Comments Add Comment

दशैंकेन्द्रित प्रस्तुतिका लागि नेपथ्य कोरिया र अमेरिकाको यात्रामा

nepathya in denmark (8)

काठमाडौं । बर्षा मौसम सकिएसँगै नेपालीहरुमा चाडबाडको मौसम सुरु भएको छ । चाडबाडमा सांस्कृतिक मनोरञ्जन नेपालीहरुको बिशेषता हो । रोजगारी तथा अध्ययनको सिलसिलामा प्रबासमा रहेका नेपालीहरुलाई सांस्कृतिक मनोरञ्जन दिलाउन नेपालको चर्चित सांगीतिक समूहले प्रबास यात्राको घोषणा गरेको छ ।

सेप्टेम्बर महिनामा नेपथ्यले दक्षिण कोरियाको राजधानी सियोल र अमेरिकाको न्युयोर्क तथा सानफ्रान्सिस्को शहरमा आफ्नो प्रस्तुति रहने बताएको छ ।

यात्राको सुरुवात कोरियाबाट हुनेछ । राजधानी सियोलस्थित प्रख्यात ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस) मा ब्याण्डको पहिलो प्रस्तुति हुनेछ । कुनै समय ‘केबिएस स्पोर्ट्स् वर्ल्ड’ अन्तर्गत ‘स्पोर्टस् हल १’ भनेर चिनिने यो मञ्च यतिबेला अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट थलोका रुपमा विकास गरिएको छ ।

यो कार्यक्रमलाई त्यहाँस्थित ‘तामाङ समाज’ले प्रस्तुत गर्नलागेको हो । कोरिया आफैँ पनि उसको महत्वपूर्ण चाड ‘चुसक’मा डुबेको बेला त्यसैलाई अवसर पारेर कन्सर्टको आयोजना गरिएको हो । तीन दिनसम्म सार्वजनिक उत्सवका रुपमा मनाइने यो पर्व वाली भित्र्याउने समय सँग जोडिएको छ ।

सेप्टेम्बर १५ तारिख, बिहीबारको दिन दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीले यस्तै रमाइलो मनाइरहेको बेला त्यो अवसरलाई अझ स्मरणीय बनाउने प्रयास नेपथ्यले गर्नेछ । सन् २००५ यता दक्षिण कोरियाको मञ्चमा यो चौथोपटक नेपथ्य उभिन लागेको हो ।

‘हाम्रो संगीतकर्मले देसभित्र र बाहिर पनि सबै उमेर, लिङ्ग, जात र वर्गका मानिसलाई एउटै सुत्रमा बाँधेर एकताबद्ध पारिदिने गरेको प्रतिक्रियाहरु पाउँदा मलाइ जहिल्यै खुशी महशुस हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी गीतका माध्यमबाट सबैलाई बाँध्ने कोशिस गर्छौं र यसरी प्राप्त हुने एकताको बलले नै हामीलाई शक्तिशाली बनाउँछ भन्ने मलाइ लाग्छ ।’

दक्षिण कोरियापछि स्वदेश फर्केर नेपथ्यको टोली सेप्टेम्बर २४ मा न्युयोर्कमा हुने कन्सर्टका लागि अमेरिका प्रस्थान गर्नेछ । नेपथ्यले म्यानहटनको प्रसिद्ध हृयामस्र्टेन बलरुममा आफूलाई उभ्याउनेछ जहाँ गएको वर्ष टोलीले अमेरिकाको यो ब्यस्त सहरका वासिन्दालाई दुइ घन्टासम्म नचाएको थियो ।

त्यहाँस्थित ‘वल्र्ड फेसन परेड’ले कलाका माध्यमबाट विश्वशान्तिको भावना विकास गर्न आयोजना गरिरहेको ‘फेसन विक’ कै मुख्य प्रस्तुतीका रुपमा नेपथ्यको यो कन्सर्ट आयोजना हुन लागेको हो ।

अमेरिकाको पूर्वी कुनामा रहेको विश्वकै ब्यस्त सहर न्यूयोर्कपछि नेपथ्य एकैपटक पश्चिमी कुनामा रहेको विश्वकै सुन्दर सहर सानफ्रान्सिस्कोतर्फ यात्रा गर्नेछ । अक्टोबर महिनाको पहिलो दिन त्यस शहरकै प्रमुख हल ‘वारफिल्ड थिएटर’ मा ब्याण्ड प्रस्तुत हुनेछ । संयोगले त्यो नेपालीहरुको महान चाड दशैेंको पहिलो दिन घटस्थापना समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment