+
+

झापामा यसरी बन्ने भो ११ स्थानीय तह (सूचीसहित)

एउटा उपमहानगरपालिका, ७ नगरपालिका र ३ गाउँपालिका प्रस्तावित

गौरव पोखरेल गौरव पोखरेल
२०७३ भदौ २८ गते १५:५०

२८ भदौ, झापा । अन्ततः लामो गृहकार्य र छलफलपछि झापाका राजनीतिक दलहरुबीच स्थानीय तहको सङ्ख्याको विषयमा सहमति जुटेको छ ।

उनीहरु झापामा ११ वटा स्थानीय तह कायम गर्ने  साझा निष्कर्षमा पुगेका छन् । केन्द्रमा आयोगले भने झापा जिल्लालाई १० वटा स्थानीय निकायको संख्या तोकेको छ ।

यस्तो छ झापाको प्रस्तावित संरचना

भूगोल र जनसङ्ख्याका आधारमा प्रस्तावित स्थानीय निकायको सङ्ख्या तय गरिएको नेताहरुले बताएका छन् ।

jhapa_staniya samrachanaप्रस्तावित उपमहानगरपालिकामा मेचीनगर नगरपालिका, बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, दुवागढी र शान्तिनगर गाविसलाई गाभेर मेची उपमहानगरपालिका बनाइनुपर्ने प्रस्ताव छ ।

त्यस्तै, लखनपुर गाविस ‘दमक’ सँग गाभिने छ र दमक नगरपालिका नै कायम रहनेछ ।

त्यस्तै, गौरादह नगरपालिकासँग खजुरगाछी र शिवगञ्ज गाभिनेछन्  । शिवसताक्षीसँग धरमपुर र पाँचगाछी गाविस गाभिने छन् ।  कनकाइ नगरपालिकासँग शरणामती, टाघनडुब्बा र कुमरखोद गाभ्ने प्रस्ताव गरिएको छ ।

साविक शिवगञ्ज गाविसको माइवारिको भाग र डाँगीबारीको विरिङ्ग नदी पारिको भागसहित शनिअर्जुन-३ को दहीझोडा समेत अब कनकाई नगरपालिका नै पर्नेछ ।  भद्रपुर नगरपालिकासँग पृथ्वीनगर, जलथल र हल्दिबारी गाविसलाई गाभ्ने निर्णय भएको छ ।

बिर्तामोड नगरपालिका र गरामनीलाई गाभेर विरतानगरपालिका बनाइने भएको छ । त्यस्तै, शनिअर्जुन नगरपालिकामा बुधबारे र खुदुनाबारीलाई गाभेर अर्जुनधारा नगरपालिका बनाउने निर्णय भएको छ ।

यस्तै, डाँगीबारी, चकचकी, गोलधाप र राजगढ गाविसलाई गाभेर बाह्रदशी गाउँपालिका बनाउने प्रस्ताव छ ।

घेराबारी, पथरिया, बालुवाडी, केचना, पाठामारी र बनियानी गाविसलाई गाभेर केचनाकवल गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।

तोपगाछी, बैगुनधुरा, महाभारा र कोरोबारी गाविसलाई गाभेर कमल गाउँपालिका बनाइने प्रस्ताव छ ।
केन्द्र कहाँ ? सङ्ख्या कति ?

प्रस्तावित मेची उपमहानगरपालिकाको केन्द्र ईटाभट्टामा कायम गर्ने प्रस्ताव गरिएको छ । गाभिएपछि यसको जनसङ्ख्या १ लाख ३० हजार ३ सय ८६ हुन्छ ।

दमक, गौरादह, शिवसताक्षी, कनकाई, भद्रपुर, अर्जुनधारा, विरता नगरपालिकाको केन्द्र क्रमशः दमक, गौरादह, व्याङ्गडाँडा, चप्रामारी वा शरणामती, भद्रपुर, शनिश्चरे बजार र विर्ता बजारमा हुनेछ ।

गाभिएपछि दमक नगरपालिकाको जनसङ्ख्या ९५ हजार ५ सय २१ हुनेछ । त्यस्तै गौरादह, शिवसताक्षी, कनकाई, भद्रपुर, अर्जुनधारा र विरता नगरपालिकाको जनसंख्या क्रमशः ६४ हजार ५ सय ९६, ७४ हजार ८ सय ९५, ८६ हजार ८ सय १६, ८३ हजार १ सय ४१, ८१ हजार ८ सय ७८ हुनेछ ।

उता, बाह्रदशी गाउँपालिकाको केन्द्र चकचकी बजार प्रस्ताव गरिएको छ भने केचनाकवल र कमल गाउँपालिकाको केन्द्र क्रमशः बनियानी बजार र क्याम्पा बजारमा रहनेछ ।

बाह्रदशी गाउँपालिकाको जनसङ्ख्या ४१ हजार ३ सय ३ हुनेछ भने केचनाकवल र कमल गाउँपालिकाको क्रमशः ३९ हजार ५ सय ३८ र ४२ हजार ४ सय ७८ हुनेछ ।

यसरी जुट्यो राजनीतिक सहमति

यसअघि दलहरुबीच सङ्ख्याको विषयमा विवाद चुलिएको थियो । केन्द्रबाट आयोगले झापामा १० वटा स्थानीय निकायको प्रस्ताव गरे पनि राजनीतिक दलहरुले यसको सङ्ख्या बढाइनुपर्ने अडान राख्दै आएका थिए ।

कुनै राजनीतिक दलका नेताले १५ वटा स्थानीय तह राखिनुपर्ने दावी गर्दै आएका थिए भने कोहीले १७, १८ वा २० वटा स्थानीय निकाय कायम गरिनुपर्ने माग गरेका थिए ।

तर, सोमबार भएको सर्वदलीय छलफलपछि उनीहरु जिल्लामा एउटा उपमहानगरपालिका, ७ वटा नगरपालिका र ३ वटा गाउँपालिका कायम गर्ने साझा निष्कर्षमा पुगेका छन् ।

छलफलमा स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी खेमराज ओझा, एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, कांग्रेसका जिल्ला सभापति उद्धव थापा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य झलकसिंह दर्लामी, केन्द्रीय सदस्य गगन पुरी र संघीय गठबन्धनका नेताहरु सहभागी थिए ।

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?