Comments Add Comment

दिउँसो एक झप्को सुत्नुका फाइदै फाइदा

Sleep

१ कात्तिक, काठमाडौं । हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त ? हो भने एकछिन विचार गरौं त ! तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौं पटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।

शरीरलाई जसरी खाना र पानीको आवश्यकता पर्छ, त्यति नै आरामको पनि खाँचो हुन्छ ।

अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।

त्यसको ठीक विपरीत कहिलेकाहीँ जब हामी दिउँसो सुत्छौं, त्यतिबेला हामी आफूलाई फुर्तिलो महसुस गर्छौं । यसको अर्थ दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

त्यसो त हाम्रो काम तथा व्यस्तताका कारण दिउँसोको समयमा सुत्नु त्यति सजिलो छैन । तर, शरीरले आराम खोजेको बेला आराम दिनुले पक्कै पनि महत्व राख्छ ।

अध्ययन अनुसार दिउँसो सुत्नुका फाइदाहरू यस्ता छन् :

दिमागलाई तेजिलो बनाउँछ 

हामी सबैलाई थाहा भएकै कुरा हो, पर्याप्त निद्रा नपुगेको खण्डमा हाम्रो दैनिक क्रियाकलापमा समेत असर पर्छ । यसले हाम्रो सोच्ने र सम्झने क्षमतामा समेत ह्रास ल्याउाछ । यसैले यदि तपाईँसँग समय छ भने दिनको समयमा एक क्षणको निद्रा तपाईंको लागि फाइदाजनक हुने गर्छ । दिनमा ६० देखि ९० मिनेटको सुताइले मात्र पनि आउँदो २४ घण्टाको लागि तपाईंलाई मानसिक स्फूर्ति दिलाउँछ ।

मुटु स्वस्थ रहन्छ

हाबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार दिउँसो सुत्ने अधिकांश मानिसमा मुटुको समस्या कम हुने गर्छ । यसले शरीरको थकान समेत घटाउँछ । त्यसैले, साताको कम्तीमा तीन दिन दिउँसो करिब ३० मिनेट तकियामा हात राखेर सुत्ने प्रयास गरौं । यसले तपाईंको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

तनाव घटाउँछ 

थकानले तनाव सिर्जना गर्छ, जसले गर्दा तपाईं अझ बढी थकित महसुस गर्नुहुन्छ । दिउँसोको सुताइले तपाईंलाई यी सबै कुराबाट टाढा राख्न मद्दत गर्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार दिउासो नसुत्ने मानिसमा तनाव उत्पन्न गराउने हर्मोन स्वतः बढ्ने गर्छ ।

खानपानमा सुधार आउँछ 

थकित महसुस भएको बेला तपाईंलाई भोक लागेको छ भने तपाईँ सबैभन्दा पहिले जे भेट्यो त्यही खानुहुन्छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको केहीबेरको सुताइ नै हो । केही क्षणको सुताइले तपाईंको शरीरलाई थप ऊर्जा मिल्छ नै, यसले तपाईंलाई हानिकारक खाना खानबाट समेत जोगाउँछ । अझ १०/१५ मनेटको आरामले तपाईं आफूलाई के खाँदा राम्रो हुन्छ भनेर सोच्न सक्ने स्थितिमा पुग्नुहुन्छ ।

ऊर्जावान् बनाउँछ 

हुन त सुत्नु भनेको भौतिक कामबाट केही क्षण विश्राम लिनु पनि हो । तर,अनुसन्धानकर्ताहरुले जनाए अनुसार, आराम नगर्ने धावकहरुको तुलनामा तालिमको बीचमा केही क्षण सुत्ने धावकहरुको नतिजा राम्रो पाइयो ।उनीहरुमा ऊर्जा र स्फूर्ति बढेको पाइयो । यसर्थ बल, प्रतिक्रिया तथा गति सबै कुरामा सुधार ल्याउन निद्रा अपरिहार्य छ ।

त्यसो हो भने कुन बेला कसरी सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ त?

  • समय : ११/१२ बजेको समय दिउँसो एक निद्रा सुत्नको लागि उपयुक्त मानिन्छ ।
  • स्थान : हल्का उज्यालोको साथमा चिसो तथा शान्त कोठा ।
  • अवधि : ५ देखि ४५ मिनेटसम्म ।

दिउँसो एक झप्को निदाउनु आरामको लागि मात्र नभई स्वास्थ्यको लागि पनि आवश्यक छ । तर, धेरैजसो मानिस यसलाई बेवास्ता गर्छन् । त्यसैले, दिउँसोको व्यस्त समयबाट एकै छिन भए पनि फुर्सद निकाल्नुस् र आफ्नो शरीरलाई आराम दिएर स्फूर्ति प्राप्त गर्नुस् । बिर्सनुस्, दिउँसो सुत्नु भनेको अल्छीपना हो ।

(लाउरा केसिलीबाट सम्प्रेषित सामग्री ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment