Comments Add Comment

विप्लव प्रतिबन्धबारे सरकारले पुनर्विचार गर्नुपर्छ : रामचन्द्र पौडेल

‘गणतन्त्र र धर्मनिरपेक्षतामा जनमत संग्रह हुँदैन’

९ चैत, सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध गलत भएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।

विप्लव प्रतिबन्धलाई लिएर कांग्रेसभित्रबाटै फरक–फरक धारणा बाहिर आइरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने मत जाहेर गरेका हुन् ।

दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले  प्रतिबन्ध लगाउन नहुने नेता पौडेलको मत छ ।

‘कुनै पनि समूहलाई दबावमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ’, उनले भने ।

केपी ओली नेतृत्वको सरकार शक्ति केन्द्रीकरणतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको दाबी उनको छ । बहुमतको आडमा यस्ता गतिविधिलाई निरन्तरता दिइरहे कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी उनले दिए ।

ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले लिँदा लोकतन्त्र खतरामा परेको दाबी नेता पौडेलको छ ।

नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको एक वर्ष खेर गएको टिप्पणीसमेत गरे ।

शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ ।

काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप उनले लगाए । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘समय आए नेतृत्व लिन तयार छु’, नेता पौडेलले भने ।

कांग्रेस नेताले धर्मनिरपेक्षता र गणतन्त्रमाथि जनमतसंग्रह गर्नुपर्ने विचार व्यक्त गरिरहेका बेला उनले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment