+
+

फेसबुक त कहाँबाट हुन्थ्यो, चिठीकै थ्यो भर !

बैंशालु दिनको फ्लासब्याकः 'बैंशमा' गीत

जोतारे धाइबा जोतारे धाइबा
२०७३ कात्तिक १ गते २०:२०

Bharat Sitaula (9)‘मोडः द टर्निङ प्वाइन्ट’ एल्बमबाट ०६० सालदेखि नेपाली पप संगीतमा प्रवेश गरेका भरत सिटौलाले एक समय राम्रो चर्चा बटुले । उनले ‘अचानक आज तिमीलाई’, ‘कहिले आगो कहिले पानी’, ‘माया लाउन त धेरैले लाए’ जस्ता चर्चित गीत दिएका छन् । बीचमा केही वर्ष संगीत क्षेत्रबाट किनार लागेका उनले हालै चौथो एल्बम ‘बैंशमा’ तयार पारेका छन् । सो एल्बमको शीर्ष गीत कसरी बन्यो ? शब्द, संगीत समेत उनकै रहेको सो गीतबारे उनकै शब्दमा पढौं:

मैले सात वर्षको ग्यापमा ल्याएको हुँ यो गीत । पछिल्लो समय म नयाँ खालको गीत ल्याउनुपर्छ भनेर लागिरहेको थिएँ । गीत लेखिरहेको र कम्पोज गरिरहेको हुन्थेँ । तर, नयाँ बनाएका गीतहरु राम्रा भए पनि अलि पहिलाको जस्तै भइरहेका थिए ।

मैले बुझेको थिएँ, अब समय परिवर्तन भइसक्यो । लामो समय ग्याप भएर श्रोतामाझ आउँदा अलि फरक तरिकाको गीत ल्याउनुपर्छ । किनभने मार्केट यस्तो भइसक्यो, केही नौलो चिज भएन भने श्रोता र दर्शकलाई हामीले कन्भिन्स गर्नै सक्दैनौं । यसै क्रममा जन्मिएको गीत हो यो ।

दश वर्षअघि र अहिलेको समयमा समाज र सम्बन्धमा आएका परिवर्तन नै यो गीतको विषय हो । फेसबुक चलाइरहँदा जहिले पनि मलाई लाग्थ्यो, सबै सम्बन्ध र भावनाहरु त्यही एउटा बाकसमा सीमित भए जस्तो । एकदम बनावटी जस्तो । साथीभाइहरु सबै छुटिसके । इमोस्नल अट्याचमेन्टहरु हराएर फेसबुकमा सीमित भइसके । प्रविधिको यो समयमा अब हामी मलामी जानु पर्दैन, ‘रिप’ लेखे पुग्छ ।

फेसबुक हाम्रो समाजमा आएर हामी यो सँग अभ्यस्त हुन थालेको कति पो समय भएको छ र Û त्यस्तै ६-८ वर्ष त भयो । पाँच वर्षयता अलि बिगबिगी भएको हो । आठ दश वर्षअघि पनि माया-प्रेम हुन्थ्यो, सम्बन्धहरु थिए र समाज चलेकै थियो । म पनि पहिलेभन्दा अझ परिपक्व भइसकेँ । आजभन्दा अगाडिको समाजमा युवा उमेरमा हाम्रो पनि माया र आकर्षणहरु थिए । त्यो कन्सेप्टमा गीत बनाउने भनेर सोचिरहेको थिएँ । तर, कसरी बनाउने भन्ने भइरहेको थियो ।
ठ्याक्क एकदिन गीतको दुई लाइन दिमागमा आयो ।

बैंशमा म पनि घोर्ले तिमी’नि च्वाँक हुँदी हौ
अहिले त उमेर ढल्किँदै गयो, तिमी’नि छक पर्दी हौ ।
bharat-new-song

छ महिना अघिको कुरा हो, वानेश्वरको अफिसबाट कपनमा रहेको घर जाँदै थिएँ । बाटोमै एक्कासि गीत क्लिक भयो । शब्द र मेलोडी सँगसँगै आयो । सडकमा भिडभाड भए पनि एक छेउमा मोबाइलमा दुई लाइन गुनगुनाएर सेभ गरेँ । घर पुगेर गिटारमा कर्ड खोजेँ । आफैंलाई रमाइलो लाग्यो । एकदमै चाँडै बनेको गीत हो यो ।

