Comments Add Comment

‘ब्रासलेट’मा जमेकी नम्रता, सस्पेन्स कथाले जित्न सक्छ दर्शकको मन

rajani kc and namrata sapkota
निर्देशक निर्मल शर्माले निर्देशन गरेको दोश्रो चलचित्र ‘ब्रासलेट’ अहिले देशभरका हलमा लागेको छ । पारिवारिक र सस्पेन्स कथामा आधारित यो चलचित्रले देशभर औषत व्यापार गरिरहेको छ ।

केशव भट्टराइको निर्माणमा तयार भएको चलचित्रमा नायक रमेश उप्रेती, नायिका रजनी केसी मुख्य भूमिकामा छन् । साथमा नायिका नम्रता सापकोटा र नव-कलाकार सुगम गुरागाँइको मुख्य भूमिका छ ।

चलचित्रलाई निर्देशक शर्माले सस्पेन्स शैलीमा बगाएका छन् । पहिलो पाटोमा रमेश र रजनीको प्रेम, पारिवारिक झन्झट, श्रीमान्ले समय नदिदा श्रीमतीमा देखिने एक्लोपनालाई नै निर्देशकले देखाएका छन् । तर, दोश्रो पाटोमा भने चलचित्र गजबले अगाडि बढेको छ ।

एउटा ‘ब्रासलेट’का कारण नायिका केसीमा आउने परिवर्तन नै यो चलचित्रको मुख्य कथा हो । पहिलो हाफमा चलचित्र केही सुस्त तरिकाले बग्दा दर्शकलाई कतै-कतै दिक्क लाग्न सक्छ । पहिलो हाफमा केही दृश्यहरु जर्क पनि छन् । दोश्रो हाफमा पुगेपछि भने चलचित्रले गती लिएको छ । नायक रमेश उप्रेती करिब १२ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएकाले पनि ‘ब्रासलेट’को चर्चा विशेष थियो ।

पहिलो पाटोमा रजनी र रमेश पूर्ण रुपमा चलचित्रमा हाबी छन् । दोश्रो भागमा भने नायिका नम्रता सापकोटा सरप्राइज बनेकी छिन् । उनको अभिनय र भूमिकाले हलबाट बाहिर निस्कदा उनकै याद दर्शकलाई आउँछ । नव-कलाकार सुगमको भूमिका उनलाई संझने मुख्य आधार हो ।

केही कमजोरीका बाबजुत निर्देशक शर्मा दोश्रो चलचित्रसम्म आइपुग्दा धेरै खारिएका छन् । रजनी रमेशकी श्रीमतीको रुपमा जमेकी छिन् । ‘परि’को भूमिकामा देखिएकी नम्रताले दर्शकको मन जित्ने पक्का छ ।

सस्पेन्स शैलीको चलचित्र हेर्न रुचाउने दर्शकका लागि ‘ब्रासलेट’ एउटा नयाँ बिषयमा भने राम्रो चलचित्र हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment