Comments Add Comment

लोकमानले क्यानडाबाटै थपे १० दिन घरविदा

राष्ट्रपति कार्यालयबाट विदा स्वीकृत

Lokman-Sing

२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराएका छन् ।

कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए । पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिँडेका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए । त्यसपश्चात कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ ।

कार्कीले शुरुमा असोज ३ देखि २१ गतेसम्म क्यानडामा भ्रष्टाचार निवारणसँग सम्वन्धित निकायको बैठकमा भाग लिन भन्दै विदा स्वीकृत गराएका थिए ।

त्यसबीच दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए । उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको हो ।

क्यानडामा रहेका कार्कीले विदा स्वीकृत गराउन पठाएका हरेक पत्र आयोगको लेटरहेडमा रहेको पनि राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । तर क्यानडामा भएका व्यक्तिले कसरी आयोगको लेटरप्याडमा विदा फारम भरे भन्ने सन्दर्भमा भने राष्ट्रपति कार्यालय स्रोतले बताउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment