Comments Add Comment

बाबुरामलाई गाली गर्दै मुमारामले नयाँशक्ति छाडे

नयाँशक्ति भन्छ- खनाललाई कारवाही गरिएको हो

२१ असोज, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरेका छन् ।

खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले पार्टी छाड्नुपर्ने ५ वटा कारण बुँदागत रुपमा सार्वजनिक गरेका छन् । तर, नयाँ शक्ति पार्टीले भने उनलाई अनुशासनको कारवाही गरिएको बताएको छ ।

खनालले नयाँ शक्ति पुरानै ढाँचामा चलेको र पूर्वमाओवादीभित्रको पनि एउटा गुटको षड्यन्त्रको अखडा बनेको आरोप लगाए । उनले भनेका छन्- पूर्वमाओवादीभित्र पनि ०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सीमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो ।’

खनालले पार्टी आर्थिक रुपमा अपारदर्शी र राजनीतिकरुपमा षडयन्त्र एवं चलखेलमा चलेको आरोप लगाएका छन् । उनले सीमित मात्रामा रहेका गैरमाओवादी मान्छेहरु नयाँ शक्ति पार्टीमा टिक्न नसकेको दाबी गरेका छन् ।

उनले नेताको चरित्र र नियत नबदलिएकाले नयाँ शक्ति उँभो नलाग्ने निष्कर्ष निकालेका छन् । खनालले पार्टीमा विधि होइन, व्यक्ति हावी भएको भन्दै यो पार्टीले गरी नखाने निष्कर्ष निकालेको बताएका छन् ।

नयाँ शक्ति पार्टी १७९ वटा दलहरुको स्थानमा १८० औं दलमात्रै भएको खानालको आरोप छ । अब आफू स्वतन्त्र नागरिक भएर बस्ने खनालले बताएका छन् । वाम वुद्धिजीवीका रुपमा चिनिने खनाल पूर्वमाओवादी नेतासमेत हुन् । तर, माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादी छाडेर स्वतन्त्र भएका थिए ।

नयाँशक्ति भन्छ- खनाललाई कारवाही गरिएको हो

यसैवीच नयाँ शक्तिले भने खनालले पार्टीहित विपरीत काम गरेकाले शुक्रबार बसेको बैठकले कारवाही गरेको बताएको छ । यसैसाता भारतीय हस्तक्षेपविरुद्ध भद्रकालीमा धर्ना कार्यक्रम आयोजना गरिएकोमा खनालले पार्टी वैद्यको लाइनमा गयो भन्दै विरोध गरेको नयाँशक्ति नेपालको आरोप छ ।

त्यसैगरी नयाँ शक्तिमा प्रवेश गर्ने मानिसहरुलाई पार्टीमा नआऊ भन्दै रोकेको र पार्टी एवं नेताहरुको विरुद्ध षड्यन्त्र गर्दै हिँडेकाले उनलाई निस्कासनको कारवाही गरिएको नयाँ शक्तिका एक केन्द्रीय नेताले अनलाइनखरलाई बताए ।

खनालकाो कारवाहीबारे नयाँशक्तिले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘मुमाराम खनालले फेसवुक, इमेल, सार्वजनिक सन्जालमा पार्टी गतिविधि विरोधी स्टाटसहरू हालेकोले अनुशासनको उल्लघन भएको महशुस गरी उक्त मुद्धा अनुशासन आयोगमा पाठाएकोले र छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहने गरी, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक,विद्यार्थीको उत्पेरकको जिम्मेवारीवाट हटाइएको छ ।’

खनालको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ

१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यर्स संदन्र्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र वहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्दि्रय भूमिकामा सक्रिय रहँदै आएको थिए ।

२. गत बर्षको माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागी राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्दि्रय परिषदको निर्माण गरियो । जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एक जना गरी २ जना मात्र समावेश गरियो । किनकि हाम्रो दृढ मत थियो- पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पुरा गर्न सक्तैन । त्यसको भोलिपल्ट माओवादीबाट अलग भएकोे संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो । त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० चन्दा बढी पुर्याईयो ।

३. नयाँ शक्तिको वहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समुहको रुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो । त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।

४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ । तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन । जसले गर्दा सिमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।

५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो । आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो । विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो । र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्रिर्याहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं- हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर, नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को सम्भावना देखिएन ।
अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।

हार्दिक धन्यवाद सहित
मुमाराम खनाल
पूर्व केन्द्रिय कार्यकारी सदस्य,
तथा संयोजक राजनीतिक संवाद समिति,
नयाँ शक्ति पार्टी नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment