+
+

सरकारले संविधान संशोधनबारे कांग्रेससँग छलफल नै गरेनः डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३० गते २०:१५

Ram-Saran-mahat

३० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधनबारे सरकारले पर्याप्त छलफल नगरेको आरोप लगाएका छन् ।

मधेसवादी दलहरुले सहमति अनुसार संविधान संशोधन विधेयक दर्ता नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन् भने विपक्षी एमालेले पनि सरकारले कुनै प्रस्ताव नै नल्याएको बताएको छ ।

कांग्रेस नेता महतले पनि संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नभएको बताए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता डा. महतले भने, ‘सरकार बनेको दुई महिना भैसक्यो, तर संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नै भएको छैन, अरुसँग भए मलाई थाहा छैन, कमसेकम हाम्रो दल कांग्रेससँग भएको जानकारी मलाई छैन ।’

विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधान संशोधनमा एमाले बाधक नबन्ने तर, सरकारले औचित्य पुष्टि गर्नु पर्ने भनेको भन्दै उनले सरकारले त्यही बमोजिम गृहकार्य गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले सहमति जुटाउनुपर्छ, एमालेसँग त परै जाओस्, कांग्रेससँग त अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले सीमांकनको विवाद समाधानको लागि पनि दलहरुवीच राष्ट्रिय सहमति बन्नुपर्ने स्पष्ट पारे । यद्धपि सीमांकनको विवाद मिलाउने नाममा जिल्लालाई यता र उता पार्दा विवाद हुने भए सम्बन्धित जिल्लामा जनमतसंग्रह गर्नर् सकिने उनले बताए । उनले थपे, ‘प्रान्तको झगडामा जिल्लालाई यता उता पार्ने काम हामीले गर्ने होइन, त्यहीँका जनतालाई दिनुपर्छ ।’

अहिलेकै संरचना अनुसार चुनाव हुनुपर्छ

डा. महतले स्थानीय निकायको पुनर्संरचनाबारे हतारमा निर्णय गर्दा झनै विवाद उत्पन्न भएको धारणा राखे । उनले भने, ‘आयोगले एकातिर एउटा कुरा भनेको छ, हामी राजनीतिक दलहरुले चाहीँ हतार-हतारमा निर्णय गर्‍यौं, अहिले समस्या त्यही भएर उत्पन्न भएको छ ।’ उनले पूर्नसंरचना गर्दा आयोगले भनेझैं ५६५ र दलहरुले भनेझैं ९०० को संख्या बनाएपनि समस्या समाधान नहुने ठोकुवा गरे ।

उनले स्थानीय निकायको निर्वाचन आवश्यक भएको भन्दै अहिलेकै गाउँ र जिल्लाको संरचना अनुसार चुनाव गर्नुपर्ने सुझाव दिए । महतले भने, ‘साँच्चिकै यही फागुण चैत्रभित्र चुनाव गराउने हो भने अहिलेकै संरचना अनुसार चुनाव गराउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?