुक्तानी प्रणालीको भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर भएका छन् । अख्तियारले त्यसकै अर्को अनुसन्धान जारी रहेको भनी विशेष अदालतमा जानकारी गराएको छ । यी ठेक्काका विवादमा जोडिएका कम्पनीहरूबाट सुनिल र विकलको खातामा रकम जम्मा भएको अख्तियारको दाबी थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेस गरेका कागजातमा सुनिल र विकल पौडेलको हकमा थप अनुसन्धान भइरहेको उल्लेख छ । प्रवक्ता नरहरि घिमिरेले आरोप पत्रको विषयमा आफूहरूलाई विस्तृत जानकारी नहुने बताए ।

‘विशेष अदालतमा पेस भएको आरोप पत्रमा नै त्यसो लेखिएको छ भने थप अनुसन्धान भइरहेको होला, अनुसन्धान जारी भएका विषयमा थप विवरण बाहिर ल्याउन मिल्ने अवस्थामा छैन’ उनले भने, ‘अनुसन्धान टुंगिएपछि वास्तविक अवस्था थाहा होला ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?