Comments Add Comment

अमेरिकामा चिनेजानेकैबाट ठगिन्छन् नेपाली

‘तपाईंको बैंक एकाउन्टमा शकांस्पद गतिविधि देखिएकाले हाललाई सस्पेन्ड गरिएको छ, कृपया तपाईंको परिचय खुल्ने पत्रसहित बैंकमा उपस्थित हुनुहोला ।’

एकाबिहानै फोनमार्फत आएको यो जानकारीसँगै निद्रामै भएका टेक्सास निवासी प्रवेश झसंग भए । हतारहतार बैंकको मोबाइल एप्समा गएर हेरे, त्यसपछि त उनी झनै अचम्ममा परे ।

आफ्नो बैंकको चेकिङ खातामा रहेको पैसा कहिले माइनस त कहिले प्लसमा गएको थियो । बैंकको भाषामा भन्दा कसैले उनको एकाउन्टबाट पैसा झिक्ने करिब आधा दर्जन प्रयास गरेको थियो, जसलाई बैंकले अस्वाभाविक ठहर गरी सम्पूर्ण रकम फिर्ता गर्दै एकाउन्ट तत्काललाई चलाउन नमिल्ने गरी होल्डमा राखेको थियो ।

बैंकले अपनाएको यो सावधानीले प्रवेशको रकम दुरुपयोग भने हुन पाएन । उनको एकाउन्टबाट पैसा झिक्न खोज्ने व्यक्ति अरु कोही नभएर उनले विश्वास गरेका नेपाली नै थिए ।

Amit-Abhaya-Adhikari
लेखक

उमेरले ३० नाघेका ती व्यक्ति अमेरिका आएको एक दशक पुग्न लाग्यो । यस्ता व्यक्तिले ९८ डलर झिक्ने नाममा आफ्नो एकाउन्टबाट ६०० डलर झिक्ने प्रयास गर्लान् भन्ने उनले कल्पना समेत गरेका थिएनन् ।

‘बैंकको सावधानीले गर्दा धन्न मेरो पैसा जोगियो । अमेरिका आएको १० वर्ष भएको मान्छे साँच्चै आपतै परेको होला भनेर विश्वास गर्दा झन्डै डुबिएन,’ प्रवेशले भने । उनको बैंक एकाउन्ट प्रयोग गर्ने व्यक्तिलाई प्रवेशले फेसबुकबाटै चिनेका थिए ।

प्रवेशबाट आएको यो खबर मैले चिनेको अर्का व्यक्तिलाई सुनाउँदै थिएँ, अमेरिकामा चिनेकैबाट यस्तोसम्म हुँदो रहेछ भनेर । न्यूयोर्कमा रहेका एक भाइले मेरो कुरो बीचमै काट्दै भने, ‘दाजु, मलाई पनि हिजो त्यस्तै भयो । प्रवेशको कार्ड माग्ने व्यक्तिले मसँग पनि १६० डलरजति मागेका थिएँ । मैले पनि १६० डलर त हो, उसै पनि एकाउन्टमा बढी पैसा नै छैन भन्ने सोचले विश्वासको आधारमा आफ्नो बैंकको सम्पूर्ण कार्ड डिटेल दिएँ ।’

मसँग यति भन्दै उनले पनि आफ्नो खाता मोबाइल एप्सबाटै हेर्न थाले । उनको खातामा पनि प्रवेशको जस्तै ‘प्लस माइनस’ थुप्रै कारोबार भएको थियो । उनले पनि फेसबुक मार्फत नै चिनेको बताउने ती व्यक्तिले करिब दर्जन पटक कारोबार प्रयास गरेर दुई सय डलर निकाल्न सफल भएका रहेछन् । उनले एकै व्यक्तिबाट अर्को व्यक्तिमाथि ठगी प्रयास भइसकेकाले तत्काल आफ्नो बैंकको खाता रहेको शाखामा कल गर्दै रकम अनियमितताबारे जानकारी गराए । बैंकले उनको कार्ड नम्बर परिवर्तन गर्दै खाता सस्पेन्ड गरिदियो ।

