२७ वैशाख, काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदको उद्घाटन समारोह दुईवटा स्टेडियममा हुने भएको छ ।
ओलम्पिक इतिहासमै यसरी उद्घाटन दुई रंगशालामा हुन लागेको यो पहिलोपटक हो ।आयोजकहरूका अनुसार उद्घाटन समारोह २०२८ जुलाई १४ मा लस एन्जलस मेमोरियल कोलोसियम र सोफी स्टेडियम दुवैमा हुने बीबीसीले उल्लेख गरेको छ ।
कोलोसियम यसअघि सन् १९३२ र १९८४ को ओलम्पिकमा प्रयोग भइसकेको हो। यो अब तीनवटै ओलम्पिक खेलकुदमा प्रयोग हुने इतिहासमै पहिलो स्थान बन्नेछ। समापन समारोह जुलाई ३० मा कोलोसियममै हुनेछ।
सोफी स्टेडियम, जहाँ एनएफएल टिमहरू लस एन्जलस राम्स र चार्जर्स खेल्ने गर्छन्, त्यही स्थानमा सन् २०२८ को प्यारालम्पिक उद्घाटन समारोह अगस्ट १५ मा आयोजना हुनेछ। समापन अगस्ट २७ मा कोलोसियममा हुनेछ।
एलए २८ का अध्यक्ष केसी वासरम्यानले भने, ‘यी दुई अद्वितीय स्थानहरूले लस एन्जलसको समृद्ध खेलकुद इतिहास र भविष्यलाई विश्वसामु प्रस्तुत गर्नेछन्।’
हाल उद्घाटन समारोहमा दुई स्टेडियम कसरी प्रयोग गरिने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। कोलोसियममा ओलम्पिकको पहिलो सातामा एथलेटिक्स (ट्र्याक एन्ड फिल्ड) प्रतिस्पर्धा हुनेछ भने दोस्रो सातामा सोफी स्टेडियममा पौडी प्रतियोगिता हुने योजना छ।
यसपटक लस एन्जलस ओलम्पिकमा क्रिकेट, ल्याक्रोस र स्क्वासजस्ता खेलहरू पुनः समावेश गरिएका छन्। साथै, फ्ल्याग फुटबल पहिलोपटक ओलम्पिकमा समावेश हुँदैछ।
प्रतिक्रिया 4