भोलिपल्ट केही साथीहरुलाई गिटारमा गाएर सुनाएँ । गीत सुनाउँदा प्रायः मान्छेहरुले औपचारिकताको लागि राम्रो भन्दिने गर्छन् । तर, म चाहिँ मान्छेले मुखले जे भने पनि ऊ मेरो गीतसँग कत्तिको कनेक्ट भएको छ भनेर उसको बडी ल्याङ्वेज ख्याल गर्छु । मैले त्यो गीत सुनाउँदा मान्छेहरु त्यसै-त्यसै खुसी भए जस्तो र चाख मानेर सुने जस्तो पाएँ । त्यस्तो भएपछि यसमा चाहिँ केही छ है भन्ने लाग्यो ।

धेरै साथीहरुले घोर्लेको ठाउँमा ‘झिल्के’ र च्वाँकको ठाउँमा ‘सेक्सी’ शब्द राख्न सुझाव दिए । यसो सोचेँ, घोर्ले शब्द पनि अर्थपूर्ण नै छ । गीतमा खासै प्रयोग भएको छैन । फेरि, झिल्के शब्द सुगम पोखरेलले गाइसकेकोले त्यतातिर किन जोड्ने भन्ने भयो । सेक्सी चाहिँ अलि भल्गर होला जस्तो लाग्यो ।

गीतको थिम पनि समय सुहाउँदो भयो, मेलोडी पनि लोक पाराको आयो । अहिले मान्छेले यस्तै अर्गानिक स्वाद खोजेका छन् भनेर उत्साहित भएँ ।

मोहित मुनालको रियल टाइम स्टुडियोमा रेकर्ड गराएँ गीत । एरेन्ज पनि मोहितले गीतलाई सुहाउँदो हुने गरी गरिदिए । गीतको बीचमा आउने ‘अँ अँ’ चाहिँ अलिकता मसाला थपेको हो । स्टुडियोमा पनि थुप्रै सिंगरहरुले यसप्रति देखाएको चासोले गीत राम्रो बनेको छ भन्ने लाग्यो । गीत बन्दाखेरि नै यो गीतले यतिसम्म क्लिक गर्न सक्छ है भन्ने एक प्रकारको तरंग आइरहेको हुन्छ मलाई । यो गीतमा यस्तै भयो ।

गीतको थिममा दश वर्षअघिको माया गर्ने तरिकालाई फ्लासब्याकमा हेरिएको छ । हाम्रो पुस्ताले लभ पर्दा सिनेमा हेर्न नै जान्थ्यो । पार्कहरुमा डेटिङ जान्थ्यो । चिठी पठाउँथ्यो । साइकलभन्दा एक तहमाथि उक्लिएर मोटरसाइकलमा डेटिङ गइन्थ्यो । दश वर्ष अगाडिको कालखण्डमा गरिएका ती कुरालाई शब्दमा उतारेको मात्र हो ।

अहिले श्रोता र दर्शकले कस्तो फिडब्याक दिन्छन् भनेर हेर्ने माध्यम युट्युब नै हो । यो गीतको भिडियो बनाएर युट्युबमा राखेपछि राम्रै प्रतिक्रिया पाइरहेको छु । हुन त नराम्रा गीतको पनि त्यहाँ बढी भ्यूज पाइन्छ । तर, मैले जिरो सब्सक्राइब च्यानल सुरु गर्दै त्यसमा गीत राखेपछि बिस्तारै श्रोताको माया बढ्दै छ । भिडियो साधारण तरिकाले बनाइएको छ । आफैंले अभिनय गरेको छु । मलाई अभिनयमा रुचि भएकाले त्यो रुचि म्युजिक भिडियो मार्फत पूरा गर्छु ।
अहिले त सबै क्षेत्रमा आफ्नो एउटा झुन्ड खडा गर्ने र सबैलाई वाह-वाह भन्न लगाउने चलन देखिन्छ । भ्रम छरिदिने गरिन्छ । तर, मेरो गीत हेरेर मान्छेहरूले आफैं सेयर गरेका छन् । उत्साहित बनाउने कमेन्ट आउने क्रम जारी छ । जतिले हेरिदिएका छन्, खुशी छु ।

००००

बैंशमा मैं पनि घोर्ले तिमी’नि च्वाँक हुँदी हौ
अहिले त उमेर ढल्किँदै गयो तिमी’नि छक पर्दी हौ ।

उमेरमा हामी’नि गइन्थ्यो हेर्नलाई सिनेमा
मोटरसाइकल हुइँक्याइन्थ्यो त्यो मन यो मन मिलेमा
बैंशमा…

फेसबुक त कहाँबाट हुन्थ्यो, चिठीकै थ्यो भर
हात समाई हिँड्न पनि समाजको हुन्थ्यो डर
बैंशमा…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?