टेक्सासका प्रवेश र न्यूयोर्कका भिमार्जुन (नाम परिवर्तन) चिनिएका एउटै व्यक्तिबाट ठगीको प्रपञ्चमा परेका हुन् । दुवैले फेसबुक ग्रुपहरुमा पोष्ट देखेको भरमै विश्वास गरेर आफ्नो बैंक डिटेल उपलब्ध गराएका थिए । यी दुवै घटनामा बैंकले पैंसा फिर्ता गर्दै ठूलो ठगी हुनबाट बचायो ।

टेक्सास, न्यूयोर्क, भर्जिनिया, मेरिल्यान्ड लगायत अन्य स्थानका केही नेपालीले विश्वास गरेर सोही व्यक्तिलाई गरेको यस्तै कारोबारमा करिब २५०० अमेरिकी डलरसम्म कार्डबाट झिकिएको बताएका छन् ।

‘फेसबुकमा पोष्ट हेर्दा दुःखै परेको होला भनेर विश्वास गरियो । तर, ४० डलर मागे पनि २५०० डलर झिकिएको रै’छ’, पीडितले आफ्नो र कार्ड प्रयोग गर्ने व्यक्तिको नाम नखुलाउन आग्रह गर्दै बताए ।

विदेशमा चिनजानकै साथीभाइबाट अनि अलि परको नातेदारबाट विश्वासघात भएर ठगिनेहरु थुप्रै छन् । घरको भाडा बाँडेर तिर्ने क्रममा कसैले पैसा छैन भनेमा सहयोगस्वरुप पैसा हालिदिँदा धेरैको त्यस्तो पैसा उठ्दैन । पैसा माग्दा बोलचाल नै बन्द घटना समेत छन् ।

सबैले दुःख गरेर कमाएको पैसा सँगै बस्ने क्रममा खर्च गर्दा बराबर सेयर गर्ने गरिन्छ । ‘रुममेटले पैसा छैन भनेपछि सहयोग गर्दा एक महिनामा करिब ३५० डलर पुगेको थियो । तर, पैसा उठ्नु त परै जाओस्, ती रुममेट म राति कामबाट घर फर्किँदा त लत्ताकपडा लिएर भागिसकेका रै’छन्,’ टेक्सास अर्विंगका अंकुर रावलले एक वर्षअघिको अनुभव सुनाए ।

दुःख गरेर कमाएको पैसा किन छाड्नु भनेर अंकुरले पैसा फिर्ता मागेका पनि रैछन् । तर, पैसा लिएको प्रमाण के छ भन्दै रुममेटले प्रतिप्रश्न गरेछन् । उनले खिन्न हुँदै भने, ‘आफूले प्रत्यक्ष हातैमा दिएको पैसाको मैले के प्रमाण दिनु ? अन्तिममा पैसाको माया नै मारेर सम्बन्ध पनि तोडेँ ।

अमेरिकाको थुप्रै राज्यमा नेपालीहरुको बाक्लो उपस्थिति छ । विद्यार्थी र अन्य अविवाहित व्यक्तिहरु २/३ जना मिलेर रुम वा अपार्टमेन्ट सेयर गरेर बस्ने गर्छन् । यस्तोमा एकले अर्कालाई सहयोग गर्नु स्वाभाविकै हो । यसरी सँगै बस्दा एउटासँग पैसा छैन भने अर्कोले नहाली सुखै छैन । किनभने घर, बत्ती, पानी आदिको बिल तिर्न ढिलो भएमा लाग्ने जरिवानाबाट बच्न समेत सहयोग गर्नु बाध्यता हो । तर, यस्तो बाध्यतालाई कतिले ठग्ने र विश्वास तोड्ने माध्यम बनाएका छन् ।

नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गर्दा निम्तने यस्तै परिस्थितिका कारण पछिल्लो समय नेपालीले नेपालीलाई देख्दा मुन्टो बटार्ने प्रचलन बढ्दै गएको छ ।

कतिपय अवस्थामा त पैसा मात्र होइन, चिनेको साथी भर्खर विदेश आएको वा अर्को राज्यबाट आएको छ भनेर केही दिनको लागि आफ्नो अपार्टमेन्टमा बास दिँदा महिनौं बिते पनि रुम नछाड्ने गरेका उदाहरण पनि छन् । यस्तै समस्या लिएर गुनासो गर्न आफ्नो अपार्टमेन्टको अफिस पुगेका टेक्सासका सुदीप खड्काले उल्टै गाली खानुपर्‍यो । पाहुनालाई केही दिन मात्रै अपार्टमेन्टमा राख्न मिल्ने भएकाले महिनौंसम्म केही नबोलेको भन्दै उल्टै खड्कालाई उनको अपार्टमेन्टले हकारेर पठायो र दुवैलाई कारबाही गर्ने चेतावनी दियो ।

काम खोजिदिने नाममा पुरानाले नयाँलाई ठग्ने र अपार्टमेन्ट भाडामा लिँदा आफ्नो नाम कतै उल्लेख छैन भन्दै अन्य साथीहरुले भाडा नतिरी समस्यामा पारिदिने नौलो होइन ।

यस्ता घटना अमेरिकामा अब चासोको विषयमै पर्दैनन् । फेसबुकमा लेखिने पोष्ट अनि सहयोगका आश्वासनबाट कतिपय व्यक्ति पैसाको कारोबार गर्न समेत पछि पर्दैनन् । जसलाई आफ्नो पैसा कहाँ र कसरी खर्च भएको छ भन्नेबारे कुनै जानकारी समेत हुँदैन । पीडितका लागि भन्दै उठाइएको रकम कतिपय अवस्थामा त महिनौं बितिसक्दा समेत नेपाल पुगेको हुँदैन ।

नेपालको कानुन अनुसार कुनै स्वरुपमा बैंक वा वित्तीय संस्थाबाहेक पैसाको लेनदेन अनि संकलन गर्नु गैरकानुनी हो । तर, त्यही देशबाट आएका नेपालीहरू फेसबुक पेजमा आफ्नो दुःख-पसिनाको आर्जन आँखा चिम्लिएर ‘डोनेसन’ गर्छन् ।

विदेशमा नेपालीले नेपालीलाई सहयोग गर्नै हुँदैन भन्ने यो पंक्तिकारको आशय होइन । तर, वित्तीय संस्थाले नै पैसाको कारोबार नियमन गर्न नसकेका उदाहरण हुँदाहुँदै केही जमातले इन्टरनेट नेटवर्किङको भरमा संकलित रकमको हरहिसाब पारदर्शी गर्छन् भनेर पत्याउने हामी मूर्ख नै हौं ।

नेपालीहरुको ठूलो बसोबास रहेको टेक्सासस्थित नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने भन्छन्, ‘पैसाको विषयमा पारदर्शिता सबैभन्दा मुख्य कुरो हो, पैसा देखे महादेवको पनि त्रिनेत्र भन्ने उखान त्यसै आएको होइन । त्यसैले हामीले अत्यावश्यक बाहेक अन्य विषयमा पैसा संकलन गरेका पनि छैनौं र गर्दा पनि गर्दैनौं ।’

अमेरिका आउन लागेका वा आइसकेका सबैलाई उनी पैसाको कारोबारमा अत्यन्तै होशियारी अपनाउन सुझाव दिन्छन् । उनले अगाडि थपे, ‘चिनेजानेकै मान्छेले आफ्नैलाई नराम्रोसँग ठगेका धेरै उदाहरण हामीमाझ छन्, त्यस्ता मान्छेले ठगीबाटै आर्जन गरेको रकमले घर बनाएर समेत बसेका छन् ।’

(अध्ययनका लागि अमेरिकामा रहेका लेखक अधिकारी पूर्व टेलिभिजन पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment