काठमाडौं । विश्वकप फुटबलमा ४० भन्दा बढी टोलीलाई सहभागिता गराउनुपर्ने सुझाव आएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले विश्वकपमा ४८ टोली सहभागी गराउने प्रस्ताव गरेका छन् ।
४६ बर्षीय इटालीयन इन्फान्टिनोका अनुसार नयाँ फर्म्याटमा खेलाउँदा १६ मुलुक प्रारम्भिक चरणमा बाहिरिनेछन् ।
प्रतियोगिताको बाँकी चरण पुरानै हुनेछ । समूह चरणमा ३२ टोलीलाई प्रतिस्पर्धा गराइनेछ । इन्फान्टिनोले भनेका छन् कि संभवतः यो निर्णय आगामी बर्षको जनवरीमा गरिनेछ ।
‘आएका सुझावहरुलाई सबैभन्दा उत्कृष्ट समाधान खोज्ने प्रयासमा छौं ।’ उनले भने, ‘हामीले यसै महिनामा यसबारे छलफल गर्नेछौं र सन् २०१७ मा निर्णय हुनेछ ।’
इन्फान्टिनो यसै बर्षको फेब्रुअरीमा विश्व फुटबलको नियमनकारी निकायको प्रमुख चुनिएका थिए । उनले आफ्नो चुनावी एजेण्डाका रुपमा विश्वकपमा कम्तिमा ४० टोलीको सहभागिता रहने उल्लेख गरेका थिए ।
तर आफ्नो एजेण्डामा केहि परिवर्तन गर्दै उनले ४८ टोलीको सहभागिता गराउने प्रस्ताव ल्याएका हुन् ।
‘यसको मतलव हामीले ३२ टोली सहभागी विश्वकपनै खेलाउनेछौं तर ४८ टोली विश्वकपको हिस्सा हुनेछन् ।’ विश्व फुटबलका तानाशाह मानिने सेप ब्लाटरलाई प्रतिस्थापन गरेका इन्फान्टिनोले भने ।
‘फिफाको लक्ष्य भनेको विश्वभर फुटबलको बिकास गर्नु हो । विश्वकप फुटबलको सबैभन्दा ठूलो इभेन्ट भएकाले पनि यो एक सामाजिक कार्यक्रम हो ।’ इन्फान्टिनोले भने ।
प्रतिक्रिया 4