Comments Add Comment

चन्द्रनिगाहपुर सडकखण्डको बाढीमा बस फस्यो, यात्रु जोखिममा

जंगल क्षेत्रमा अलपत्र यात्रुहरु भोकभोकै

Rautahat_Badhi

२७ भदौ, रौतहट । अविरल वर्षा पछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्गको बाग्मती-पौराई सडकखण्डमा यातायात अवरुद्ध भएको छ । रौतहटको चन्द्रनिगाहपुर-बागमती सडकखण्डको पौराइ जंगलमा रहेका दुईवटा लच्कामा बाढी आउँदा गए रातिदेखि नै सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

बाढीका कारण पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बस बाढीमा फस्दा यात्रुहरु समेत जोखिममा परेका छन् । लच्कामा फसेको एक बसका यात्रुहरुलाई निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पानीमा बसको आधा भाग डुबेको छ । बसभित्रका यात्रुहरुले चिच्याउँदै र हातले इसारा गर्दै उद्धारका लागि आग्रह गरिरहेका छन् । बसमा ३० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । पानी परिहेकाले बाढी घटेको छैन ।

चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको पहिलो लच्कामै बाढी आएकाले दोश्रो लच्कासम्म उद्धार टोली पुग्न समस्या परिरहेको छ । उद्धार टोली यात्रुसहितको बस फसेको ठाउँमा पुग्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।

Rautahat_Badhi_Jam

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको टोली बस फसेको ठाउँमा पठाइएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले उद्धार सामाग्रीसहित टोली पठाइएको बताए ।

बाढीले राजमार्ग बन्द हुँदा पाँच सयभन्दा बढी गाडीहरु रोकिएका छन् । हजारौं यात्रुहरु जंगलमा भोकभोकै बस्न बाध्य छन् । जंगल क्षेत्रमा सञ्चार सम्पर्क समेत नभएकाले यात्रुहरु थप समस्या परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment