Comments Add Comment

दुश्मनसँग दोस्तीको अपेक्षा राख्ने इजरायली नेता शिमोन पेरेजको निधन

Shimon-Peres

१२ असोज, काठमाडौं । इजरायलका पूर्वराष्ट्रपति शिमोन पेरेजको बुधबार ९३ वर्षको उमेरमा निधन भएको छ । इजरायलको दुईपटकसम्म प्रधानमन्त्री बनिसकेका र नोबेल शान्ति पुरस्कार समेत पाइसकेका उनी महत्वपूर्ण राजनेताहरु मध्येका एक हुन् ।

पक्षघातबाट पीडित पेरेजको इजरायलकै अस्पतालमा उपचारको क्रममा निधन भएको उनका छोरा चेमीले पुष्टि गरेका छन् ।

को हुन् शिमोन ?

इजरायलको दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति बनेका पेरेजले एकपटक भनेका थिए, ‘प्यालेस्टाइनी हाम्रो छिमेकी हो । मलाई विश्वास छ उ हाम्रो नजिकको साथी बन्ने छ ।’

उनको यो अभिव्यक्ति निकै चर्चित रह्यो र धेरैले भने- उनी दुश्मनसँग दोस्तीको अपेक्षा राख्ने नेता हुन् ।

सन् १९२३ मा पोल्याण्डमा जन्मिएका शिमोन पेरेजका बुवा काठ व्यापारी थिए । कृषि विश्वविद्यालयमा पढेपछि किबुत्ज अर्थात् कृषि कम्युनमा उनले काम गरे । युवा अवस्थामै राजनीतिमा लागेका पेरेज १८ वर्षको उमेरमै यहुदी मजदुर आन्दोलनका सचिव चुनिएका थिए ।

सन् १९४७ मा इजरायलको स्थापना भएपछि प्रधानमन्त्री बनेका डेबिड बेन ग्युरियनले पेरेजलाई सेनाका लागि आवश्यक हतियार र गोला-बारुद खरिद गर्ने जिम्मा दिएका थिए ।

उनले फ्रान्ससँग मिराज लडाकु विमानको सम्झौता गरे र डिमोनामा इजरायलको गोप्य परमाणु कार्यक्रमको जग बसालेका थिए ।

इजरायली संसद ‘क्नेसेट’का लागि उनी पहिलोपटक १९५९ मा चुनिएका थिए । त्यसपछि उनी देशको रक्षा उपमन्त्री बने ।

तर, उनलाई सन् १९६५ मा मिस्रमा अमेरिकी र बि्रटेनी स्थानमा बम धमाकाको योजनामा दोषि ठहर्‍याइएपछि उनले पद त्याग्नु पर्‍यो ।

त्यसपछि उनले ग्युरियनसँग मिलेर मपाई पार्टी परित्याग गरे र नयाँ पार्टी इजरायली लेबर पार्टी खोले । तर, नयाँ पार्टीले लगातार पाँच पटकको चुनावमा हार व्यहोर्‍यो । यद्यपी गठबन्धन सरकार बन्दा शिमोन पेरेज हरेक पटक कुनै न कुनै मन्त्री पद पाइरहे ।

सन् १९९२ मा इजरायली लेबर पार्टीको प्रमुख पदको चुनावमा पनि पेरेज पराजित भए । उनलाई प्रारम्भिक चुनावमै यित्जाक राबिनले हराइदिए ।

राबिनको विदेश मन्त्रीको रुपमा पेरेजले यासिर अराफात र प्यालेस्टाइनी लिबरेशन अर्गनाइजेशनसँग गोप्य वार्ता सुरु गरे, जो सन् १९९३ मा भएको ओस्लो सम्झौताको आधार बन्यो । यसपछि प्यालेस्टाइनी नेतृत्वले पहिलोपटक इजरायलको अस्तित्व आधिकारिकरुपमा स्वीकार गर्‍यो ।

यसको एक वर्षपछि पेरेजले राबिन र यासिर अराफातसँग संयुक्तरुपमा नोबेल पुरस्कारसमेत पाए ।

सन् १९९५ मा राबिनको हत्या भएपछि पेरेज प्रधानमन्त्री बने । तर उनीको कार्यकाल एक वर्ष पनि टिकेन । चुनावमा लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहूले हराइदिए ।

पेरेजले सन् २००५ मा लेबर पार्टीबाट पनि राजीनामा दिए र कादिमा नामको नाम पार्टी बनाएका एरियल शेरोनलाई समर्थन गरे ।

शेरोन गम्भीर विरामी भएपछि पेरेज नै कादिमा पार्टीको अध्यक्ष हुने चर्चा थियो तर, कादिमा पार्टीमा रहेका धेरै लिकुड पार्टीका पूर्व कार्यकर्ताहरुले त्यसको विरोध गरे, जसका कारण पेरेज पार्टीको नेता बन्न पाएनन् ।

२००७ जुन महिनामा पेरेज इजरायलको राष्ट्रपति निर्वाचित भए । त्यसलगत्तै उनले इजरायली संसद क्नेसेटबाट सदस्यता त्यागे । उनी इजरायली इतिहासमै सबैभन्दा धेरै समयसम्म संसद सदस्य बनेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment