Comments Add Comment

आज्मा (दम) के हो, कसरी बच्ने ?

Damदम भन्नाले हामी साधारणतया श्वासप्रश्वासको कठिनाइ भनेर बुझ्छौं । यसका विभिन्न कारण हुन्छन् । यसको प्रमुख कारणमा श्वासको नली,फोक्सो, मुटु, मिर्गौला, रगतको समस्या आदि पर्ने भए पनि दम भन्ने शब्दले श्वासनलीको समस्याका कारण उत्पन्न हुने श्वासप्रश्वासको कठिनाइलाई जनाउँछ ।

सिओपिडि (COPD) र आज्मा (Asthma) दमका प्रमुख कारण हुन् ।

सिओपिडि

धूमपान गर्ने र धेरै धुँवा भएको ठाँउमा बस्ने मानिसमा सिओपिडि को समस्या बढी देखिन्छ । प्राय: ४० वर्ष नाघिसकेका मानिसमा यो समस्या देखिन्छ र क्रमिक रुपमा बढ्दै जान्छ । रोग लागेको थाहा पाएपछि पनि धूमपान गर्ने र धेरै धुँवा भएको ठाउँमा बस्नेहरुमा यो समस्या छिटै बढ्छ र श्वासप्रश्वासको संक्रमणले यसलाई थप जटिल अवस्थामा पुर्‍याउँछ ।

आज्मा

यस लेखमा विशेष जानकारी दिन खोजिएको विषय आज्मा हो । आज्मा प्राय: कम उमेरका मानिसमा देखिन्छ र कलिला बालबालिकाहरुमा पनि यो रोग देखिन सक्छ । विश्वमा सातदेखि दश प्रतिशत मानिस आज्माबाट प्रभावित भएको अनुमान छ । यसको अर्थ हरेक एक सय जनामा सातदेखि दश जना यो समस्याबाट प्रभावित हुन्छन् ।

Dr Rabi Mahat
डा. रवि महत

आज्माको कारण

यसको वास्तविक कारण थाहा नभए पनि वंशाणुगत र वातावरणले पार्ने प्रभावलाई प्रमुख कारक मानिएको छ । आज्मा भएका मानिसहरुमा सामान्य मानिसमा भन्दा श्वासको नली धुँवा–धूलो, परागकण, गन्ध लगायतका इरिट्यान्ट्सप्रति अत्यन्त संवेदनशील हुन्छ, जसले गर्दाश्वासनली सुन्निएर साँघुरो हुन्छ र श्वासप्रश्वासको समस्या हुन्छ ।

आज्माका लक्षण

श्वासप्रश्वासमा कठिनाइ, छातीबाट सिठीको जस्तो चुइँचुइँ आवाज निस्कनु,खोकी लाग्नु र छाती भारी हुनु यसका प्रमुख लक्षण हुन् । साथमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छिउँ आइरहने, जिउमा डाबर देखिने आदि समस्या पनि देखिन सक्छ । यी लक्षणहरु सबै एकसाथ देखा नपर्न पनि सक्छन् । हरेक दिन वा याम अनुसार समस्यामा उतारचढाव आउन सक्छ ।

आज्माका प्रकार

एलर्जिक आज्मा: आज्माको सबैभन्दा प्रमुख कारण एलर्जी हो । वातावरणमा भएका विभिन्न तत्वसँग श्वासको नली अत्यधिक संवेदनशील हुन्छ । प्राय: वातावरणमा त्यस्ता एलर्जिन बढी हुने समय वा मौसममा आज्माको समस्या बढ्छ । परागकण, जनावरको चायाँ, घरको धूलो आदिसँग बढी एलर्जी हुन्छ ।

अकुपेशनल आज्मा: यो काम गर्ने ठाउँमा हुने एलर्जिन/इरिट्यान्टले गर्दा हुने श्वासप्रश्वासको समस्या हो । काम गर्ने ठाँउमा मात्र श्वासप्रश्वासमा कठिनाइ हुन्छ र छुट्टीको दिन वा काममा नगएको दिनमा प्राय: श्वासको समस्यामा स्वतः सुधार आँउछ । किसान, पेन्टर, प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने मानिसमा यो समस्या बढी देखिन्छ । काम गर्दा मास्क प्रयोग गर्ने,इरिट्यान्टसँग सम्पर्क कम गर्ने, औषधिको नियमित सेवन गर्ने गरेमा श्वासको समस्या सहज हुन्छ । सुधार नभएमा पेशा परिवर्तन गर्नुपर्ने समेत हुनसक्छ ।

एक्सरसाइज इन्ड्यसुड आज्मा: यसले व्यायाम, शारीरिक परिश्रमको दौरान वा त्यसपछि हुने श्वासप्रश्वासको असामान्य अवस्थालाई जनाउँछ । यो व्यायाम सुरु गरेको पाँचदेखि दश मिनेटमा वा व्यायामपछि पनि आउन सक्छ । तर, अरु बेलामा त्यति समस्या हुँदैन ।

विस्तारै व्यायाम सुरु गर्ने र विस्तारै अन्त्य गर्ने गरेमा श्वासमा समस्या कम देखिन्छ । रुघाखोकी लागेको बेलामा, चिसो वातावरणमा, प्रदुषण भएको बेलामा व्यायाम नगरेको राम्रो । गर्नैपरे त्यस्तो बेलामा मास्क लगाएर हल्का व्यायाम गर्नु वेश हुन्छ ।

व्यायामको १० देखि १५ मिनेट पहिले नै औषधि लिएर व्यायाम गरे श्वासमा समस्या आउँदैन ।

कफ भेरियन्ट ज्मा: यसमा खोकी मात्र एक प्रमुख लक्षण हुन्छ । प्राय:रातिको समयमा र दिनमा पनि खोकी लाग्न सक्छ । चिसो, एलर्जिन/इरिट्यान्ट आदिले खोकी बढाउँछ ।

एस्पिरिन इन्ड्युस्ड आज्मा: यसमा नाक बन्द हुने, एस्पिरिन वा दुखाइका औषधिहरु एनएसएआइडिको प्रयोगले पनि एलर्जी र श्वासप्रश्वासको समस्या हुन्छ । यो समस्या प्रायः ३० देखि ४० वर्षको उमेरमा हुन्छ । यसको प्रमुख उपचार भनेको माथि उल्लेख गरिएका औषधिहरु सेवन नगर्नु नै हो ।

नियन्त्रणका उपाय

मुख्यतया वातावरणमा पाइने एलर्जिन वा इरिट्यान्टले आज्माको समस्यालाई बढाउने भएकोले आफूलाई कुन कुराले गाह्रो बनाउँछ, त्यसबाट जोगिनुपर्छ ।

धूमपानले श्वासप्रश्वासको समस्या निम्त्याउन मद्दत गर्छ र त्यसलाई बढाउँछ पनि । दम भएका वा नभएका मानिसले पनि चुरोट पिउनु हुँदैन र अरुले पिएर फालेको धुँवाबाट पनि जोगिनुपर्छ ।

घरको वातावरण सफा र धूलोरहित बनाउनुपर्छ । गलैंचाहरु भ्याकुम क्लिनर लगाएर सफा गर्नु उपयुक्त हुन्छ । सकेसम्म एलर्जी भएका मानिसले कोठा आफैंले सफा नगर्ने र गर्नैपर्ने भएमा राम्रो गुणस्तरको मास्क लगाएर मात्र सफा गर्ने । त्यसैगरी घरमा कुकुर, बिरालो, सुगा,परेवा जस्ता पशुपंक्षी नपाल्ने । पाल्नैपर्ने भएमा घर बाहिर राख्ने गरी पाल्ने ।

घरमा साङ्ला छन् भने तिनलाई पूर्ण रुपमा नियन्त्रण गर्ने ।

रुघाले दमको समस्यालाई बढाउने भएकोले रुघा लागेका मानिसबाट टाढा रहने । घर बाहिर निस्किँदा मास्क प्रयोग गर्ने । समयसमयमा साबुनपानीले हात धोइरहने ।

सामान्य तौल भएका मानिसमा भन्दा मोटो मानिसमा आज्माको समस्या हुने सम्भावना बढी हुन्छ । आज्मा भएका मोटो मानिसमा यसलाई नियन्त्रणमा राख्न पनि कठिन हुन्छ । त्यसैले तौल नियन्त्रणमा राख्नुपर्छ ।

आज्मा भएका मानिसमा अम्लपित्त (ग्याष्ट्रिक) को समस्या तीन गुणा बढी हुन्छ । त्यसैले चिकित्सकको सुझाव अनुसार त्यसको उपचार गर्नुपर्छ ।

उपचार

आज्मा नियन्त्रणका लागि मुख्यतः खाने र तान्ने दुई प्रकारका औषधि प्रयोग गरिन्छ । तान्ने औषधि पनि ग्यास जस्तो र क्याप्सुलभित्र पाउडरको रुपमा पाइन्छ । यी औषधिको मुख्य काम आज्मालाई नियन्त्रणमा राख्ने र कहिलेकाहीँ श्वासप्रश्वासमा धेरै कठिनाइ भएमा त्यसलाई सजिलो बनाउने हुन्छ । औषधि तान्न वा खान नसक्ने अवस्थामा नसाबाट र वाफको रुपमा (नेबुलाइजर प्रयोग गरी) औषधि दिन सकिन्छ ।

आज्मा भएका मानिसले निमोनिया र फ्लु विरुद्धको खोप लगाउनुपर्छ ।

आज्माको बारेमा व्याप्त गलत धारणा

तान्ने औषधि एक पटक लिन थालेपछि लत लाग्छ वा बन्द गर्न सकिँदैन !

यो गलत कुरा हो । जसरी मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गरेर नियन्त्रणमा राखिन्छ, त्यसैगरी आज्माको औषधि पनि नियमित लिनुपर्छ र अवस्था अनुसार त्यसलाई कम वा बढी गर्न सकिन्छ ।

•  सजिलो भएपछि औषधि आफैं बन्द गरे हुन्छ !

यस्तो होइन । चिकित्सकको सुझाव बिना आफैं औषधि बन्द गर्नुहुँदैन । आज्मालाई नियन्त्रणमा राखिएन भने वा नियमित उचित औषधि सेवन नगरिएको अवस्थामा यसले भयावह रुप लिन सक्छ । अस्पताल भर्ना गर्नुपर्ने, श्वासप्रश्वासको कृत्रिम उपकरण (भेण्टिलेटरमा राख्नुपर्ने) र समयमा उपचार नपाएमा ज्यानै समेत जान सक्ने खतरा रहन्छ ।

(डा. महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका फोक्सोरोग विशेषज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment