Comments Add Comment

आज विजयादशमी: पण्डित भन्छन्-  दिनभरि साइत हेरिरहनु पर्दैन

Tika२५ असोज, काठमाडौँ । नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।  तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।

असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको छ । भने टीका प्रसाद ग्रहण गर्ने साइत ८ बजेर ४५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमको भनाइ छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेर मनाउने गरिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने गौतमको भनाइ छ ।

आफ्ना मान्यजनहरूबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकस्वरूप लगाउने गरिन्छ ।

जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको गौतम बताउँछन् ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

त्रेतायुगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
आजको दिन गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने  प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment