Comments Add Comment

आम आदमीको नारा- पाकिस्तान हाय हाय !

पाकिस्तानको विरोधमा तानियो केजरीवालको पार्टी

Aam-admi

१८ असोज, नयाँदिल्ली । भारत र पाकिस्तानवीच तनाव बढ्दै जाँदा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दबावमा परेका छन् । सत्तारुढ भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको विरोध गर्दै आएको केजरीवालको आम आदमी पार्टीले मंगलबार साँझ दिल्लीस्थित पाकिस्तानी दूतावास घेराउ गरेर आफ्नो प्रतिरक्षा गरेको छ ।

जतिखेर काश्मिरको उरीमा आतंकवादी हमला भयो, त्यसअघिसम्म केजरीवाल र उनको पार्टीले सत्तारुढ बीजेपी र प्रधानमन्त्री मोदीको चर्को विरोध गरिरहेको थियो । तर, उरी घटनालगत्तै भारत सरकार र भारतीय सेना पाकिस्तानविरुद्ध खनियो र भारतीय जनताको ध्यान पनि पाकिस्तानको विरोधमा केन्दि्रत भयो ।

त्यसको केही दिनमै भारतीय सेनाले पाकिस्तानमाथि ‘सर्जिकल स्ट्राइक’ गरेको समाचार आयो । भारतीय मिडियाले यसलाई प्रधानमन्त्री मोदीको सकारात्मक कदमका रुपमा चर्चा गरे । विपक्षी कांग्रेस आएका नेता राहुल गान्धीले समेत पाकिस्तानमाथि हमला गरेकोमा मोदीलाई सलाम गरेको जनाउँदै राष्ट्रिय एकताको सन्देश दिने प्रयास गरे ।

तर, त्यहीबेला दिल्लीका मुख्यमन्त्री केजरीवालले भने ‘सर्जिकल स्ट्राइक’को प्रमाण पेश गर्न मोदी सरकारलाई चुनौती दिए । पाकिस्तानले ‘सर्जिकल स्ट्राइक’ भएको होइन भनिरहेका बेला केजरीवालको यस्तो भनाइ आएपछि बीजेपीले यसलाई मसला बनायो र केजरीवालविरुद्ध प्रहारको निशाना बनायो ।

पञ्जावमा हुन लागेको निर्वाचनमा केजरीवाललाई कसरी हराउने भन्ने बाहना खोजिरहेको भाजपाले केजरीवालले सेनाको मनोबल घटाएको र पाकिस्तानको हितमा बोलेको आरोप लगाएपछि आम आदमी पार्टी चर्को दबावमा पर्‍यो ।

केजरीवालको भनाइलाई पाकिस्तानी मिडियाले महत्वका साथ प्रचार गरेपछि भारतमा आम आदमी पार्टीमाथि त्यहाँका राष्ट्रवादीहरुले कडा प्रहार गरे ।

र, यही दबावलाई खप्न नसकेर आम आदमी पार्टीले मंगलबार साँझ दिल्लीको चाणक्यपुरीस्थित पाकिस्तानी उच्चायोगको कार्यालय अगाडि प्रदर्शन गरेर आफूलाई पाकिस्तानको विरोधमा उभ्याएको सन्देश दिएको छ ।

पाकिस्तानले आम आदमी पार्टी र केजरीवालका सम्बन्धमा झूठो प्रचार गरेको सो पार्टीका दिल्ली संयोजक दिलिप पाण्डेले बताएका छन् । प्रदर्शनका क्रममा भारतीय प्रहरीले आपका केही नेतालाई गिरफ्तारसमेत गरेका छन् ।

पाकिस्तानको विरोध गर्दै आम आदमी पार्टीले भारतीय सेनाले गरेको कारवाहीलाई सलाम गर्ने जनाएको छ । तर, उसले भारतीय जनता पार्टी र मोदी सरकारले देशभित्र आफूहरुविरुद्ध युद्ध छेडेको गुनासोसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment