२७ वैशाख, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२५ को बाँकी खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढिरहेको कारण देखाउँदै प्रधानमन्त्री शहबाज शरीफको सल्लाहमा यस्तो निर्णय गरिएको जनाएको छ।
पीसीबीले भनेको छ, ‘खेलाडीहरूको मानसिक स्वास्थ्य र विदेशी खेलाडीहरू तथा उनीहरूका परिवारको चासोलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।’
यसअघि पीसीबीले बाँकी आठ खेल युएईमा खेलाउने योजना बनाएको थियो यद्यपी मिति र स्थान तोकिएको थिएन। विदेशी खेलाडीहरू र युएईको भिसा भएका पाकिस्तानी खेलाडीहरू शुक्रबार राति प्रस्थान गर्ने तयारीमा थिए भने बाँकीको लागि भिसा आवेदन प्रक्रिया सुरु हुँदै थियो। तर अब सबै टोलीहरू तत्काल विघटन भइरहेको छन् र विदेशी खेलाडीहरूलाई घर फर्काउने तयारी भइरहेको छ।
आईपीएल पनि भारत–पाकिस्तान तनावकै कारण अस्थायी रूपमा रोकिएको केही समयमै पीएसएल स्थगनको निर्णय आएको हो।
इस्लामाबादमा भएको आकस्मिक बैठकमा पीसीबी अध्यक्ष मोहसिन नकवीले विदेशी खेलाडीहरूसँग छलफल गरेका थिए र अधिकांशले प्रतियोगिता युएई सर्नुपर्ने चाहना व्यक्त गरेका थिए।
पीसीबीले भनेको छ, ‘क्रिकेट एकताबद्ध गर्ने शक्ति भए पनि अहिले परिस्थितिलाई सम्मान गर्दै केही समय रोकिनु नै उपयुक्त हुनेछ।’
प्रतिक्रिया 4